गठबन्धनसँग भिड्न एमालेका ७ रणनीति – Kanika Khabar
Friday, April 26Nepali News Portal

गठबन्धनसँग भिड्न एमालेका ७ रणनीति

    मा प्रकाशित

शुरोजंग पाण्डे

वैशाख ४, काठमाडौँ ।

सत्तागठबन्धन तालमेलसहित चुनावमा जाने भएपछि एमालेले जवाफी योजना र रणनीतिको तयारी थालेको छ । आफूहरूका सिटमा भागबन्डा गर्ने गरी सत्तारूढ पाँचदलीय गठबन्धन अगाडि बढेपछि उसले व्यवस्थित योजना र आक्रामक प्रचारसहितका रणनीति अंगीकार गरेको छ ।

अध्यक्ष केपी ओली गठबन्धनको सामना गरेर पार्टीलाई जिताउन आफैँ सातै प्रदेशको चुनावी अभियानमा खटिएका छन् । उम्मेदवारी दर्ता गर्ने कार्यतालिका नजिकिँदै गर्दा गठबन्धन सिट बाँडफाँडमै अल्झिएको छ । तर, एमालेले भने धमाधम उम्मेदवारको टुंगो लगाउने प्रक्रिया जारी राखेको छ ।

१. ओलीको देशव्यापी दौड

स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा माहोल सिर्जना गर्न अध्यक्ष ओली आफैँ सातवटै प्रदेशका विभिन्न जिल्लामा पुगेका छन् । चैतभरि ओलीले १५ दिन काठमाडौंबाहिर पुगेर चुनावी सभा सम्बोधन गरे, विभिन्न पार्टीका नेता–कार्यकर्ता र जनप्रतिनिधिलाई पार्टी प्रवेश गराए । उनको सचिवालयले ११ वैशाखसम्म ओलीको कार्यक्रम काठमाडौंबाहिर रहेको जनाएको छ ।

तल्ला कमिटीहरूले सबैतिर ओलीलाई नै प्रमुख अतिथि बनाएर कार्यक्रम आयोजना गर्न खोजे पनि ओली ठूलो स्तरको पार्टी प्रवेश कार्यक्रममा मात्र सहभागी हुँदै आएका छन् । निजी निवास बालकोटमा पनि अन्य पार्टीका नेता–कार्यकर्तालाई ओलीले पार्टी प्रवेश गराउँदै आएका छन् । ‘अन्य दलबाट आउने नेता–कार्यकर्ता र जनप्रतिनिधि प्रवेश गराउने कार्यक्रममा मात्र अध्यक्ष सहभागी हुँदै आउनुभएको छ, तल्लो कमिटीहरूबाट धेरै माग भए पनि कार्यक्रमको प्रकृति हेरेर मात्र उहाँको कार्यक्रम निश्चित हुँदै आएको छ,’ केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले भने, ‘चैतभित्र उहाँ २५ जिल्ला पुग्नुभएको छ, उम्मेदवार मनोनयनअघि पनि अध्यक्षको कार्यक्रम तय भएका छन् ।

२. विपक्षी गठबन्धन

केन्द्रीय कमिटी बैठकबाट मूलतः एक्लै प्रतिस्पर्धा गर्ने, तर स्थानीय आवश्यकताअनुसार तालमेलको ढोका खुला राख्ने निर्णय गरेको एमालेले त्यसमा पुनर्विचार गर्दै विपक्षी गठबन्धन बनाएको छ । सत्तारूढ गठबन्धन चुनौती हुन सक्ने निष्कर्षमा पुगेको एमालेले साना दलहरूलाई सूर्य चिह्नमा चुनाव लड्न सहमत गराएर वैकल्पिक गठबन्धन बनाएको हो । वैकल्पिक गठबन्धनमा कमल थापा नेतृत्वको राप्रपा नेपाल र एकनाथ ढकालको राष्ट्रिय परिवार दल सामेल भएका छन् । सरकारबाहिर रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा० र सिके राउत नेतृत्वको जनमत पार्टीसँग पनि स्थानीय स्तरमा तालमेलका लागि एमालेले प्राथमिकतामा राखेको छ ।

