सामुदायिक विद्यालय शिक्षा ध्वस्त हुने सम्भावना – Kanika Khabar
Friday, April 26Nepali News Portal

सामुदायिक विद्यालय शिक्षा ध्वस्त हुने सम्भावना

    मा प्रकाशित
सांकेतिक तस्बिर

खेमराज रिजाल                                                            दाङ, १२ जेठ । युक्रेन—रसिया युद्धका कारण इन्धनको मूल्यमा भरी बृद्धि भइरहँदा सरकारले इन्धन खपत कम गर्न सातामा दुई दिन विदाको निर्णय गरेसँगै यसको प्रत्यक्ष मार भने सामुदायिक विद्यालय शिक्षामा परेको छ । निजी विद्यालयहरुसँग शैक्षिक गुणस्तरमा प्रतिस्पर्धा गर्न सामुदायिक विद्यालयलाई निकै सकस भइरहेको अवस्थामा फेरि सातामा दुई दिन बिदा हुँदा विद्यार्थीहरुको भविष्य चौपट हुने अभिभावकहरुले बताएका छन् ।

नजिकैका निजी बोर्डिङहरु सञ्चालन भइरहेका छन् । निजी विद्यालयहरुका विद्यार्थी बोक्ने गाडीहरु सडकमा गुडिरहेका छन् । तर इन्धन बचतका नाममा सरकारले दिएको दुई दिन विदाले सामुदायिक विद्यालयका विद्यार्थीहरुको शैक्षिक गुणस्तर निकै चुनौतीपूर्ण देखिएको छ । सातामा ५ दिन मात्रै स्कुल खुल्ने, अन्य सरकारी विदामा पनि कुनै हेरफेर नहुने अवस्थामा बर्षभरी पढाएर पनि कोर्ष पूरा हुन नसक्ने शिक्षक स्वयंले स्वीकार गरिरहेका छन् ।

सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरे पनि बैंक तथा वित्तीय संस्थाहरु भने एक दिन मात्रै विदामा छन् । निजी तथा सरकारी अस्पतालहरु सातामा एक दिन मात्रै विदा हुन्छन् । सहकारी संस्थाहरु पनि सातामा एक दिन मात्रै विदा दिने निर्णयमा पुगेका छन् । तर सामुदायिक विद्यालयहरु भने सातामा दुई दिन बिदा हुँदा यसले भविष्यका कर्णधार विद्यार्थीहरुलाई ठूलो मार परेको तुलसीपुर उपमहानगरपालिका–१७ का अभिभावक तिलक भण्डारीले बताए । ‘निजी विद्यालयहरु खुल्ने, तर सामुदायिक विद्यालय बन्द हुनु विद्यार्थीको भविष्यमाथिकै खेलवाड हो, यसले सामुदायिक विद्यालयहरु छिट्टै रित्तिने देखिएको छ’, अभिभावक भण्डारीले भने ।

बर्षेनी सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संख्या घट्दै गएको अवस्थामा सातामा दुई दिन विदा दिने सरकारको निर्णयले विद्यार्थीहरु निजीमा जानुको कुनै विकल्प नदेखिएको पनि अभिभावकहरुको भनाइ छ । विद्यालयमा विदा दिइँदा इन्धन खपत कम हुने भन्नेमा अभिभावकहरु कत्ति पनि विश्वस्त छैनन् । ‘अधिकांश सामुदायिक विद्यालयका स्कुल बस नै छैनन्, स्कुल बन्द गरेर इन्धन खपत कम हुन्छ भन्नु अत्यन्तै दुर्भाग्यको विषय हो’, अर्का अभिभावक गेहेन्द्र पौडेलले भने ।

अन्य सरकारी कार्यालयहरुमा दुई दिन विदा दिए पनि सामुदायिक विद्यालयहरु सातामा दुई दिन बन्द गर्न नहुने पनि पौडेलको तर्क थियो । निजी विद्यालय सातामा ६ दिन सञ्चालन हुने तर सामुदायिक विद्यालय सातामा दुई दिन बन्द गर्ने हो भने यसले सामुदायिक विद्यालयमा विद्यार्थीहरु घटेर रित्तै हुनसक्ने जनकल्याण मावि दुधरासका एक शिक्षकले बताए । उनको भनाइमा संघीय सरकारले जे–जस्तो निर्णय गरे पनि स्थानीय सरकारले यसलाई हेरफेर गरेर सामुदायिक विद्यालय पनि सातामा ६ दिन खोल्ने निर्णय गर्नेुपर्ने ती शिक्षकको तर्क थियो ।

