विस्तृत शान्ति सम्झौताको १५ वर्ष : राजनीति बद्लियो, पीडितको उस्तै अवस्था – Kanika Khabar
Sunday, November 28Nepali News Portal

विस्तृत शान्ति सम्झौताको १५ वर्ष : राजनीति बद्लियो, पीडितको उस्तै अवस्था

    मा प्रकाशित

लिलाधर वली
दाङ, ५ मंसिर । सरकार र तत्कालीन माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पूरा भएको छ । सम्झौता पछि सेना समायोजन र संविधान लेखनको काम पुरा भएपनि महत्वपूर्ण ठानिएको पीडितसँग प्रत्यक्ष सरोकार राख्ने संक्रमणकालीन न्याय निरूपणको काममा भने विस्तृत शान्ति सम्झौता भएको डेढ दशक पूरा हुँदा समेत उस्तै छ ।

द्वन्द्वकालीन घटनाबारे सत्यतथ्य बाहिर ल्याउने, पीडितलाई क्षतिपूर्ति दिने, मानवअधिकार हनन् गर्नेलाई कारबाही गर्ने भनिएपनि त्यो अझै पूरा हुन सकेको छैन । तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा पीडित परिवारले अहिलेसम्म राहतको अनुभूति गर्न सकेका छैनन् । दश वर्षीय माओवादी युद्ध र २०६२÷६३ सालको जनआन्दोलनको जगमा देशमा विस्तृत शान्ति सम्झौता भएयता महत्वपूर्ण उपलब्धि भएका छन् तर ती उपलब्धिहरूले पीडितको गाउँमा मल्हम लगाउन सकेका छैनन् । विस्तृत शान्ति सम्झौताको १५ वर्ष पूरा भइसक्दा पनि पीडितहरूका उस्तै पीडाहरू छन् ।

दश वर्षीय सशस्त्र द्वन्द्वमा देशभरमै सवैभन्दा प्रभावित क्षेत्रका रूपमा रहेको गाउँ रोल्पाको जेलवाङ हो । द्वन्द्वका क्रममा जेलवाङबाट मात्रै ७३ जनाले ज्यान गुमाए । त्यस मध्य ६३ जना राज्य र दश जना विद्रोहीबाट मारिए । द्वन्द्वका क्रममा ठूलो पीडा खेपेको जेलबाङका द्वन्द्वपीडित परिवारका समेत उस्तै पीडाहरू छन् । परिवर्तनका लागि लड्नेहरू नै अहिले परिवर्तन भएर शहीद परिवारहरूलाई भुलेको गुनासो गर्छन् ।

रोल्पा सुनछहारी गाउँपालिका–७ जेलबाङकी ८० वर्षीय भुर्की बुढालाई एक्लै जीवन काट्न परेको छ । सशस्त्र द्वन्द्वका क्रममा एक्लो छोरा गुमाएपछि उनी सहराविहीन बनेकी हुन् । कालगतिले श्रीमानको र भएका एक मात्र छोरालाई माओवादी आरोपमा नेपाली सेनाले मारेको थियो । जीवनको सहराका रूपमा रहेका छोरालाई सेनाले मारेपछि सहाराविहीन भएकी उनले राहतको नाममा दश लाख रूपैया र माओवादी पाटीले घर बनाइदिएको छ । ‘घर र पैसाले मनमा शान्ति हुँदैनन्’, उनले भनिन्,‘मनमा शान्ति हुनलाई छोरा भएको भए हुन्थ्यो तर छोरा नै छैन ।’

उनले माओवादी पार्टीले बनाइएको घरमा जीवन काट्दै गरेकी भुर्मीलाई छोराको त्याग खेर गए जस्तो लाग्ने गरेको छ । ‘गाउँ र जनताको परिवर्तनका लागि भनेर लडेको छोराको मृत्यु भयो । त्यही लडाइँ लड्नेहरू सत्तामा गए तर गाउँको विकास भएन । जनताले परिवर्तनको सहसुस गर्न पाएनन्’, उनी भन्छिन,‘ नेताहलाई त परिवर्तन भएको छ, जनतालाई आएन ।’ सशस्त्र द्वन्द्वका क्रममा अर्काे मानवीय क्षती व्यहोर्ने गाउँ हो, पूर्वी रुकुमको महत गाउँ । महत गाउँमा राज्यपक्षबाट ५२ र माओवादीबाट ६ गरी ५८ ले ज्यान गुमाए ।

