म्यानमारमा मर्दै गरेको पत्रकारिता – Kanika Khabar
Friday, May 14Nepali News Portal

म्यानमारमा मर्दै गरेको पत्रकारिता

    मा प्रकाशित

रोर्बट बोसियागा

म्यानमारको विकासित घटनाक्रमले ल्याएको संकटका विषयमा पछिल्लो समय रिपोर्टिङ गर्नु असुरक्षित र अप्ठ्यारो छ ।

रङ्गुनमा रहेर पत्रकारिता गरिरहेका जपानी पत्रकार युकी किताजुमीलाई २६ फेब्रुओरीमा प्रदर्शनका विषयमा समाचार लेखेको आरोपमा पक्राउ गरिएपछि धेरै पर्यवेक्षकको श्वास रोकिएको थियो ।

उनलाई ५–६ घन्टा शहरको एक पुलिस हिरासतमा राखेर मुक्त गरिएको थियो । प्रदर्शनका क्रममा म्यानमार प्रहरीको हिरासतमा थुनिने उनी पहिलो विदेशी पत्रकार थिए । उनलाई प्रहरीले हिरासत मुक्त गरे पनि ‘क्यामेरा र त्यसको मेमोरी कार्ड भने दिएन’ ।

किताजुमीले आफ्नो फेसबुक म्यासेन्जरमार्फत भने, ‘मेरा सबै दस्तावेज निरीक्षण गरेपछि उनीहरूले म विदेशी पत्रकार भएको आफूहरूलाई थाहा नभएको बताए ।’

उनलाई लामो समय हिरासतमा नराखिएको विषयले भने एउटा कुरा उजागर गरेको छ । । त्यो हो, म्यानमारको सुरक्षा फौजले विदेशीहरूलाई खासै निशाना बनाएको छैन । यसको अर्थ हो उनीहरू अन्तर्राष्ट्रिय समुदायको प्रत्यक्ष तारो बन्न नचहानु ।

म फेब्रुअरीको पूरा महीना र मार्चको शुरूवाती दिनमा प्रदर्शनमा सहभागी भएको थिएँ । त्यो प्रदर्शनको स्वरूप क्रमिकरूपमा बद्लिँदै गएको थियो ।

साँचो भन्नुपर्दा म्यानमार प्रदर्शनको अखडा भएको सत्य नकार्न सकिँदैन । जब प्रदर्शनकारी म बसेको गेस्टहाउस हुँदै जान्थे, मलाई म्यानमार प्रदर्शनको ठूलो मैदान भएको झैँ लाग्थ्यो । कहिलेकाहीँ त प्रदर्शनकारीको नाराले मलाई ब्युँझाउँथ्यो पनि ।

म म्यानमारको दक्षिणी भागमा पर्ने शान राज्यको इनेले ताल नजिक पर्ने न्यन्गशुवे शहरमा बस्थेँ । मलाई आफू बसेको स्थान ‘कु’ विरुद्ध भइरहेको प्रदर्शनको केन्द्र भागबाट केही टाढा भएको अनुभूति भयो ।

मैले सेनाले प्रभावकारीरूपमा बन्द गर्न नसकेको सामाजिक सञ्जाललाई धन्यवाद दिनुपर्छ । सञ्जालकै माध्यमबाट टाढाटाढा रहेका प्रदर्शनकारीले केन्द्र भागमा भएको प्रदर्शन, त्यसको गरिएको तरिका र रणनीतिका साथै मुख्य शहरमा सेनाले गरेको हस्तक्षेप अवलोकन गर्न पाएका थिए । म बस्ने क्षेत्रका प्रदर्शनकारीले आफ्नो प्रदर्शनलाई थप प्रभावकारी बनाउन नयाँ र सिर्जनात्मक तरिका अपानाइरहेका थिए ।

यसरी मैले अहिले प्रख्यात भइरहेको म्यानमारको इनले तालको प्रदर्शनलाई दस्तावेजीकरण गरेँ । त्यहाँ सयौँको संख्यामा इन्था समुदायका मानिसले पानीको सतहमाथि कु विरुद्ध प्रदर्शन गरेका थिए ।

