आगामी संघीय निर्वाचन : ‘वहुदलवादी’ नेता मल्ल दाङ क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवार – Kanika Khabar
Friday, April 26Nepali News Portal

आगामी संघीय निर्वाचन : ‘वहुदलवादी’ नेता मल्ल दाङ क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवार

    मा प्रकाशित

कनिका डेस्क
असार १०, दाङ ।

स्थानीय तहको निर्वाचन २०७९ सम्पन्न भएको समीक्षात्कम विमर्श सेलाउन नपाउँदै संघ तथा प्रदेशको निर्वाचनको बहस बाक्लिन थालेको छ । देशका हरेक जिल्लामा यतिबेला संघ र प्रदेशको निर्वाचनले राजनीतिक वृत्तभन्दा पनि बढी चिया पसल र चमेना गृहका टेबल गुञ्जायमान रहेका छन् ।

सत्ता गठबन्धनका दलहरु स्थानीय निर्वाचनकै गठबन्धनलाई यथावत् राख्ने संवादलाई बाक्लो बनाउँदै लगेका छन् भने यो गठबन्धनलाई मन नपराएका वाम पार्टीका नेता तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेले वाम गठबन्धनको औचित्य र आवश्यकताको बहस मसिनो ढङ्गबाट चलाइरहेका छन् ।

 

आगामी संघ तथा प्रदेशको निर्वाचनको बहसले दाङमा पनि चुनावी चर्चा बाक्लो बनाउँदै लैजान थालेको छ । सत्ता गठबन्धनका दलहरु गठबन्धन र भागबण्डा त्यसपछि बल्ल उम्मेदवारको टुङ्गो लगाउने प्रतीक्षामा बसेका छन् । कतिपय दलहरुले आन्तरिक गृहकार्य गरेर एक प्रकारले उम्मेदवार टुङ्गाइसकेको अवस्था पनि छ । तर, प्रमुख राजनीतिक दलमा आवद्ध रहेका कतिपय प्रभावशाली नेताहरुले स्वतन्त्र उम्मेदवार रहने घोषणा गर्न थालेका छन् ।

यसैबिच दाङमा ‘वहुदलवादी’ नेता भनेर चिनिने हेमन्तबहादुर मल्ल (गणेश) आगामी संसदीय निर्वाचनमा ‘स्वतन्त्र’ उम्मेदवार बन्ने तयारीमा जुटेका छन् । राजनीतिमा सक्रिय मात्र होइन ‘बहुलवादी’ नेताका उपमा समेत पाएका मल्ल आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा दाङ क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारीमा जुटेका हुन् ।

बिगत लामो समयदेखि वकालत गर्दै आएका मल्ल पुनः राजनीतिमा बलियो उपस्थिति जनाउने सोचमा रहेका छन् ।

नेपाली काङ्ग्रेसको मुलधारको राजनीतिमा सक्रिय रहदै आएका मल्ल ११ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि, १२ औँ मा महासमिति सदस्य र १३ औँ मा महाधिवेशन प्रतिनिधिको भूमिका रहेका थिए । १२ औँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार समेत रहेका थिए । पार्टीको समन्वय विभागको केन्द्रीय सदस्य रहेर काम गरेका मल्ल २०४८ मा नेविसंघको केन्द्रीय महामन्त्रीको उम्मेदवार भएर चन्द्र भण्डारीसँग पराजित भएका थिए । त्यसो त एन पि साउद नेविसंघको अध्यक्ष रहँदा मल्ल केन्द्रीय सदस्य रहेर काम गरेका हुन् । २०३६ सालदेखि नेपाली काङ्ग्रेसको प्रखर वक्ताका रुपमा चिनिएका मल्लले गिरिजाप्रसाद कोइराला, खुमबहादुर खड्कासँग एकै मञ्चमा रहेर भाषण मात्र गरेनन् बलदेव शर्मा मजगैया, खुमबहादुर खड्काका् चुनावी अभियानमा समेत नेतृत्व लिए । नेपाल विद्यार्थी संघमा सक्रिय रहेका उनी पञ्चायत विरोधी आन्दोलनमा निकै चर्चित वक्ता थिए । देशभरिबाट उनलाई भाषणका लागि बोलाउने गरिन्थ्यो।

 

मल्ल पश्चिम दाङमा जवर्दस्त नेताको पहिचान बनाएका थिए । राजनीतिक सक्रियतासँगै कानुन व्यवसायी भएर लामो समयसम्म उनले काम गरेका छन् ।

‘लामो समय वकालत गरेँ। अब स्वतन्त्र उम्मेदवारी दिने तयारीमा छु’ उनले थपे ‘मैले त्यसका लागि लोकतान्त्रिक समूहका साथीहरूसँग सरसल्लाह गर्दैछु र केही दिनपछि घोषणा गर्नेछु।’

 