पूर्वी रुकुम भुमे गाउँपालिका–६ महत निवासी ७५ वर्षीय जुनसरा सुनारका आँखा अहिले पनि रसाइरहन्छन । जीवनको सहराका रूपमा रहेका उनका पनि एक मात्र छोरालाई प्रहरीले घरबाटै नजिकैको जंगलमा लगेर मारेपछि उनको कोख मात्र रित्तिएन जीवनको सहारा नै गुमाउन पुगिन । त्यही पीडामा दिन काट्दै गरेकी जुनसरालाई हरेक दिन छोराको सम्झना आउँछ । ‘म बढी भैसके, त्यसैमा विरामी छु । औषधी खाइरहनुपर्छ’,उनले भनिन्,‘बिरामी आमालाई औषधी किनेर ल्याइने दिने छोरासम्म छैन ।’

साँझको खाना खाएर सुत्न लागेका छोरा चन्द्रबहादुर सुनारसहित अन्य ६ जनालाई सोधपुचका लागि भनेर तत्कालीन इलाका प्रहरी कार्यालय महतको प्रहरी टोलीले लगेको थियो । सोधपुछका लागि भनेर लगेका छोरालाई प्रहरीले फर्किन दिएनन् । माओवादीकै आरोपमा यातना दिएर जंगलमा गोली हानेर हत्या गरेको थियो ।

छोरालाई तत्कालीन सरकार र बिद्रोही माओवादीबीचको दश वर्षीय सशस्त्र द्वन्द्वका क्रममा माओवादीले २०५६ कार्तिक १ गते उक्त इलाका प्रहरी कब्जा गरेपछि प्रहरीले गाउँका सिधा निद्रोश नागरिकलाई निसानामा पारेको थियो । त्यसको निशानामा परेका थिए चन्द्रबहादुरसहित गाउँका अन्य ६ जना ।

शारिरीक रूपमा असशक्त महतगाउँकै ८७ वर्षीय सिंहबहादुर बुढा छोरालाई सम्झिँदा भक्कानिन्छिन् । उनका १३ वर्षिय छोरालाई २०५९ असोज ६ गते सेनाले गोली हानेर मारेको थियो । स्कुलबाट घर फर्कदै गर्दा बाटोमै सेनाले गोली हानेर मारेको बुबा सिंहबहादुर बताउँछन् । देशको लडाईले आफ्नो छोरालाई खाएको उनी बताउँछन् । ‘लडाइँले छोरा खायो । बाचेको भए ठूलो हुन्थ्यो होला आज त’, उनले भने,‘बाचेर पनि मरेझै भएको छ ।’ त्यसको वर्षदिन अघिमात्रै उनको कान्छो छोरा जंगलमा मृत्य अवस्थमा भेटिएका थिए ।

दुई छोरा गुमाएका वृद्ध दम्पत्तिलाई मरेको छोरा फर्काउन नसके पनि गाउँमा शान्ति फर्कियोस् भन्ने चाहना छ । ‘हामीलाई अब केही चाहिएन र गाउँमा विकास चाहिएको छ’, उनले भने, ‘मरेको छोरा त फर्किंदैनन्, छोराको नाममा केही देखिने काम गरिदिए । मनमा शान्ति हुने थियो ।’ असोज ५ गते महतगाउँको सिस्ने खोलामा माओवादीको जनमुक्ति सेना र नेपाली सेनाको भिडन्तपछि त्यसको भोलिपल्ट गाउँ पसेको नेपाली सेनाले गाउँका ३ जना बालबालिकासहित ११ जनालाई माओवादीको आरोपमा हत्या गरेको थियो । जसमा दुईजना बोल्न नसक्ने अपाङ्गहरू समेत परेका थिए ।

