घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन आउन अब केही दिन मात्र बाँकी छ । यही आउँदो शनिबार संस्थाको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ । संस्थाको स्थापना कालदेखि संस्थामा आवद्ध भएर खानेपानीको व्यवस्थापनमा जीवन बिताएका देवीबहादुर डिसी (देवी वकिल) पुनः नेतृत्वको लागि चुनावी मैदानमा उत्रिनुभएको छ । गठबन्धन प्यानलको नेतृत्व गरिरहनुभएका डिसीले २०६० सालदेखि नेतृत्वको जिम्मेवारी सम्हाल्नुभएको हो । घोराहीलाई काकाकुल बन्नबाट बचाउन उहाँको निकै ठूलो भूमिका रहेको छ । खानेपानीका लागि निर्विकल्प नेतृत्वको रुपमा उहाँ चिनिनुहन्छ । खानेपानीका विविध विषयलाई लिएर कनिकाकर्मी देबेन्द्र बस्नेतले अध्यक्ष पदका उम्मेदवार डिसीसँग गरेको कुराकानीको सार संक्षेप ।
तपाईको उम्मेदवारी किन ?
म खानेपानीको क्षेत्रमा आफ्नो लामो समय खर्चिसकेँ । मेरो लगाव, चिन्तन, मेहनत जे छ, अहिले यही पानीकै क्षेत्रमा मात्रै छ । घोराहीका उपभोक्ताहरुलाई सहज तरिकाले पानी खुवाउने मेरो बर्षाैँँ देखिको मेहनत कति सम्म सफल भयो, या कति हुन बाँकी छ । यो मैले भन्दा पनि उपभोक्ताहरुले महसुस गरेको कुरा हो । तर म घोराही क्षेत्रमा खानेपानीको सहजताका लागि धेरै मेहनत गरेको छु । अहिले सम्म घोराही क्षेत्रमा खानेपानी सहज तरिकाले उपलब्ध भैरहेको छ । तर अबको ५ वर्ष पछि घोराहीमा बढ्दो जनसंख्या बृद्धिदरले यहाँ पानीको चरम अभाव हुने सम्भावना छ । भोलिको यो सम्भावित खतरालाई टार्नका लागि मैले फेरी घोराही खानेपानीको अध्यक्षमा उम्मेदवारी दिएको हुँ । मैले अरु केही पनि हैन, यहाँका उपभोक्ताहरुले पानी पिउन पाएनौँ भनेर कहिल्यै नभनुन् भन्ने मात्रै मेरो चाहना हो । यहाँका नागरिकहरुलाई पानी खुवाउनका लागि मैले मन बचन र कर्मले जे सक्छु त्यो गर्छु ।
के छ त्यस्तो योजना ?
मैले अघि पनि भनेँ, घोराही खानेपानीले अहिले घोराहीका उपभोक्ताहरुलाई पानी अहिलेसम्म सहज तरिकाले खुवाईरहेको छ । तर अहिलेको यो पानीले घोराही बजारमा बढ्दै गएको घरधुरी जनसंख्यालाई त पुग्ने कुरा हुन्न । फलतःअबको ५० बर्ष सम्म पनि पानी पुग्ने गरि एउटा योजना हामीले स्वीकृत गराएका छौँ । ६५ करोडको यो योजना अन्तर्गत हामीले घोराहीका उपभोक्ताहरुलाई अबकोे ५० बर्ष सम्म सहज तरिकाले पुग्ने पानीको व्यवस्थापन गर्न सक्ने छौँ । हामीले अघिल्लो कार्यकालमा यो योजनाको फाईल बुझाएका थियौँ, अहिले यो स्वीकृत भएर आएको छ । फलतः मैले मेरो अहिलेको मेरो उम्मेदवारीलाई यही योजनाको कार्यान्वयनको रुपमा प्रमुख तः हेरेको छु र लिएको छु । मैले मेरो अब हुने कार्यकालमा यो योजना पूरा गर्न सकुँला या नसकुला । तर मैले यसको सुरुवात मात्रै गर्न सके भने पनि पछि नेतृत्वमा आउने अर्को पुस्ताले यसलाई कार्यान्वयको अर्को चरणमा लैजानु हुने छ । यो योजनाको काम मेरो पालमा हुन सक्यो भने कम्तीमा पनि देबीबहादुर डिसीले गरेको काम भनेर पछिसम्मको पुस्ताले पनि मेरो नाम सुन्ने छ । मेरो चाहना के मात्रै हो, भने म बाँच्दासम्म घोराहीका उपभोक्ताहरुलाई पानी खुवाउँछु । र उपभोक्ताहरुलाई सहज रुपमा पानी खुवाउनका लागि मैले आफूलाई नेतृत्वमा ल्याउन खोजेको छु । अरु कुरा केही पनि हैन ।
पानीको स्रोतको अवस्थालाई कसरी बुझ्नु भएको छ ?
