कांग्रेसको ‘पर्ख र हेर रणनीति’ परिपक्व कदम कि सत्तामा जाने दाउ? – Kanika Khabar
Friday, April 26Nepali News Portal

कांग्रेसको ‘पर्ख र हेर रणनीति’ परिपक्व कदम कि सत्तामा जाने दाउ?

    मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गर्दै संसद् पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलासँगै नेपाली कांग्रेस ‘एकाएक’ मुलुकको राजनीतिको केन्द्रमा आइपुगेको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली र प्रचण्ड-माधव नेपाल समूह राजनीतिक रूपमा विभाजित भएको अवस्थामा दुवैले कांग्रेसको समर्थन प्राप्त गर्न खोजेका छन्।

तर मुख्य विपक्षी नेपाली कांग्रेसले सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीभित्र औपचारिक विभाजन भइनसकेको भन्दै तत्काल कुनै पक्षलाई सहयोग गर्न नसकिने निष्कर्ष निकालेको छ जसलाई कतिपयले उसको ‘पर्ख र हेर’ रणनीतिका रूपमा व्याख्या गरेका छन्।

नेपाली कांग्रेसको पछिल्लो अडानलाई कतिपयले ‘आफू अनुकूल जुनसुकै समूहसँग मिलेर सत्तामा जाने’ दाउका रूपमा हेरेका छन् भने अन्य केहीले त्यसलाई कांग्रेसको “सुझबुझपूर्ण परिपक्व” कदमका रूपमा व्याख्या गरिरहेका छन्।

”अहिले पनि नेकपा एउटै छ। उहाँहरूमा विवाद छ, विभाजन छैन। संसद् बसेपछि उहाँहरू कसरी अगाडि बढ्नुहुन्छ त्यसको स्पष्ट चित्र नआएसम्म हामीले कसको पक्ष लिन्छौँ भन्ने कुराको कुनै अर्थ छैन,”कांग्रेस सभापति शेरबहादुर देउवा निकट भनेर चिनिएका नेता प्रकाश शरण महतले बीबीसीसँग भने।

संसदीय प्रक्रिया अघि बढेको अवस्थामा कांग्रेससले कस्तो अडान लेला? महत भन्छन्, ”अहिले कुन पक्ष भन्नुको अर्थ नै छैन।”

ओलीको निर्णय आफूहरूले पहिले देखिनै असंवैधानिक भनेको अवस्थामा उनी प्रति आफूहरूको दृष्टिकोण नफेरिएको उनले बताए।

तर ओलीको राजीनामाका सन्दर्भमा कांग्रेसको धारणा के हो भन्ने विषयमा भने उनले स्पष्ट जवाफ दिएनन्।

बल नेकपाकै हातमा

राजनीतिशास्त्री कृष्ण खनाल सत्तारूढ दल विभाजित भएका बेला विपक्षी दलले आफ्नो हिसाब किताब गरेर कदम चाल्नु स्वाभाविक रहेको ठान्छन्।

“यो अवस्थाको फाइदा आफ्नो पक्षले लिन जसले पनि खोज्ने थिए,” उनले भने।

तर संसद् विघटन भइसकेको अवस्थामा त्यसले संविधान माथि पारेको प्रभावका सम्बन्धमा भने कांग्रेस सभापति देउवा संवेदनशील नदेखिएको उनी बताउँछन्।

प्रचण्ड, देउवा र नेपाल

प्राविधिक रूपमा नेकपा विभाजित भइनसकेको अवस्थामा पहिलो काम दुबै समूहले आफ्नो अडान टुङ्गोमा पुर्‍याउनुपर्ने उनी ठान्छन्।

संसद्‌मा कांग्रेस एक्लैले अविश्वासको प्रस्ताव समेत लान नसक्ने अवस्थामा पछिल्ला मुद्दाहरूमा प्रमुख जिम्मेवारी नेकपाकै रहेको उनी ठान्छन्।

“पहिलो कुरा त अस्ति (मङ्गलवार)को निर्णय पछि त्यही दिन जिम्मेवारी बोध थियो भने प्रधानमन्त्रीले राजीनामा गर्नुपर्थ्यो। उनको राजनीतिक र नैतिक दुवै हैसियत समाप्त भएको अवस्था हो,” खनालले भने।

