ड्युटीको समयमा व्यक्तिगत क्लिनिकमा काम गर्ने र निजी मेडिकलमा औषधि किन्न लगाउने दुई चिकित्सकसँग स्पष्टीकरण माग – Kanika Khabar
Friday, April 26Nepali News Portal

ड्युटीको समयमा व्यक्तिगत क्लिनिकमा काम गर्ने र निजी मेडिकलमा औषधि किन्न लगाउने दुई चिकित्सकसँग स्पष्टीकरण माग

    मा प्रकाशित

फागुन २०, काठमाडौं ।

वाग्मती प्रदेश राजधानी मकवानपुरको हेटौँडामा अवस्थित हेटौँडा अस्पतालमा कार्यरत दुई चिकित्सकलाई दोस्रो पटक स्पष्टीकरण सोधिएको छ ।

दुवै चिकित्सकले आफ्नो कार्यालय समयमा जिम्मेवारीपूर्वक भूमिका निर्वाह नगरेको पाइएकाले डा बुद्धीराज पाण्डे र डा साजित अन्सारीलाई अस्पतालका निमित्त प्रमुख सुपरिटेन्डेन्ट डा प्रवीण श्रेष्ठले २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

अन्सारी ड्युटीको समयमा पनि व्यक्तिगत क्लिनिकमा काम गरेको भेटिएको र पाण्डेले अस्पतालमा आएका बिरामीलाई निजी मेडिकलमा औषधि खरिद गर्न पठाउने गरेको पाइएकाले स्पष्टकीरण सोधिएको थियो ।

यसअघि पाण्डे र अन्सारीलाई  निलम्बन गरिएको भए पनि फेरि पनि गलत काम गरेकाले दोस्रो पटक स्पष्टीकरण सोधिएको हो । अस्पतालमा कार्यरत दुवैलाई यसअघि पनि निलम्बन गरेर फुकुवा गरिएको थियो । अन्सारीलाई चार दिन र पाण्डेलाई तीन दिन डा श्रेष्ठले निलम्बन गरिसकेका थिए ।

वाग्मती प्रदेश सरकारमातहत हेटौँडा अस्पताल आएपछि अस्पतालमा व्यापक सेवा सुधारसँगै परिवर्तन आएको छ । सरकारी मान्यताअनुसार ५० शय्याको उक्त अस्पतालमा हाल उचित व्यवस्थापनसहित १२० शय्या सञ्चालनमा रहेको छ ।

अस्पतालमा मकवानपुर जिल्लासहित बारा, पर्सा र चितवन जिल्लावासीले समेत नियमितरूपमा सेवा लिँदै आएका छन् । रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्