निरन्तर समर्पणको ‘बिपुल’ परिणाम – Kanika Khabar
Friday, April 26Nepali News Portal

निरन्तर समर्पणको ‘बिपुल’ परिणाम

    मा प्रकाशित

खेमराज रिजाल
दाङ, ३० चैत ।
टिनएजकै समयमा वि.सं. ३०४९ सालदेखि घटना र विचारबाट पत्रकारिता सुरुवात गरेका विपुल पोख्रेल निरन्तर सर्मपणको परिणाम स्वरुप करिव २८ वर्षपछि नेपालभरका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्वाचित भए । परिणाम यस्तो आयो कि उनको पक्षमा अत्यधिक वहुमत मात्र होइन देशभर करिब–करिब सबै परिणाम उनकै पक्षमा आयो । जम्मा ५२ जनाको केन्द्रीय कार्यसमितिमा ४९ जना उनकै नेतृत्वमा प्रत्यक्ष निर्वाचनमा लडेकाहरु विजयी भए ।

पत्रकारितामा ‘विपुल’ एउटा प्रवृत्ति हो । वि।सं। २०५३ सालमा नेपाल पत्रकार महासंघ दाङ शाखाको सदस्य बनेका उनी पत्रकारितामा थाकेनन्, रुकेनन्, झुकेनन् अनि नेतृत्वका लागि कहिल्यै विद्रोही पनि बनेनन् । यसैले २६औँ महाधिवेशनले दिएको छ ‘विपुल’ परिणाम । पत्रकारिता गर्दैगर्दा पत्रकारितामा सुधारात्मक कदमहरु पनि आवश्यक छन् । त्यसका लागि नेतृत्वमै पुग्नु पर्दछ भन्ने उनको चाहना निरन्तर रह्यो । वि।सं २०५८ सालमा केन्द्रीय पार्षदमा निर्वाचित भए । सोही वर्षको केन्द्रीय महाधिवेशनमा उनी नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भए । नेतृत्वकै लागि दौडधुममा मात्र लागेनन् उनी, जिल्लामै पनि पत्रकारितामा निरन्तर क्रियाशील रहे ।

त्यो बेला नै पत्रकारितामा उदाएको थियो, ‘विपुल’ प्रवृत्ति । उपाध्यक्ष भइरहँदा मुलुक राजनीतिक द्वन्द्वको चरम भुमरीमा फस्दै थियो । सशस्त्र द्वन्द्व चलिरहेकै बेला उनले नेपाल पत्रकार महासंघमा एउटा मिसनको संयोजकको भूमिका पाए । द्वन्द्वमा सरकार र द्वन्द्वरत तात्कालीन माओवादीबाट नियन्त्रणमा लिइएका पत्रकारहरुको निशर्त रिहाई । उनले केएल पीडितलाई सैनिक हिरासतबाट छुटाए । डेकेन्द्र थापा, रोशन पुरी तथा दुर्गा थापाजस्ता दर्जनौँ पत्रकारलाई सेना तथा युद्धरत समूहले त्रासमय वातावरणमा कब्जा गरिरहेको अवस्थामा उनीहरुलाई मुक्त गराई पुनः पत्रकारितामा फर्काउनु पनि उनकै संयोजनमा मिसन सफल भयो ।

नेपाल पत्रकार महासंघको अघिल्लो मिसनमा पनि उनी वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भए । जुन पदमा रहँदा उनले सम्हालेको नेतृत्वदायी भूमिकालाई नेपालभरका पत्रकारहरुले आत्मसात गर्दै आए, जुन अहिलेको निर्वाचन परिणामले देखाइसकेको छ । उनी मात्र अत्यधिक वमुहतको उचाइँमा पुगेनन्, उनी नेतृत्वको संयुक्त लोकतान्त्रिक प्यानलका जम्मा ५२ उम्मेद्वारहरुमध्ये ४९ जनाले निर्वाचन जिते ।