“तर प्रधानमन्त्रीले त्यस्तो नगरेको अवस्थामा नेकपाकै अर्को समूहले विकल्प दिन सक्नुपर्थ्यो। तत्काल संसदीय दलको बैठक बोलाएर अर्को नेता छान्न सक्नुपर्थ्यो। अनि त्यसले पनि गाँठो फुकाउन सकेन भने बल्ल अरू दलको कुरा आउँछ। आफ्नो नेता बदल्ने नेकपा आफैँसँग हैसियत छ।”

“नेता बदल्दा पार्टी विभाजन भयो र त्रिशङ्कु संसद्‌मा गयो भने मात्रै अर्को दलको कुरा आउँछ। त्यस कारण नेकपाले आफ्नो नेता बदल्ने वित्तिकै यो गतिरोध सल्टिन्छ। अर्को मान्छे प्रधानमन्त्री बन्छ।”

कानुनी रूपमा विभाजित भइनसकेको नेकपामा दुई अध्यक्षमध्ये एक कार्यकारी रहेकाले प्रधानमन्त्रीले बैठक नबोलाए कार्यकारी अध्यक्षले बोलाउन सक्ने उनी बताउँछन्।

हालसम्म ठोस आधार नै नबनेकाले नेकपाको दुवै समूहले कांग्रेससँग सहयोग माग्न जान नमिल्ने उनको भनाइ छ।

“त्यस कारण कांग्रेसले तपाईँहरू आफ्नो स्थिति स्पष्ट पार्नुस् अनि आउनुस् भन्नु त स्वाभाविक नै भयो नि,” उनले भने।

काङ्ग्रेसको नेतृत्वमा अविश्वासको प्रस्ताव

तर राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भने पछिल्लो परिस्थितिमा कांग्रेसमा नेतृत्वको लोभ देखिएको बताउँछन्।

प्रमुख प्रतिपक्षीले संसद्‌मा २५ प्रतिशत सांसद सङ्ख्या पुर्‍याएर प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्ने उनको धारणा छ।

“त्यसले प्रधानमन्त्रीले कसको समर्थन प्राप्त गर्छन् कसको गर्दैनन् भन्ने कुरा प्रस्ट हुन्छ,” उनले भने। “प्रधानमन्त्रीलाई तत्कालै पदच्यूत गर्ने कुरामा कांग्रेस अग्रसर हुनुपर्थ्यो।”

त्यसपछि नेपाली कांग्रेस कसरी प्रस्तुत हुने निर्णय गर्नुपर्ने उनको भनाइ छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ,प्रचण्डलाई प्रश्नः अबको प्रधानमन्त्री शेरबहादुर देउवा कि तपाईँ?

संसद् विघटनलाई चुनौती दिएको कांग्रेस संसद्‌मा त्यही रूपमा प्रस्तुत हुनुपर्ने अवस्था रहेकाले पर्ख र हेरको अवस्थामा नबसेर ठोस निर्णय गर्नुपर्ने उनी बताउँछन्।

प्रधानमन्त्रीको कदम विरुद्ध उभिएका दलहरूको नेतृत्व कांग्रेसले गर्नुपर्ने उनको धारणा छ।

विकसित घटनाक्रमकाबीच ओलीसँग कांग्रेसको कुनै पनि किसिमको सहकार्य घातक हुने आचार्यको बुझाइ छ।

कांग्रेससको नेतृत्व कति नैतिक

पछिल्लो समयमा कांग्रेसमा नेतृत्वको सङ्कट देखिएको आचार्य बताउँछन्।

“प्रधानमन्त्री हटाउने प्रक्रियामा प्रचण्ड-माधव नेपाल पक्षले समर्थन दिन सक्दैन। नफुटेका कारण आफ्नै प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु राम्रो पनि मानिँदै,” उनले भने।

महाधिवेशनसम्म सरकारमा नजाने अडान पटक पटक दोहोर्‍याएको कांग्रेसले सरकार बनाउन दलहरूलाई समर्थन दिन भने सक्ने आचार्य बताउँछन्।

तर पछिल्लो अवस्था सृजना गर्ने कुरामा प्रचण्ड-माधव नेपाल समूह अग्रसर हुन नसकेको आचार्यको पनि बुझाइ छ।

कतिपयले जनताको मतादेशका हिसाबले नेकपा विभाजित भएको अवस्थामा कांग्रेस तेस्रो स्थानमा रहेकाले उसले सरकार नेतृत्व गर्ने आशा गरेर रणनीति तय गर्नु नैतिक रूपमा उचित नहुने तर्क गरिरहेका छन्। बिबिसीबाट

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्