प्राचीन भेषमा प्रस्तुत भएका उनीहरूलाई कुनै सुरक्षा फौजले निगरानी गरेको थिएन । उक्त प्रदर्शनले प्रदर्शनकारीको आत्माबल बढाउनुका साथै अन्य समुदायका मानिसलाई पनि एकताबद्ध हुन प्रेरित गरेको थियो ।

त्यसबखतमा म्यानमारको चोकचोकमा केही मात्रामा मात्रै हिंसा भएको थियो । रङ्गीचङ्गी कपडा लगाएका बालकदेखि युवासम्म प्रदर्शनमा सहभागी भई सैन्य कदमविरुद्ध नारा लगाउँदै प्रजातन्त्र पुनर्स्थापनाको माग गरिरहेका थिए । केही व्यक्तिले नजरबन्दमा रहेकी नेतृ आङ सान सु चीको मुखाकृति आउने गरी आफ्नो शरीरमा टयाटु पनि खोपेका थिए ।

म धेरै जसो सन्दर्भमा शान राज्यको राजधानी ताउन्गणीसम्म पुग्ने गर्थें जुन न्यन्गशुवेबाट ४५ मिनेटको दूरीमा छ । त्यहाँ ठूलो प्रदर्शन हुन्थ्यो । त्यसलाई दस्तावेजीकरण गर्न म त्यहाँ जान्थेँ । प्रत्येक बिहानमा फरकफरक समुदायका जनजातिहरूले सैन्य कदमका विरुद्ध गर्वसहित बाटोमा प्रदर्शन गर्थे । उनीहरूको नारा, ‘हामी विश्वको अन्त्यसम्म समर्पण गर्दैनौँ’ भन्ने थियो । यसो भन्दै कतिपय त प्रहरी चौकीको र सेनासँग गठबन्धन गरेको युनियन एन्ड सोलिडारिटी डेभलप्मेन्ट पार्टीको गेट हल्लाउने गर्थे ।

यसरी प्रदर्शन गरिरहेकाहरूलाई सुरक्षा फौजले बाटोको किनाराबाट हेरी रहन्थे । सुरक्षा फौजतर्फ हेर्दै प्रदर्शनकारीले तीन औँलाले सलाम गर्दा समेत सुरक्षाकर्मीले कुनै प्रतिक्रिया जनाउँदैन थिए ।

यो फेब्रुअरी २८ मा ‘मिल्क टी एलायन्स डे’ का दिनमा एक्कासी परिर्वतन भयो । ताउन्गणीमा करीब एक घण्टाको प्रदर्शनपपछि, मेरै आँखा अगाडि, तीव्रगतिमा आएको मोटरबाइकले एक निभेषमै रङ्गीचङ्गी प्लाकार्ड तितरवितर बनायो । प्रदर्शनकारीको भिडमाझ अश्रुग्यास प्रहार गरियो । प्रदर्शनकारीलाई त्यहाँबाट हटाउन सुरक्षा फौज आउँदै थियो । यसरी सुरक्षा फौज आउँदा उनीहरू केही क्षण अवाक भए पनि प्रदर्शन रोकेनन् । उनीहरूले अर्को बाटोमा गएर प्रदर्शन शुरु गरे ।

त्यसपछि मैले उनीहरूका नजिक बस्ने विचार गरेँ र त्यहाँ विकसित घटनाक्रम नजिकबाट नियाल्ने कोशिस गरे प्रदर्शनमा कस्तो किसिमको हतियार प्रयोग भयो र प्रदर्शनकारीले आफूलाई कसरी बचाए । ताउन्गणीलाई मैले म्यानमारको अन्य स्थानको तुलनामा कम जोखिमयुक्त पाएँ । त्यहाँ त्यस बखतसम्म कुनै पनि किसिमका चोटपटको घटना भएको थिएन ।

मार्च ११ मा म फेरि ताउन्गणी आए । त्यहाँ आउने क्रममा मैले सेनाले अवरुद्ध गरेको बाटो पार गरेको थिएँ । म नागरिक अवज्ञा आन्दोलनमा सहभागी प्रदर्शनकारीसँग अन्तर्वार्ता गर्न आएको थिएँ । त्यसो गर्नु सहज काम थिएन । सबै प्रदर्शनकारी पक्राउ हुने डरले लुकेर बसेका थिए । उनीहरू आफ्नै घरमा सुत्न सकेका थिएनन् ।