त्यसो त उनको वि।सं २०६४ सालकै महाधिवेशनमा केन्द्रीय अध्यक्षको पनि तयारी थियो । तर उनका विपक्षीहरुको वाहुल्यताले उनलाई जिल्लाबाटै केन्द्रीय पार्षदमा जान दिइएन । अर्थात् केन्द्रीय पार्षदमै हारे उनले । त्यही मक्रममा सायद त्यसै वर्ष उनी नेपाल प्रेस काउन्सिलको केन्द्रीय सदस्य मनोनित भए । एक कार्यकालका लागि पत्रकार महासंघमा खासै सक्रियता देखाएनन्, राजनीतिमा सक्रिय हुने चाहनाले । तर त्यो बेला उनलाई महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु सभापतिमा नेतृत्व लिनका लागि टिकट दिइएन, पार्टीबाट । फेरि पत्रकारितामै निरन्तरता दिए । त्यस बेलादेखि पनि उनी जिल्लाकै स्वर्गद्वारी एफएमको सम्पादक, गोरक्ष राष्ट्रिय दैनिकको सम्पादकलगायत विभिन्न जिल्लामा पत्रकारिता प्रशिक्षणमा अर्थपूर्ण उपस्थिति जनाउँदै आए ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं अग्रज पत्रकार तारानाथ दाहालको भनाईमा निरन्तर समर्पणको परिणाम स्वरुप विपुल अध्यक्ष पदमा निर्वाचित बने । ‘यो विजय प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, व्यावसायिक पत्रकारिता तथा श्रमजीवी पत्रकार र नागरिक अधिकारका पक्षधरहरुले चुनाव जितेको अवस्था हो’ पूर्व अध्यक्ष दाहाल भन्छन्, ‘जसको नेतृत्व विपुल पोख्रेलले गरेका थिए ।’ त्यस्तै यो निर्वाचनले संविधान प्रदत्त स्वतन्त्रताको हकको संरक्षण र स्वतन्त्रताका पक्षमा निरन्तर लागेका सञ्चारकर्मीहरुको विजय हो । यसले प्रतिगमनका विरुद्ध लागेको सरकार पक्षलाई सम्पूर्ण रुपमा अस्वीकार गरेको छ ।

पूर्व अध्यक्ष धर्मेन्द्र झाको बुझाईमा यो निर्वाचन परिणामा विपुलको प्रचण्ड वहुमत एउटा लोकतन्त्रको पक्षमा आएको नागरिक अभिमत पनि हो, यसलाई नमुना आम निर्वाचनका रुपमा पनि लिन सकिन्छ । विपुललाई प्राप्त मत करिब १४ हजार पत्रकारहरुका अभिमत मात्र होइनन्, नागरिक आवाजका प्रतिविम्ब पनि हुन् । पूर्व अध्यक्ष धर्मेन्द्र भन्छन्– ‘यसलाई सर्वसत्तावाद विरुद्ध अधिनायकवादको विरुद्धको विजयका रुपमा पनि लिन सकिन्छ, विपुल पोख्रेलमा नेतृत्व लिने क्षमता पनि पृथक भएकै कारण उनको टिमको प्रचण्ड वहुमत आएको पनि मैले अनुभूति गरेको छु ।’

नेपाल पत्रकार महासंघकै पूर्व अध्यक्ष शिव गाउँलेको भाषामा पत्रकारको मन जितेकै कारण विपुल पोख्रेलको नेतृत्वले निर्वाचनमा विजयी हात पारेको हो । यसलाई त्यही रुपमा लिनु उपयुक्त हुने छ । प्रजातान्त्रिक अभ्यासमा निर्वाचनमा जाँदा पत्रकारहरु यो र त्यो प्यानलमा जोडिएर नेतृत्वका लागि उम्मेद्वार बने पनि परिणाम आइसकेपछि यो सवै पत्रकारहरुको नेतृत्व हो भनेर लिन आम पत्रकारलाई आग्रह थियो, गाउँलेको ।

निर्वाचन परिणाम आइसकेपछि अब सबै पत्रकारहरुको कुनै खेमा नरहेको भन्दै पूर्व अध्यक्ष गाउँलेले नव निर्वाचित अध्यक्ष विपुल पोख्रेललगायत सबै पदाधिकारी एवं सदस्यहरुलाई बधाई समेत दिएका छन् । निर्वाचन अघि जहाँ जोसुकै खेमाका कुरा आए पनि निर्वाचित भइसकेपछि पत्रकार महासंघमा आउँदा कुनै पनि नेतृत्वमा राजनीतिको रँङ नहुने पनि उनको बुझाई थियो ।

निवर्तमान अध्यक्ष गोविन्द आचार्यले पनि लोकतान्त्रिक विधि र प्रक्रियाबाट अध्यक्षलगायत सबै सदस्यहरु निर्वाचित भएको भन्दै महासंघमा आउँदा राजनीतिक गन्ध लिएर आउन नहुने अभिव्यक्ति दिए । ‘निर्मलाजीले चुनाव हारे पनि उहाँ यस संस्थाको सल्लाहकार हुनुहुन्छ, अब नयाँ नेतृत्व सबै पत्रकारहरुको साझा भावनामा अघि बढ्नु पर्दछ’—निवर्तमान अध्यक्ष आचार्यले भने । चुनावको परिणाम सार्वजनिक भइसकेपछि अव पत्रकार महासंघमा कुनै पनि पक्ष र विपक्षी नरहने परम्परा रहेको स्पष्ट पार्दै अध्यक्ष आचार्यले अध्यक्षलगायत सबै निर्वाचित सदस्यहरुलाई बधाई दिएका छन् ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्