संसद अधिवेशन आजः बजेटसहितका १३ अध्यादेश स्वीकृतिका लागि पेस हुने – Kanika Khabar
Friday, April 26Nepali News Portal

संसद अधिवेशन आजः बजेटसहितका १३ अध्यादेश स्वीकृतिका लागि पेस हुने

    मा प्रकाशित

भदौ २३, दाङ ।
सङ्घीय संसदको बैठक आज बस्दै छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबै सदनको बैठक आज बस्ने भएको छ ।प्रतिनिधि सभाको बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ । मन्त्रिपरिषद्को भदौ १९ गतेको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गर्नुभएको हो । सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनस्र्थापना भएसँगै साउन ३ गतेबाट अधिवेशन प्रारम्भ भई साउन ३२ गते अन्त्य भएको थियो ।

विचाराधीन विधेयकलगायतका‘बिजनेस’ नै अगाडि बढाउन सक्ने अवस्था नरहेपछि अधिवेशन चाँडै अन्त्य गरिएको थियो । सङ्घीयसंसद्को अबको अधिवेशनमा विचाराधीन विधेयक र केही महत्त्वपूर्ण सम्झौतामा निर्णय लिनुपर्ने छ । प्रतिनिधि सभा विघटनपछि अघिल्लो सरकारले ल्याएको बजेटसम्बन्धी अध्यादेश पनि प्रतिस्थापन हुन सकेको छैन । अध्यादेश जारीपछि अधिवेशन बसेको साउन ३ गतेको मितिले ६० दिनभित्र बजेटसहितका १३ अध्यादेश प्रतिस्थापन भइसक्नुपर्ने छ तर अघिल्लो अधिवेशनमा पेस भई स्वीकृतसमेत भएका छैनन् ।प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले बजेटसहितका १३ अध्यादेश स्वीकृतिका लागि आजको पहिलो बैठकमा नै पेस गरिने बताउनुभयो । अध्यादेश स्वीकृतको प्रस्तावलाई संसद् सचिवालयले सम्भावित कार्यसूचीमा समेत प्रकाशन गरिसकेको छ ।

 

अधिवेशन प्रारम्भ हुने पहिलो बैठकमा यसअघि अधिवेशन नभएको समयमा ल्याइएको दल विभाजनसम्बन्धी अध्यादेशसमेत पेस हुनेछ । प्रमुख प्रतिपक्षी नेकपा एमाले भने आफ्नो दल विभाजन गर्ने उद्देश्यबाट दल विभाजनसम्बन्धी अध्यादेश ल्याइएको भन्दै विरोध जनाउँदै आएको छ । एमालेले आफूसँग छलफल नै नगरी बैठक बस्न लागेको भन्दै बैठक अवरोध गर्ने सङ्केत गरेको छ । यस्तै पहिलो बैठकमा यसअघि पेस भएका तर स्वीकृतको प्रक्रिया अघि नबढाइएका शपथसम्बन्धी अध्यादेश, रेल्वे अध्यादेश, औषधिसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थलाई नियमन गर्नेसम्बन्धी अध्यादेश, नागरिकता अध्यादेश, यौन हिंसाविरुद्धका केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेशलगायतको प्रक्रिया अघि बढाइने कार्यसूचीमा उल्लेख छ । यस्तै बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाइने छ । साथै सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षताका लागि सदस्यको मनोनयन पनि हुनेछ ।

 

बैठकमा २०७० का संविधान सभा सदस्य जुठबहादुर खड्गी (जेबी टुहुरे)को निधनमा शोक प्रस्ताव पारित गरिने पनि कार्यसूची रहेको छ । यस्तै राष्ट्रिय सभाको बैठक पनि दिउँसो ४ बजेका लािग बोलाइएको छ । सरकारले साउन ३२ गते अधिवेशन अन्त्य गरेको थियो । अधिवेशन अन्त्य गरेर राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याइएको थियो । उक्त अध्यादेश अनुसार नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भइसकेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्