उनीहरूको विश्वास जित्न मेरो केही सम्पर्क स्रोतसँग कुरा गरेपछि प्रदर्शनकारीले मध्य दिनमा प्रदर्शन गर्ने ठाउँको ठेगना दिन भनेँ । सुरक्षा फौजले प्रदर्शनकारीलाई लक्षित गरेर कारबाही चलाउन थालेपछि मुख्य सडकबाट प्रदर्शन हुँदैनथो । पहाडी शहरका सानो बाटोमा प्रदर्शन भइरहेको थियो ।

मलाई घटनाहरू गलत दिशातर्फ गएको पूर्वाभास नै भएन । धेरै जसो म आफूलाई सेना र प्रहरीको नजिक पाउँथे । मैले उनीहरूबाट नराम्रो प्रतिक्रिया सुन्थेँ । मलाई उनीहरू त्यहाँबाट टाढा जान भन्थे ।

प्रदर्शनकारीहरू आफ्नो आवाज अन्तर्राष्ट्रिय समुदायले सुनोस् भने चाहन्थे त्यसैले प्रदर्शनमा विदेशी पत्रकार भएकोमा उनीहरू खुशी हुन्थे । उनीहरू मेरो नजिक आउँथे र ‘हामी अमेरिका र संयुक्त राष्ट्रसंघले यहाँ सैन्य हस्तक्षेप गरोस् भन्ने चहान्छौँ’ भन्थे ।

केही मिनेटको अन्तरालमा म समाचार रिपोर्टिङ गर्नुभन्दा समाचारको विषय भएँ ।

अश्रुग्यास प्रदर्शनकारीमाझ प्रहार गरिएको थियो । प्रदर्शनकारी त्यहाँबाट भागे तर म मेरो हातमा क्यामेरा सहित त्यहीँ बसिरहेँ । म बाटोको करिब १० मिटर छेउमा उभिएको थिएँ । म आत्मविश्वासका साथ उभिएको थिएँ, भाग्ने प्रयास गरिनँ ।

अकस्मात मलाई १० जना सुरक्षाकर्मीले घेरा हाले । दुईतीन जनाले मेरो टाउको र पाखुरामा छडीले हाने । त्यस बखत अर्को कुरा सोच्नु अचम्मलाग्दो हुँन्थ्यो । मैले मेरो क्यामेरा र आफूलाई दायाँ हातको सहाराले बचाएँ ।

पछि मैले अध्यागमन विभागमा सुनेको बयान अनुसार मेरो मुखको मास्कले मेरो परिचय लुकाएको थियो । उनीहरूले म पत्रकारको हैसियतमा आधिकारिक रूपमा काम गरेको छु कि छैन भनेर निरीक्षण गर्नुपर्ने बताए ।

एक वकिलले भोलिपल्ट मलाई भनिन्, ‘अध्यागमन अधिकारीले नै दुई हप्ताका लागि बन्धक बनाउन भनेपछि म केही गर्न सक्दिनँ ।’ मेरा घाउ देखेर उनी चिन्तित थिइन् तर केही गर्न सकिनन् ।

हुन सक्छ, छिटो वकिल देख्न पाउँदा म खुशी हुनुपर्थ्यो। म्यानमारकी प्रभावशाली नेतृ आङ सान सु चीले हिरासतमा रहेको दुई महीनापछि मात्रै आफ्नो न्यायिक प्रतिनिधिसँग भेट्न पाएकी थिइन् ।

मलाई थाहा छ, विदेशी हुनुको नाताले मलाई सरकारी अधिकारीले राम्रो व्यवहार गर्नेछन् । म हिरासतमा बस्दा मलाई कुनै पनि प्रकारको दुव्र्यवहार भएन । मलाई जेलको ठूलो कोठामा म्यानमारका ७ जना कदीसँगै राखिएको थियो । हामी बाहिरी दुनियाँसँग सम्पर्कमा आउन चाहेनौँ ।