रोल्पा सुनछाहरी–७ जेलबाङकै खुशीलाल कामी र बिर्सा विकले पनि दश वर्षीय सशस्त्र द्वन्द्व क्रममा चार वर्षीया छोरीलाई गुमाए । अपांगत जीवन बिताइरहेका खुशीलालकी एक मात्र सन्तानको रूपमा छोरी रिता जन्मिएकी थिइन । तर तीनै छोरीलाई पिठ्यूमा बोेकेर खुशीलालले घरनजिकैको जंगलमा गाई चराउँदै थिए । सशस्त्र द्वन्द्वका क्रममा २०६० सालमा अप्रेसनका लागि नेपाली सेना जेलवाङमा पुगेको थियो । सरकारी सेना गाउँ पसेको थाहा पाएपछि तत्कालीन जनमुक्ति सेनाले आक्रमण ग¥यो ।

त्यसपछि दुवै पक्षको बीचमा परे । दोहोरो भिडन्तका क्रममा सेनाको गोली लागेर खुशीलालले आफ्नै अगाडी चार वर्षीय छोरी गुमाएको श्रीमति विर्सा विकले बताइन । भएकी एउटी छोरी द्वन्द्वमा गुमेपछि उनको काखमात्र रित्तिएन । बुढेकालको साथ समेत खोसियो । छोरीको सम्झनामा उनले कति आँसु खसाइन् । त्यसको गिन्ती छैन । तर घाउँ बल्झन छोडेको छैन । उक्त घटनाको १९ वर्ष भइसक्दा पनि छोरीको सम्झनामा उनका आँसु झरिरहन्छन् ।

‘लडाइले छोरी खोस्यो, जीवनभरलाई घाउँ दियो’,उनले भनिन्, ‘घाउँमा मल्हमपट्टी लगाउने केही भएन ।’ छोरी मारेको बदलमा राज्यले १० मात्र लाख रूपैयाँभन्दा अरु केही दिन नसकेको उनी बताउँछिन् । माओवादी र सरकारबीचरको द्वन्द्वका चर्केकै समयमा २०५६ सालतिर जेठ महिनामा घरमा काम गरिरहेकी जेलवाङ १८ वर्षीय गोमा रोकालाई सोधपुचका लागि भन्दै लगेको सेनाले घर नजिकैको जंगलमा गोली हानेर मा¥यो । पढ्दै गरेकी गोमा माओवादीको आरोपमा मारेकी थिइनन् ।

घरमा बसेर पढ्दै गरेकी छोरीलाई सोचपुचका लागि भनेर लगेर मारेको आमा सिती रोका बताउँछन् । ‘छोरी पढ्दै थिइ, माओवादीमा लागेकी थिइनन्’, उनले भनिन्, ‘तर सेनाले माओवादी भनेर छोरीलाई मा¥यो ।’ उनले शब समेत देख्न पाइनन् । युद्ध अन्त्य भएको धेरैपछिसम्म पनि गाउँमा कसैको छोरीचेली देख्दा उनी भक्कानीएर रुन्थिन् । उनलाई लाग्दो रहेछ, युद्धमा सेनाले नमारेको भए, मेरी छोरी ठुली हुने थिई । उनी भन्छिन, ‘निद्रोश नागरिकलाई मार्नेले साजय पाउनुपर्छ ।’

प्रहरीको यातानासँगै पाँच वर्ष जेल जीवन विताएका ७० वर्षीय मनप्रसाद रोका अहिले पनि औषधी खाइरहन्छन् । २०५१ सालमा माओवादीको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेर २२ दिन हिरासतमा राखेर चरम यातना दियो । गाउँका गन्यमान्नका रूपमा रहेका मनप्रसादलाई दुःख दिनकै लागि प्रहरीले पाँच वर्षसम्म जेलमा राख्यो । हिरासतमा राख्दा माओवादीलाई सहयोग गरेको भन्दै यातना दियो । त्यही यातनाका कारण अहिले उनलाई ढाड, खुट्टा दुख्ने र धेरै बल लाग्ने काम गर्न नसक्ने भएका छन् ।

