जोखिममा परेकाको हितका लागि साझा प्रयत्न जरुरी – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

जोखिममा परेकाको हितका लागि साझा प्रयत्न जरुरी

    मा प्रकाशित

काठमाडौं, जेठ २७ ।

महिला, बालबालिका, ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरीले महिला, बालबालिका, ज्येष्ठ नागरिक एवम् अपाङ्गता भएका व्यक्ति कोरोनाका कारण थप जोखिममा परेकाले उनीहरूको हितका लागि सरकार, सरोकार भएका सबै निकायका साझा प्रयत्न जरुरी रहेको बताउनुभएको छ ।

उहाँले कोभिडको महामारी बढ्दै जाँदा शारीरिक र मानसिक दुवै किसिमका दबाबमा महिला एवम् बालबालिका पर्न थालेको उल्लेख गर्नुभयो । मन्त्री चौधरीले कोभिडबाट व्यापार व्यवसाय प्रभावित बनेको भन्दै महिलालाई व्यवसायमा फर्काउन सीपमूलक कार्यक्रम ल्याउनुका साथै व्यवसाय गर्न पुँजी र बजारको खोजीमा पनि सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । “महिलाहरूलाई व्यवसायमा जोड्न सीपयुक्त तालिमका साथै व्यवसाय शुरु गर्नपुँजी र उत्पादित वस्तुको बजारसम्मको पहुँचकालागि सहयोग आवश्यक छ”, उहाँले भन्नुभयो ।

नेपाल उद्योग परिसङ्घअन्तर्गतको सिएनआई सिइओ फोरमले आज आयोजना गरेको श्रव्यदृश्य छलफलमा उहाँले विपद्मा पनि समस्यामा पर्ने भनेकै महिला बालबालिका तथा जेष्ठ नागरिक भएकाले उनीहरूको हितका लागि साझा प्रयास जरुरी रहेको बताउनुभयो । विभेद हटाउनेसम्बन्धी राष्ट्रसङ्घीय समितिकी निर्वाचित सदस्य बन्दना राणाले कोभिडका कारण रोजगारीका अवसर गुमाउनेमध्ये ७० प्रतिशत महिला नै रहेको भन्दै मन्त्री चौधरीले अनौपचारिक क्षेत्रमा काम गर्नेको अवस्था अझै भयावह रहेको तथ्य पेश गर्नुभयो । युनाइटेड इन्स्योरेन्सका प्रमुख कार्यक्रारी अधिकृत उपासना पौडेलले कोभिडपछि काम गर्ने तौरतरिका र चेतनामा फरकपन देखिएको बताउनुभयो । उहाँले कोभिका कारण मनोवैज्ञानिक दबाबमा परेका कर्मचारीको मनोबल बढाउन परामर्श दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले कोभिडको सङ्कटबाट जोगिएर दैनिक कार्य सञ्चालन गर्नुपर्ने र सबै क्षेत्रले सहकार्य गर्नुपर्ने बताउनुभयो । अहिलेको सङ्कटमा सरकार, निजी क्षेत्र र गैरसरकारी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ । परिसङ्घका उपाध्यक्ष एवम् सिएनआई सिइओ फोरमका कोअर्डिनेटिङ उपाध्यक्ष निर्वाण चौधरीले यतिबेला सबैले ठूलो सङ्कटविरुद्ध सङ्घर्ष गरिरहेको बताउनुभयो । कोभिडको दोस्रो लहरले सबैलाई प्रभावित बनाएको भन्दै उहाँले स्वास्थ्य सुरक्षा नै मुख्य चुनौती रहेको बताउनुभयो ।रासस

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्