एउटा कुरा थियो जसले मलाई प्रत्येक रात खुशी बनाउँथ्यो । कैदीहरूले बाहिर भाडाकुँडा फालेको हामी बसेको जेलभित्रसम्म सुनिन्थ्यो । यस किसिमको प्रदर्शनको महत्त्व बुझ्न मलाई आफ्नै गिरफ्तारीले सहयोग गर्‍यो ।

यी सबै दिनहरूमा मैले सकारात्मक बस्ने प्रयास गरेँ । मलाई मेरो केश मैले चाहेको दिशातर्फ बढ्दै छ कि छैन, त्यो पनि थाहा थिएन । म आफैँसँग मजाक गर्थे । सरकारी सञ्चार माध्यम ‘द ग्लोबल न्यु लाइट अफ म्यानमार’ लाई किन सरकाको मुखपत्र भनियो भनेको त दिन होस् अथवा रात, जेलभित्र सधैँ लाइट अन नै हुँदो रहेछ !

भाग्यवश, जर्मन दूतावासले म्यानमारका अधिकारी समक्ष दबाब सिर्जना गर्‍यो । २२ मार्चमा तोकिएको समयभन्दा अघि मैले मेरो भिसा उल्लङ्घन गरेकामा न्यायाधीशसमक्ष माफी मागेँ । मैले १३० अमेरिकी डलर हर्जना तिरेपछि मुक्त हुने आदेश आयो । अनधिकृतरूपमा पत्रकारिता गरेको आरोपबाट पनि मुक्त भएँ ।

मलाई प्रहरीको भ्यानले मेरा सामग्री रहेको प्रहरी चौकीमा ल्यायो । त्यस वेला मैले प्रहरीसँग बोल्ने र प्रहरीको नजरमा म्यानमारको राजनीतिक अवस्थाबारे बुझ्ने अवसर पाएँ । ममाथि शंका नहोस् भन्ने सोचर मैले धेरै प्रश्न भने गरिनँ ।

सैन्य परिवारबाट आएको एक पुलिस जवानले मसँग भन्यो, ‘प्रदर्शनकारी आतंकवादीमा बद्लिएका छन्, उनीहरूले प्रहरी चौकी र कारको टायर जलाउन थालेका छन् । हामी उनीहरूका लागि के गरिरहेका छौँ भन्ने बुझेका छैनन् । आङ सान सु चीलाई निर्वाचनमा धाँधली र भ्रष्टाचार गरेको आरोप लागेको छ, तै पनि मान्छेहरू उनलाई सम्मान गर्छन् ।’

प्रदर्शनकारीहरूको हत्या भएकोमा उसलाई कुनै अपशोच छैन । सुरक्षा फौजलाई मान्छे मार्नेसम्मको अधिकार दिइएको छ । मैले उसमा केही द्विविधा भएको पाएँ । उसले फेरि भन्यो, ‘अन्य देशमा सेनाले राजनीतिमा यस्तो भूमिका खेल्दैन ।’

सबै प्रहरीले सेनालाई उत्तिकै सम्मान गर्दैनन् । केही प्रहरीसँग अंग्रेजीमा संवाद गर्दा पत्ता लाग्थ्यो कि उनीहरू भित्र विभाजन छ । यो कुरा म्यानमारका धेरै मानिसले मलाई पहिला नै भनेका थिए ।

प्रहरी चौकीमा अर्को रातपछि, मलाई देश बाहिर जान जर्मन राजदूतसँग फोनमा कुराकानी गर्न बोलाइयो । पुलिस चौकीमा केही स्वतन्त्र तरिकाले हिँड्दा मैले एउटा खाली कोठामा चियाएर हेरेँ । त्यहाँ एक युवा घुँडा टेकेर निहुरिएको थियो । उसको हात टाउको पछाडि थियो । उसले आफ्नो निर्दोषिताका विषयमा केही भनिरहेको थियो । के उनी प्रदर्शनकारी मध्येकै एक हुन् ? मैले सोध्ने आँट गरिनँ ।

