विद्यालय पुनः सञ्चालन कार्यविधि निर्माण, सरकार विद्यालय खोल्ने गृहकार्यमा – Kanika Khabar
Saturday, April 27Nepali News Portal

विद्यालय पुनः सञ्चालन कार्यविधि निर्माण, सरकार विद्यालय खोल्ने गृहकार्यमा

    मा प्रकाशित

कनिका खबर
असार ४, दाङ ।


लकडाउनको मोडालिटी परिवर्तन भएपछि देशका धेरै क्षेत्रहरु सञ्चालनमा आएका छन् । पछिल्लो समयमा विद्यार्थीको पठनपाठनका विषयलाई लिएर पनि विद्यालय सञ्चालन गर्ने या नगर्ने भन्ने विषयमा छलफल भइरहेको छ । यद्यपि मोडालिटीको खाकामा विद्यालयलाई सबैभन्दा पछि राखिएको छ । बढी भीडभाड हुने क्षेत्र भएका कारण पनि विद्यालय क्षेत्र कोरोना सङ्क्रमणको अवस्था सामान्य भएपछि मात्र खुला गर्ने भन्ने रहेको छ ।
पछिल्लो समयमा सरकार विद्यालय खुलाउने पूर्वतयारीमा लागेको छ । अब विद्यालय क्षेत्रलाई कसरी व्यवस्थित तथा सुरक्षित रुपमा सञ्चालन गर्न सकिन्छ भन्ने अभ्यासमा सरकार जुटेको छ । विज्ञान प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पनि विद्यार्थीको पढाइमा अर्थात शैक्षिक सत्रमा कुनै क्षति नहुने अभिव्यक्ति दिंदै आएका छन् । विद्यालय खुलाउने पूर्व तयारी अन्तर्गत विद्यालय खुला गर्ने पूर्वानुमान गरी कम्तिमा १५ दिनअगावै सम्पूर्ण तयारी गर्नुपर्ने सर्त अघि सारिएको छ ।

अहिले विद्यालय सञ्चालन सम्बन्धी कार्यविधि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार गरेको हो । केन्द्रले विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यविधिमा सो विषय उल्लेख गरेको छ । केन्द्रका सहसचिव एवं उप–महानिर्देशक अणप्रसाद न्यौपानेको संयोजकत्वमा गठित समितिले तयार गरेको कार्यविधिमा विद्यालय सुरक्षित र संरक्षित, विद्यालयमा उपलब्ध सुविधालगायतका विषयमा बालबालिका र अभिभावक लक्षित गरी आवश्यकताअनुसार स्थानीय भाषामा विद्यालयसम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्नुपर्ने उल्लेख गरिएको छ ।

विद्यालय पुनः सञ्चालन कार्यविधि कार्यान्वयनपूर्व त्यसका लागि स्थानीय तहका जनप्रतिनिधि, अभिभावक, स्थानीय शिक्षाविद्, प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारी, स्वास्थ्यकर्मी, बाल–युबा क्लबसँग परामर्श गर्नुपर्नेछ ।
यसअघि पनि कार्यविधि तयार पारिएको थियो । यसअघिको कार्यविधिमा भौतिक दूरी कायम राखी सिक्ने वातावरण तयार गर्न कक्षाकोठा, फर्निचर, शौचालय आदिको आवश्यकताअनुसार पुनव्र्यवस्थापन वा मर्मत गर्ने र व्यवस्थापनमा सहजताका लागि अलगअलग सत्र, समय छोट्याउने, अवस्था हेरी तल्ला कक्षालाई पहिले वा माथिल्लोलाई पहिले जोखिम र सहजतालाई हेरी कक्षा शुरू गर्ने, हप्तामा केही दिन, दिनमा केही घण्टा सञ्चालन गर्ने गरी तयारी गर्न भनेको थियो ।

विद्यालय पुनः सुचारु गर्दा संक्रमणको दर सबैभन्दा न्यून रहेको तथा स्थानीय जोखिम सबैभन्दा कम रहेको स्थानबाट र विद्यालयबाट शुरु गर्ने योजना कार्यविधिमा लेखिएको छ ।

विद्यालय खुलेपछि विद्यालय परिवारबाहेक अन्य व्यक्तिलाई विद्यालय परिसरमा आउन निषेध गर्ने र अत्यावश्यक कामका लागि नआई नहुने परिस्थिति भएमा प्रधानाध्यापकको अनुमति लिई मास्क लगाएर मात्र आउने व्यवस्था गर्ने कार्यविधिमा लेखिएको छ ।

विद्यालय प्रवेश गर्नुअघि स्थानीय स्वास्थ्य संस्थासँगको समन्वयमा हेल्थ डेस्कको व्यवस्था गरी बालबालिका, शिक्षक, कर्मचारीको अनिवार्य रुपमा ज्वरो परीक्षण गर्ने र उचित तरिकाले अनिवार्य मास्क लगाउने, अति विपन्न समुदायका बालबालिकालाई विद्यालयले मास्कको व्यवस्था गर्ने, संक्रमणको समयमा गर्नुपर्ने र गर्न नहुने क्रियाकलापको सूची तयार गरी सबैले देख्ने ठाउँमा राख्ने र टाँस्ने व्यवस्था गर्नुपर्नेछ ।

स्थानीय तहले विद्यालय पुनः सञ्चालन कार्यविधिको आधारमा स्थानीय परिवेशको मूल्यांकन गरी विद्यालय पुनः सञ्चालन गर्ने, संक्रमण व्यवस्थापन तथा बालबालिकाको सिकाइ निरन्तरताका लागि प्रतिकार्य योजना तयार गरी सोको कार्यान्वयन गर्नुपर्नेछ ।
मन्त्रालयले पास गरेपछि केन्द्रले यो कार्यविधि लागू गर्नेछ

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्