३. पार्टी प्रवेश अभियान

गठबन्धनको सामना गर्न एमालेले दुई महिनादेखि पार्टी प्रवेश अभियान चलाइरहेको छ । त्यसक्रममा खासगरी मधेस प्रदेशमा मात्रै दुई दर्जन मेयर र उपमेयर तथा पालिका प्रमुख र उपप्रमुखहरू एमाले प्रवेश गरेका छन् । त्यस्तै, अन्य प्रदेशमा पनि त्यतिकै ठूलो संख्यामा जनप्रतिनिधि र अन्य पार्टीका नेता–कार्यकर्तालाई एमालेले पार्टीमा भिœयाएको छ । शनिबार सर्लाहीमा अध्यक्ष ओलीले जनता समाजवादी पार्टी नेपालबाट कविलासी नगरपालिकामा निर्वाचित मेयर कौशलकिशोर यादव, माओवादी केन्द्र र जसपाबाट निर्वाचित दुई वडाध्यक्षलाई पार्टीमा प्रवेश गराएका छन् ।

यसबीचमै पर्सामा तीन प्रमुख र उपप्रमुख एमालेमा प्रवेश गरेका छन् । वीरगन्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगी जसपाबाट, छिपहरमाई गाउँपालिका प्रमुख मनोजकुमार गुप्ता र जगरनाथपुर गाउँपालिका प्रमुख जालिम मियाँ माओवादीबाट प्रवेश गरेका छन् । धोबिनी गाउँपालिकका उपप्रमुख पारसनाथप्रसाद कुर्मी जसपाबाट प्रवेश गरेका छन् । त्यस्तै, सखुवा–प्रसौनी गाउँपालिकाका उपप्रमुख फूलमतीकुमारी थरुनी जसपाबाट प्रवेश गरेकी छिन् ।

बहुदरामाई नगरपालिकाका उपप्रमुख गायत्री देवी कांग्रेसबाट प्रवेश गरेकी छिन् । बारामा आदर्श कोतवाल गाउँपालिका प्रमुख मुस्तुफा अन्सारी जसपाबाट, रौतहटमा ईशनाथ नगरपालिका प्रमुख सन्तोषकुमार मेहता कांग्रेसबाट, कटहरिया नगरपालिका प्रमुख सीतारामप्रसाद कुसवाह, मौलापुर नगरपालिका प्रमुख रिनाकुमारी साह माओवादीबाट प्रवेश गरेका छन् । त्यस्तै, राजपुर नगरपालिका प्रमुख मो। सकिल अख्तर कांग्रेसबाट, देवाही–गोनाही नगरपालिका उपप्रमुख परनिया देवी तथा फतुवा विजयपुर नगरपालिका उपप्रमुख कौशिला राउत जयसवाल माओवादीबाट प्रवेश गरेकी छिन् । त्यस्तै, मौलापुर नगरपालिका उपप्रमुख गौरीशंकर प्रसाद र यमुनामाई गाउँपालिका उपप्रमुख गीतादेवी साह माओवादीबाट तथा राजदेवी नगरपालिका उपप्रमुख अंशु सिंह जसपाबाट एमाले प्रवेश गरेका छन् । महोत्तरीमा सम्सी गाउँपालिका प्रमुख शेष फारुक माओवादीबाट, जलेश्वर नगरपालिका उपप्रमुख मनचुन देवी र पिपरा गाउँपालिका उपप्रमुख विनोदकुमार चौधरी लोसपाबाट प्रवेश गरेका छन् । धनुषामा गणेशनाथ–चारनाथ नगरपालिका उपप्रमुख मीनाकुमारी यादव र विदेह नगरपालिका उपप्रमुख नीलमकुमारी देवी माओवादीबाट प्रवेश गरेका छन् । सिराहा र सप्तरीबाट प्रमुख र उपप्रमुखबाहेक केही वडाध्यक्षलाई एमालेले पार्टी प्रवेश गराएको छ ।