‘सरकारले यो माओवादीको गाउँ हो भन्यो । सेना, प्रहरी आएर दिनु दुख दिए’, उनले भने, ‘लोग्ने मान्छे घर बस्न सक्ने अवस्था थिएन । सेना प्रहरीले घरमै आएर गोली हान्थे । नभए पिट्ने गर्थे ।’ युद्धकालीन भर कहिले जंगल कहिल घर गर्दै जसोतसो ज्यान जोगाए तर पीडाहरू भने मनभरि छन् । ‘युद्धमा पाएको याताना जीवनभर बल्झिने घाउँ बन्यो । बाचुञ्जेल औषधी खानु परेको छ’, उनी भन्छन्, ‘औषधी गर्दा गर्दै सम्पत्ति सकियो तर न राज्यले हेर्छ न पार्टीले ।’ अहिले उनलाई कसरी औषधी खाने भन्ने पिरलो छ । उनलाई युद्धमा दिएको घाउँ भन्दा बढी नेताहरूको विलासी जीवनशैली देख्दा उनको मन पोल्छ ।

‘नेताहरूको जीवनशैली रातारात बदलिए’, उनले भने, ‘हाम्रो अवस्था उस्तै रह्यो । हामी जस्ता घाइते उपचार नपाएर बस्नु परेको छ ।’ रोल्पाको थवाङ गाउँपालिका–५ गिवाङ निवासी ६२ वर्षीय राममाया रोका शहीद पत्नी हुन् । उनका श्रीमान् ताराप्रसाद रोकाको २०६० साल साउन महिनामा माओवादीको गण्डक अभियानका क्रममा नेपाली सेनाको गोली लागेर मृत्यु भयो । त्यसपछिका राममायाका दिन र रात रोएरै बित्यो । श्रीमान् गुमाएपछि अहिले पनि उनको आसु रोकिएको छैन । श्रीमान् गुमाएको बदलामा उनले नाममा १०लाख बुझिन् ।

युद्धमा श्रीमान् गुमाएको भन्दा बढी पीडा उनलाई अहिले पार्टीका नेताहरूले शहीद परिवारलाई विर्सदै गएकोमा हुन्छ । त्यसैले हिजो परिवर्तनका सपना देखाएर हिडाएकाहरूप्रति उनको आक्रोश छ । ‘आज शहीद र उनीहरूको परिवारलाई बिर्सने काम भएको छ’, उनी भन्छिन,‘हिजो युद्ध गर्दा सपना देखाएर आन्दोलनमा हिडाए । सत्तामा पुगेपछि तीनैले शहीदका सपना भुले । शहीद परिवारलाई विर्सिए ।’ उनी भन्छिन शहीद परिवारलाई भुल्ने नेतालाई किन हामीले सम्झिने ?’ नेताहरू चुनावका बेलामात्रै गाउँ सम्झने र पछि विर्सने गरेको उनको गुनासो छ ।

घोराही उपमहानगरपालिका–१२ निवासी खुशीराम चौधरी जनयुद्धका घाइते हुन् । तत्कालीन विद्रोही माओवादीबाट युद्धमा सामेल भएका उनी रुकुमको खारा आक्रमणमा २०६१ सालमा घाइते भए । बन्दूकका गोली लागेर उनको दाहिने हात र खुट्टा चल्दैन । टाउको, ढाड र छातीमा गरी चार गोलीका छर्रा छन् । देश बदल्ने सपना बोकेर युद्ध लडेका उनलाई अहिले औषधि कसरी किन्ने भन्ने पिरलो छ ।

अपांग जीवन बिताइरहेका उनलाई दश वर्षीय युद्ध तथा २०६३÷०६३ आन्दोलनबाट उपलब्धि प्राप्त भए पनि नेताका कारण पाटी छिन्नभिन्न हुँदा निराश छन् । कम्युनिष्टहरू मिलेर देशको ठुलो पाटी हुँदा नपाएको न्याय अब नेताले फेरी गर्छु भन्दा उनलाई विश्वास लाग्दैन । ‘जनताको जनता देशमा सबै कम्युनिस्ट मिल्दिउन भन्ने थियो । त्यो भयो पनि तर नेताहरू मिल्न सकेनन्’, उनले भने, ‘अहिले मिलेको पार्टी फुटेको छ । त्यही पनि नेताहरू हामी गछौ भनेर भाषणा गर्छन । अब कसरी विश्वास गर्ने ?’ आफ्नै पार्टीको सरकारले समेत द्वन्द्वपीडित परिवारलाई न्याय दिन नसकेको उनको गुनासो छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्