पछि मैले थाहा पाए, मेरो गिरफ्तारीको समयमा ताउन्गणीमा पाँच प्रदर्शनकारीको मृत्यु भएको थियो । भने यी मध्येका एक अर्को पुलिस चौकीमा थियो ।

एक प्रदर्शनकारीले पछि मलाई म्यासेन्जरमा लेखे, ‘म अझै रगतका राता छिटा देख्छु, उनीहरूले मेरै अगाडि केही मान्छे मारे ।’

मार्च २४, बुधबार बिहानै म कारबाट ताउन्गणी हुँदै रङ्गुन लगिएँ । मसँगै अध्यागमनका तीन अधिकारी पनि थिए । उबडखाबड बाटोमा कार हल्लिरहेको थियो । हामीमध्येको एक जना खुशी हुँदै भन्दै थिए, ‘यो बाटो आङ सान सु चीले होइन, जनरल थान स्वयले बनाएका हुन्, यो बाटो राम्रो छ ।’

मलाई त्यो कुरा खासै चित्त नबुझे पनि मैले सेनाको उपलब्धिका विषयमा खासै छलफल नगर्ने निर्णय गरेँ । म्यानमारको सेनाले मानव अधिकार धेरै उल्लङ्घन गरेको छ । यस विषयमा त्यहाँका धेरै मानिसलाई जानकारी छैन ।

‘हामीलाई थाहा छ, प्रजातन्त्र एउटा बाटो हो । सेनाले एक वर्ष अथवा त्योभन्दा केही ढिलो निर्वाचन गराउँछ,’ तिनै अध्यागमन अधिकारीले चिया खान रोकिँदा भने ।

‘के म फोटो खिच्न सक्छु ?’ मैले हँसिमजाक गर्दै भने । उनले मलाई धेरै पटक भनेका थिए, यदि मैले कुनै फोटो लिइनँ भने मलाई कुनै समस्या हुने छैन ।

उनी मुस्कुराए ।

त्यसपछिको शान्ति तब मात्रै भङ्ग भयो जब ती अधिकारीहरूले प्रदर्शनकारीले लगाएको नाराको विरोध गर्न थाले । हामी रङ्गुन आइपुग्यौँ, जहाँ म एउटा होटलमा बस्न सकेँ । मसँगै अध्यागमनका अधिकारी पनि थिए ।

त्यसको भोलिपल्ट अर्थात मार्च २५ मा म म्यानमार छोडेर उड्न पाएँ । त्यसपछि मात्रै मैले मेरो फोन, क्यामेरा र सक्कली मेमोरी कार्ड पाएँ । मलाई थाहा छ, सयौँ मानिस अझै पनि जेलमै छन् जसलाई जेल छोड्ने अधिकार छैन । धेरैले देश छोड्न चाहे पनि पाएका छैनन् । तीमध्येका कैयौँ प्रदर्शनकारी वकिलको पहुँचबाट पनि टाढा छन् ।

यी सबै परिदृश्यमा म आफूलाई धेरै भाग्यमानी सम्झन्छु । मलाई यो कुरा मेरो वकिलले पनि भने । मलाई मुख्य प्रदर्शन भएको स्थानबाट पक्राउ गरिएको थिएन । त्यसैले पनि मेरो फोन निरीक्षण गरिएको थिएन ।

मलाई हिरासतमा राखिएको दुई हप्तामा मैले म्यानमारमा विकसित कुनै पनि घटना रिपोर्टिङ फाइल गर्न पाइनँ । जुन कुनै समयमा सेनाको गोली लाग्न सक्ने अवस्था फोटो पत्रकारको उद्देश्य पनि होइन । म हिरासतमा पुगेकैले मेरो जीवन रक्षा भएको हुनसक्छ ।

म्यानमारको सुरक्षा फौजले गरेको ज्यादतीका विषयमा दर्जनौँ नागरिक पत्रकारले धेरै मात्रामा रिपोर्टिङ गरेका छन् । उनीहरूको रिपोर्टका कारण अन्तर्राष्ट्रिय समुदायले म्यानमारको सैन्य सरकारको आलोचना गरेका छन् । केहीले त सैन्य सरकारविरुद्ध नाकाबन्दीसमेत घोषणा गरेका छन् ।