एमालेको पछिल्लो केन्द्रीय कमिटी बैठकले पार्टीमा धेरै आकर्षण बढेको निष्कर्ष निकाल्दै प्रवेशलाई अझ तीव्र बनाउनुपर्ने निर्णय गरेको थियो । ‘प्रवेशको यस शृंखलालाई आगामी दिनमा झनै तीव्र पार्नुपर्छ र जनअभिमतबाटै हाम्राविरुद्धको घेराबन्दीलाई तोड्नुपर्छ । यसका लागि विशेष गरेर जिल्ला कमिटीहरूले अझ ठोस र सुविचारित योजना बनाउनुपर्छ । गठबन्धन आबद्ध पार्टीका असन्तुष्ट नेता–कार्यकर्तासँग पहुँच र संवाद अगाडि बढाउनुपर्छ । व्यवस्थित रूपमा प्रवेश अभियान सञ्चालन गर्नुपर्छ । पार्टीमा आबद्ध भएका नेता–कार्यकर्तालाई पार्टी सदस्यता दिने प्रक्रिया आरम्भ गर्ने र वैचारिक–राजनीतिक प्रशिक्षणको उचित व्यवस्था गर्नुपर्छ । उहाँहरूलाई अविलम्ब उपयुक्त जिम्मेवारीसहित संगठित गर्ने काम गर्नुपर्छ । यसका लागि संगठन विभागले विशेष योजना बनाउनुपर्छ,’ पारित राजनीतिक प्रतिवेदनमा भनिएको छ ।

४. आफ्नो कामको प्रचार, सरकार भन्डाफोर

एमालेले पार्टी नेतृत्वले गरेका सरकारको सकारात्मक कामको प्रचार गर्दै गठबन्धन सरकारको नौमहिने कार्यकालका कमजोरी र असफलतालाई चुनावी एजेन्डाका रूपमा आक्रामक प्रचार गर्ने नीति लिएको छ । केन्द्रीय प्रचार विभागले त्यसअनुसार तयारीका काम अगाडि बढाइरहेको छ । गठबन्धन सरकारको पालामा अनियन्त्रित रूपमा बढेको महँगी, व्यापार घाटा, आर्थिक क्षेत्रमा देखिएको संकट, मन्त्रीहरूको विवादस्पद काम र अभिव्यक्तिजस्ता विषय पनि प्रचारको माध्यम बनाएको छ ।

गठबन्धनका नाममा मनोवैज्ञानिक प्रभाव दिन खोजे पनि त्यसलाई सामथ्र्यको प्रतीकका रूपमा होइन, कमजोरीको द्योतकका रूपमा प्रचार गर्ने, अघिल्लो स्थानीय निर्वाचनमा गठबन्धन असफल भएको र त्यसलाई चिरेर ४२ प्रतिशत स्थानमा जित हासिल गरेको विषय कार्यकर्ताबीच लगेर उनीहरूको उच्च मनोबल बनाउँदै चुनावमा परिचालन गर्ने एमालेको रणनीति छ ।

विजयीका आधारका रूपमा केन्द्र, प्रदेश र स्थानीय सरकारका उपलब्धि, नाकाबन्दीको सामना, नक्सा प्रकाशन, भारतसँग समानताका आधारमा व्यवस्थित गर्न खोजेको सम्बन्ध, अन्तर्राष्ट्रिय समुदायमा राष्ट्रको प्रतिष्ठा आर्जनमा खेलेको भूमिका, सरकार चलाउँदा विकासको समग्र सूचकमा भएको परिवर्तन, ओली सरकारले सुरु गरेका नयाँ योजना र काम, तराईकेन्द्रित बजेट र विकास निर्माण अभियानमा खेलेको भूमिका, भूकम्पपछिको पुनर्निर्माणमा खेलेको भूमिका, पूर्वाधार विकासका फड्को, सामाजिक सुरक्षाको दायारामा पु¥याएको योगदान, सिके राउत समूह र विप्लव समूहसँग वार्ता, पृथक्तावादको अन्त्य र हिंसाको शान्तिपूर्ण अवतरणजस्ता राजनीतिक समस्या समाधानमा ठूलो सफलतालगायत समग्र उपलब्धिलाई प्रचारको मुख्य विषय बनाएको छ ।