व्यक्तिगत स्वतन्त्रता, आर्थिक समृद्धि र आत्मसम्मानको लडाईंलाई प्राथिकतामा राखेर आफू चुनाव लड्ने नेता मल्लले बताए । समाजमा बढ्दै गएका विकृति र विसङ्गतिप्रति तीव्र वितृष्णा जनाउँदै नेता मल्लले भने, ‘यस समाजलाई करमुक्त र अपराधरहित बनाउन सकिन्छ भन्ने मेरो उद्देश्य हो ।’
नेपाली राजनीतिमा हुने गरेका सङ्घर्ष र परिवर्तनका लागि हुने आन्दोलनमा सरिक रहेका स्मरण गर्दै उनले भने, ‘कुनै बेला व्यवस्था परिवर्तनका लागि लडें अब स्वतन्त्र भएर जनताको सेवा गर्नेछु।’

बहुदलीय व्यवस्था ल्याउन तथा प्रजातन्त्रको संरक्षणका लागि लामो समय पार्टीमै रहेर काम गरेका मल्लको १४ औँ अधिवेशनमा क्रियाशील सदस्यता नवीकरण भएन । ‘सदस्यता नवीकरणका लागि शेरबहादुर देउवासमेतलाई निवेदन पेश गरे पनि सुनुवाई भएन । म यति लामो समय पार्टीको सिपाही भएर काम गरेको कुनै अर्थ भएन । पार्टीको सदस्य नै नभएपछि त मेरो बाटो स्वतन्त्र नै हो ।’ उनले भने, ‘काङ्ग्रेस नीतिमा स्पष्ट रहन सकेन । सिद्धान्तमा गम्भीर रहन सकेन । जनताभन्दा व्यक्तिवादी चिन्तन काङ्ग्रेसमा बढ्दै गएको छ । काङ्ग्रेस कम्युनिस्टमय बन्दै जान थालेको छ । लोकतन्त्रको संरक्षण, प्रजातन्त्रलाई संस्थागत स्वरुप दिलाउने सम्भावना काङ्ग्रेसबाट घटेका कारण पनि मेरो स्वतन्त्र उम्मेदवार रहने भएको हो ।’

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको विश्वासको पात्र भएर राजनीतिमा सक्रिय भएका मल्ल पछि कानुन व्यवसायी भएपछि राजनीतिबाट सक्रिय रुपमा केही टाढिएका भए पनि प्रजातान्त्रिक मूल्य मान्यताका पक्षमा सधै चिन्तन गरिरहे । कानुनमा स्नाकोत्तर गरेका मल्ल अब कानुनमै पिएचडीको तयारीमा छन् ।

मल्लको उम्मेदवारीको चर्चासँगै काङ्ग्रेसमा कम्पन

नेता मल्लको दाङ क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी रहने चर्चासँगै क्षेत्र नं. ३ को काङ्ग्रेस वृत्तमा कम्पन आएको छ । विशेष गरेर दाङको क्षेत्र नं. ३ नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य दीपक गिरीको नेतृत्व र निर्देशनमा चल्दै आएको क्षेत्र हो । एक प्रकारले पूर्व मन्त्री समेत रहेका गिरीको ‘दबदबा’ क्षेत्र नं. ३ मा रहेको छ । मल्लको उम्मेदवारीको चर्चासँगै काङ्ग्रेसबाट क्षेत्र नं. ३ मा उम्मेदवार रहने निश्चितप्रायः भएका नेता गिरीलाई केही सकस भने देखिन्छ । नेता मल्लले लोकतान्त्रिक समूहका साथीहरुसँग छलफल गरेर अगाडि बढेको र अझै केही छलफल गरेर उम्मेदवारी घोषणा गर्ने अभिव्यक्तिसँगै काङ्ग्रेसभित्रकै नेता तथा कार्यकर्ताको समर्थन मल्ललाई रहने निश्चित देखिन्छ । यसको प्रत्यक्ष या परोक्ष असर काङ्ग्रेसको उम्मेदवारलाई नै पर्नेछ । ‘काङ्ग्रेसको क्याडर बेस आफ्नै छ । क्याडर बेसका भोट काङ्ग्रेसका नै हुन् नीतिमा स्पष्ट भएर जनतासम्म पुग्न सक्यो भने । मैले लामो समय काङ्ग्रेसमै रहेर राजनीतिक क्रियाकलाप अगाडि बढाएका कारण लोकतन्त्रवादी साथीहरुको साथको अपेक्षा गर्नु स्वभाविकै हो ।’ उनले थपे, ‘ अब म स्वतन्त्र उम्मेदवार भइरहँदा आफ्ना विचार एजेन्डालाई जनताका सामु लैजाने हो, पार्टीको उम्मेदवार नभएका कारण विचार र एजेन्डाले जनमत बटुल्ने मेरो पहिलो प्राथमिकता रहनेछ ।’

यो निर्वाचन क्षेत्र दाङका अर्का नेता दीपक गिरी चुनाव लड्ने क्षेत्र पनि हो । २०७० सालको दोस्रो संविधानसभाको चुनाव जितेर गिरी मन्त्री पनि भएका थिए । अहिले मल्लले यही क्षेत्रबाट चुनाव लड्ने तयारी गरेका छन् ।

दाङको क्षेत्र नं ३ बाट २०७४ सालमा हिराचन्द्र केसीले जितेका थिए । त्यो बेला नेकपा एमालेबाट उम्मेदवार भएका केसी अहिले भने नेकपा एकीकृत समाजवादीमा छन् । त्यतिबेला केसीले नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीलाई पराजित गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्