फागुन १३, काठमाडौं ।
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संसदभित्र काँग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्ने बताएका छन् । काँग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिका नाममा स्थानीय वसुन्धरामा स्थापित महेन्द्रनारायण निधि मेमोरियल अस्पतालको नवनिर्मित भवन शिलान्यास तथा शालिक अनावरण कार्यक्रममा विहीबार उनले लोकतन्त्र, संविधान र जनताका पक्षमा काँग्रेसले संसद्मा भूमिका खेल्ने बताए ।
काँग्रेस सहकारी विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गानाले शान्ति र अहिंसाबाट भएको परिवर्तन दिगो हुने धारणा राख्ने निधि सादा जीवन उच्च विचारका व्यक्ति भएको बताए । काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले कम शुल्कमा गुणस्तरीय सेवा उपलब्ध गराउने गरी काम गर्न र आफ्नो सेवालाई देशव्यापी बनाउन अस्पताललाई सुझाव दिए ।
दीनबन्धु पोखरेलले राजनीतिमा सेवाको भावनालाई जोड्ने निधि गान्धीवादी नेता भएको उल्लेख गरे । उक्त भवन निर्माणका लागि लगाइएको महायज्ञमा पण्डित पोखरेलले भागवत पाठ गरेका थिए ।
पूर्वमन्त्री शङ्करप्रसाद कोइराला, सांसद जिपछिरिङ लामा र उमेश श्रेष्ठ, गणेशमानसिंह स्मृति अस्पतालका अध्यक्ष दीपकप्रकाश बाँस्कोटा, बिपी स्मृति अस्पतालका अध्यक्ष डा केदारनरसिंह केसी, महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहाललगायतले महेन्द्रनारायणका नाममा स्थापित अस्पतालले मधेश र पहाडलाई जोड्ने काम गरेको बताए । नाफाभन्दा सेवालाई ध्यान दिएर स्थापित उक्त अस्पताल १०० श्ययाको छ । आफ्नो सेवालाई आगामी दिनमा सातै प्रदेशमा विस्तार गर्ने लक्ष्य राखिएको अस्पतालका अध्यक्ष कृष्णबहादुर थापा मगरले जानकारी दिए । रासस