कविता
मेरो दशैँ
पहिले पहिलेको दशैँमा
ए बुबा आमा
तिमी हाममाझ हुँदा
दशैँको आशिष थापेर
यो शीरले तिम्रा पाउ छुँदा
यस्तो लाग्थ्यो कि
योभन्दा अर्को खुसी
यो संसार मै छैन
माटोको सानो झुपडी दरबारको
चुहिने छानामूनि
एउटा कुनामा बुबाले राखेका जमरा
यो शीरमा लाइदिँदा
यस्तो लाग्थ्यो कि
तिम्रो आशिषले सिँगारिएको
सुनौलो श्रीपेच पहिरिएको
म नै राजा हो
दशैँ त हरेक साल आउँछ जान्छ
अहिले पनि आयो
तर तिमीले छाडेर गएदेखि
मंगल धुन सुन्दा पनि यो मन रुन्छ
यो मनमा उत्सवको हर्ष उल्लास
अहँ, कहिल्यै आएन
घरमा चाडवाडको रौनकता कहिल्यै छाएन
अहिले दशैँको टिका जमरा देख्दा
तिम्रो हात मेरो शीरमा
सलबलाईरहेको महसुस गर्छु
तर अफसोच
यो मेरो शीर खाली छ
घरको कुनामा ओइलिएका जमरा
टपरीमा सुकेका टिकाका कनिका
तिम्रै प्रतीक्षामा छ
यो शीरले तिम्रै पाऊको शरण खोज्छ
ए बुबा आमा
बामे सर्दै गरेको म
तिमीले मलाई हिँड्न सिकाएर
चटक्कै छोडेर गयौ
के तिमीलाई थाहा छ ?
अब त म दौडने भैसकेको छु नि
अनि, दौडिरहेको छु, दौडिरहेको छु
निरन्तर दौडिरहेको छु
मेरो दौडानका क्रममा काहिँ कतै
तिमीलाई भेट्टाइ पो हाल्छु कि भन्ने झिनो आशामा……