५. नवप्रवेशी लोकप्रियलाई टिकटमा प्राथमिकता

एमालेले गठबन्धनसँग नजिकको प्रतिस्पर्धा गर्न माओवादी केन्द्रसहित गठबन्धनका पार्टीबाट निर्वाचित लोकप्रिय प्रमुख र उपप्रमुखलाई भिœयाएर टिकट दिने नीतिलाई प्राथमिकतामा राखेको छ । केही पालिकामा त्यसरी प्रवेश गरेकालाई एमालेले सर्वसम्मत उम्मेदवारसमेत सिफारिस गरिसकेको छ ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट दुई महिनाअघि एमाले प्रवेश गरेका पशुपतिदयाल मिश्रलाई सर्वसम्मत उम्मेदवारका रूपमा एमालेले अगाडि सारेको छ । त्यस्तै, माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर दिलीपकुमार बगडिया एमाले प्रवेश गरेर पुनः सर्वसम्मत मेयरको उम्मेदवार सिफारिस भएका छन् । त्यस्तै, वीरगन्ज महानगरपालिमा जसपाबाट निर्वाचित मेयर विजय सरावगी प्रवेश गरेपछि एमालेले उनैलाई फेरि सर्वसम्मत मेयरको उम्मेदवारका रूपमा अगाडि सारेको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले वामपन्थी पार्टीसहित अन्य पार्टीबाट प्रवेश गर्ने नेता–कार्यकर्तालाई पूर्ववत् जिम्मेवारी दिने विधानको व्यवस्था र उम्मेदवार छनोटसम्बन्धी मापदण्डलाई आधार मानेरै नवप्रवेशीलाई पनि उम्मेदवार छनोटमा प्राथमिकतामा राखिएको बताए ।
मधेस प्रदेशमा मात्रै प्रमुख÷उपप्रमुख दुई दर्जन प्रवेश गरेका छन् । उनीहरूमध्ये धेरै पुनः पार्टीका तर्फबाट सम्भावित उम्मेदवारका रूपमा सिफारिस भइरहेका छन् । बारा, पर्सा, रौतहट, बाँके, बर्दिया, मोरङलगायत तराईका जिल्लाबाट माओवादी केन्द्र परित्याग गरी पार्टी प्रवेश गर्नेलाई एमालेले टिकटमा प्राथमिकतामा राखेको छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीसँग गठबन्धन नगर्ने, तर उनीहरूबाट कार्यकर्ता भिœयाएर बलियो बनेर गठबन्धनसँग चुनावी प्रतिस्पर्धा गर्ने एमालेको चुनावसम्बन्धी प्राथमिक नीति छ ।

६. गठबन्धनको अन्तर्विरोधमा खेल्ने

पाँचदलीय गठबन्धनबीच सिट बाँडफाँडमा ढिलाइ भइरहँदा धमाधम सिफारिस भइरहेका आफ्ना उम्मेदवारको निर्णय लिने तयारीमा एमाले छ । थुप्रै जिल्लामा गठबन्धनभित्र सिट बाँडफाँडमै सकस देखिएपछि एमालेले उनीहरूबीचको अन्तर्विरोधमा खेल्ने नीति लिएको छ । खासगरी एकीकृत समाजवादीले एमालेबाट निर्वाचित ठाउँहरूमा प्रमुख–उपप्रमुख दाबी गरिरहेपछि उसले पनि त्यसतर्फ लागेका प्रमुख–उपप्रमुखलाई तान्ने, एकीकृत समाजवादीबाट टिकट नपाउनेलाई पार्टीमा भित्र्याउने नीति लिएको छ ।