सरकारले दुई दिन बिदा दिने निर्णयका सन्दर्भमा स्थानीय पालिकाका शिक्षा शाखाहरु केही बोलेका छैनन् । निजी विद्यालयहरु सातामा ६ दिन चलाइरहँदा पनि पालिका सरकारले केही अभिव्यक्ति दिएका छैनन् । भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । नवनिर्वाचित जनप्रतिनिधिहरुले भर्खरै मात्र पदबहाली गरेका छन् ।

सम्भवतः केही दिनमै यो विषयमा कार्यपालिका बैठकले निर्णय लिने बताइएको छ । ‘सरकारको निर्णय त कार्यान्वयन गर्नैपर्छ, तर जनप्रतिनिधिहरुले पदबहाली गरेपछि यो विषयमा कसरी अघि बढ्ने भन्नेमा निर्णय हुनेछ’, तुलसीपुर उपमहानगरपालिकाका एकजना शिक्षा शाखाका अधिकारीले भने । जनप्रतिनिधिले यो विषयमा चाँडै टुंगो लगाउने पनि उनको अभिव्यक्ति थियो ।

घोराही उपमहानगरपालिकाले यस विषयमा चाँडै टुंगोमा पुग्ने बताएको छ । उपमहानगरपालिकाका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख विनोद गौतमले निजी र सामुदायिक विद्यालयमा एकरुपता ल्याउने बताएका छन् । ‘यो विषयमा चाँडै शिक्षा समितिको बैठक बस्दैछ, यसले दुई दिन बिदालाई कसरी एकरुपता ल्याएर कार्यान्वयन गर्ने भन्ने निर्णय गर्नेछ’, शिक्षा प्रमुख गौतमले भने ।

बैठकमा निजी विद्यालय सञ्चालक, प्याब्सन, एन प्याब्सन सबैलाई बोलाएर छलफल गरिने पनि उनले बताए । यदि सातामा दुई दिन नै बिदा गर्ने हो भने निजी तथा सामुदायिक विद्यालय दुवैमा एकरुपता हुनुपर्ने पनि उनको जिकिर थियो । निजीमा एक दिन बिदा सरकारीमा दुई दिन बिदा कदापि हुन नसक्ने पनि उनको भनाइ थियो । यो विषयमा संघीय सरकारले पनि केही पुनर्विचार गर्ने पनि उनले बताए ।

सातामा दुई दिन नै विदा गर्ने हो भने पाठ्यभारलाई पनि परिमार्जन गरी एक दिनको पढाइलाई म्याच गर्ने गरी दैनिक ६ घण्टा खुल्ने विद्यालयलाई दैनिक ८ घण्टासम्म पुराउनुपर्ने तथा शुक्रवारको आधा विदा नगरी पूरै कक्षा सञ्चालनको व्यवस्था हुनसक्ने पनि उनको भनाइ थियो । त्यसो गर्दा सातामा एक दिन थप गरिएको बिदा मेकअप हुने पनि उनले बताएका छन् ।

नयाँ संघात्मक व्यवस्थामा शिक्षाको सबै अधिकार स्थानीय तहलाई दिइएको छ । जनप्रतिनिधि आइसकेपछि केही पालिकामा सामुदायिक विद्यालय सातामा दुई दिन विदा नदिन निर्णयसमेत भएको छ । सम्भवतः भर्खरै जनप्रतिनिधिले पदवहाल गरिरहेकाले अब यो विषयमा पालिकाले फरक निर्णय पनि गर्न सक्ने बताइएको छ । यो विषयमा निजी विद्यालयहरुको संगठन प्याब्सन र एन प्याब्सनले केही आधिकारिक अभिव्यक्ति दिएको छैन । यद्यपि निजी विद्यालयहरुले भने सातामा एक दिन मात्रै विदा दिँदै आएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्