म्यानमारको सैन्य पत्रिका भने सुतेको छैन । उनीहरूले त्यहाँका सम्भ्रान्त वर्गमा प्रदर्शनकारीले स्थायित्व बिथोलेको भन्ने सन्देश प्रवाह गरिरहेका छन् । एकातर्फ म्यानमारमा पत्रकारिता मर्दैछ भने अर्कोतर्फ पूरा देश गृहयुद्धतर्फ जाँदैछ ।

स्थानीय पत्रकारलाई हिरासतमा लिने र अनुमति प्राप्त सञ्चार माध्यमको अनुमति खोज्न क्रम बढ्दै गएको छ । योसँगै सेनाले इन्टरनेट प्रयोग निषेध गरेको छ । यसले गर्दा म्यानमारमा खास के भइरहेको छ भन्ने कुरा थाहा पाउन अन्तर्राष्ट्रिय समुदाय वञ्चित छ ।

म्यानमारको सैन्य पत्रिका भने सुतेको छैन । उनीहरूले त्यहाँका सम्भ्रान्त वर्गमा प्रदर्शनकारीले त्यहाँको स्थायित्व बिथोलेको भन्ने सन्देश प्रवाह गरिरहेका छन् । त्यहाँ एक फोटमा प्रदर्शनकारीले नाङ्गो बच्चालाई आफ्नो पछाडि बोकेको देखाइएको छ । उक्त फोटो हेर्ने व्यक्ति प्रदर्शनको पक्षमा छ कि विपक्षामा, त्यसले सोही अनुसार फोटो परिभाषित गर्छ ।

एकातर्फ म्यानमारमा पत्रकारिता मर्दैछ भने अर्कोतर्फ पूरा देश नै गृहयुद्धतर्फ जाँदैछ ।

यी सबका बाबजुद मार्चको अन्त्यतिर सीएनएनका क्यारिसा वार्ड नामका एक पत्रकारलाई म्यानमार प्रवेश गर्न दिँदा त्यसले म्यानमारका जनतामा मिश्रित अनुभव गराएको थियो ।

सैन्य अधिकारीको अनुमति विना प्रवेश गर्न नपाउने सोच्दै म्यानमारको घटना अब स्वतन्त्र हिसाबमा रिपोर्टिङ हुने धेरैले विश्वास गरेका थिए । ‘के उनलाई विश्वास गर्न सकिन्छ ?’ धेरै मानिस म भएको ठाउँमा यो प्रश्नसहित आए ।

कारबाट रङ्गुन शहर घुम्दा वार्डलाई धेरै मान्छेले भाँडा बजाएर स्वागत गरे । यो भनेको उनीहरू अझै पनि प्रदर्शनकै क्रममा रहेको संकेत थियो । उनले केही उच्च पदस्थ सैन्य अधिकारीसँग कुरा गर्ने अवसर पाइन्, यस्तो घटना छिटफुट मात्रै हो । सैन्य अधिकारीको जवाफ भने अनुमान गर्न सकिने खालको थियो ।

यी सबै अवसरमा वार्ड भने सैन्य अधिकारीबाट सहयोग पाउँदै थिइन् । बजार क्षेत्रमा केही मान्छेको अन्तर्वार्ता गरिसकेपछि उनको अन्तर्वार्ताकारलाई सुरक्षाकर्मीले प्रदर्शन उक्साएको निहुँमा पक्राउ गर्‍यो ।

आफू इतरको अभिव्यक्तिलाई सैन्य अधिकारीले प्रदर्शन उक्साएको भन्छन् । आजको दिनमा म्यानमारमा भएका घटनालाई स्वतन्त्रतापूर्वक रिपोर्टिङ गर्ने वातावरण नै छैन ।

(रोर्बट बोसियागा अन्तर्राष्ट्रिय सम्बन्धमा विशेषज्ञता हासिल गर्दै गरेका फोटोपत्रकार हुन् । ७ अप्रिल २०२१ मा द डिप्लोम्याटमा प्रकाशित उनको यो लेख पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्