कतिपय जिल्लामा एमालेले एकीकृत समाजवादीका लोकप्रिय नेतालाई सूर्य चिह्नबाट चुनाव लड्न आकर्षक ‘अफर’समेत गरिरहेको छ । गठबन्धनभित्र सिट बाँडफाँडमा सकससँगै प्रत्येक उम्मेदवारको चुनाव चिह्न फरक–फरक हुने भएकाले मतदानमा अप्ठेरो हुन सक्ने विषयलाई पनि एमालेले प्रचार गरिरहेको छ ।
सरकारको नेतृत्व गरिरहेको कांग्रेसभित्रै गठबन्धनलाई लिएर दुई धार देखिएपछि त्यसको फाइदा पुग्ने एमालेको विश्लेषण छ । अर्कोतिर, माओवादी केन्द्रभित्र पनि एकीकृत समाजवादी कमजोर भएकाले सम्मानजनक सिट बाँडफाँड गरेर जान अप्ठेरो हुन सक्ने आवाज उठेपछि एमालेले त्यस्तो अन्तर्विरोधमा पनि खेल्ने रणनीति लिएको छ ।

७. बिग्रिएको अर्थतन्त्रको मुद्दा उचाल्ने

खासगरी कोभिडपछि मुलुकको आर्थिक सूचांक खराब हुँदै गएपछि एमालेले त्यसलाई गठबन्धन सरकारकै असफलताका रूपमा प्रचार गर्ने रणनीति लिएको छ । सरकारले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई हटाएपछि एमालेले पूर्वअर्थमन्त्रीमार्फत पत्रकार सम्मेलन गराएर सरकारका कारण अर्थतन्त्र बिग्रिँदै गएको सन्देश दिएको थियो । अध्यक्ष ओलीले त सरकारका कारण देशले श्रीलंकाको बाटो समात्न खोजेको अभिव्यक्ति नै दिँदै आएका छन् ।

जितका चार आधार छन्, रणनीति बनाएका छौँ  : विष्णु रिजाल, प्रचार विभाग उपप्रमुख

हामीले स्थानीय चुनाव आरामदायी रूपमा जित्छौँ र फेरि पनि पहिलो दल बन्छौँ । एमालेले जित्ने मूलतः चारवटा आधार छन् । पहिलो, एमालेलाई चोइट्याइएर बनाइएको समूहको क्षति तत्कालीन माओवादी केन्द्रसँगका नेता–कार्यकर्ताको ठूलो समूहबाट पूर्ति हुने अवस्था छ । दोस्रो, तराईमा अन्य ठूला पार्टी र तराईकेन्द्रित दलहरूको आकर्षणको केन्द्र एमाले बनिरहेकै छ । त्यसबाट अतिरिक्त फाइदा भएको छ । तेस्रो, अघिल्लो संघीय निर्वाचनमा फरक–फरक चुनाव चिह्न ९सूर्य र गोलाकार हँसिया–हथौडा०का कारण जनता झुक्किएर दुवैतिर मत पर्दा आठ लाख मत रद्द भएको थियो । दुवै पार्टीलाई परेको मतको हिसाब गरेर विजयी संख्या मान्दा एमालेबाट ७१ प्रतिशत र माओवादीबाट २९ प्रतिशतको तथ्यांकअनुसार हाम्रो पक्कै पाँच लाख मत रद्द भएको हुनुपर्छ । त्यो मत अबको निर्वाचनमा अवश्य थपिनेछ । चौथो, करिब ३५ लाख नयाँ युवा पुस्ताको मतदाता थपिनुभएको छ । नयाँ पुस्ताको आकर्षणको केन्द्र हाम्रो पार्टी अध्यक्ष केपी ओली बन्नुभएको छ । आजको नयाँपत्रिकामा यो समाचार रहेको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्