अब हेर्नुस् कटुवा खोलाको पानीको भर त्यति छैन । यो खोलाको पानी सुक्यो भने घोराहीका मान्छेहरुले कसरी पानी खाने ? यो खोलाको मात्रै भर पर्ने हो भने भोलि घोराही काकाकुल हुन्छ । यसका लागि बोरिङ खन्नु पर्छ नै । घोराही खानेपानीले अहिलेसम्म चार वटा बोरिङ खनेको छ । यी चार बोरिङको पानीले घोराहीको पानीको भार थेगेको छ । तर मैले अघि पनि भने २०६५ को आयोजनाले १५ वर्षपछि सम्मको अवस्थालाई मेन्टेन गरेको छ । अब यो योजनाले कति वर्षसम्म मेन्टेन गर्न सक्ला ? यसर्थ अब हामीहरुले ५० वर्षपछि सम्मको अवस्थालाई विश्लेषण गरेर त्यो खालको बलियो योजना बनाउनु पर्यो भन्ने हाम्रो उदेश्य थियो । यही योजना मुताबिक ६५ करोडको बृहत खानेपानी आयोजना अन्तर्गत बोरिङ खन्ने, लिफ्ट मार्फत ट्यांकीमा पानी सञ्चय गर्ने देखि पानी प्रशोधन गरेर प्रत्येक उपभोक्ताको धारोमा २४ सै घण्टा शुद्ध पिउने पानीको व्यवस्थापन गरिनु पर्छ र त्यसैका लागि मैले आफूलाई फेरि नेतृत्व तहमा उभ्याएको छु ।
उपभोक्ताहरुको अहिले समस्या भएको भनेर कतिको गुनासो सुन्नपर्छ ?
अहिले त्यस्तो छैन । उपभोक्ताहरुले पानी पाएनौँ, पानी अभाव भयो भनेर भन्नु पर्ने स्थिति हैन । तर के हो भने विभिन्न सडक निर्माण, नाला निर्माणका नाममा खानेपानीको पाईप काटिन्छन् । त्यो बेला उपभोक्ताहरुलाई खानेपानीको समस्या भने पर्छ । त्यो बेलामा हामीहरुले त्यस्ता उपभोक्ताहरुलाई निशुल्क रुपमा पानी खुवाएका पनि छौँ । पानी खाए वापत शुल्क तिर्ने उपभोक्ताहरुलाई पानीको समस्या पर्यो वा पानी खान नपाउने भन्ने हुन्छ ?त्यस्ता उपभोक्ताहरुलाई मैले नै घरमै पानी पुर्याएर खुवाएको छु । बिकासका नाममा खानेपानीको आयोजनामा हुने क्षेतिले बेला बेला समस्यामा पार्छ तर अरु बेला भने उपभोक्ताहरुले पानी खान नपाएको वा नपुगेको भने। ग्ुनाससो गर्ने ठाउँ त अरु छैन ।
पाईप काटिँदा पाउनु पर्ने दुखका कुरा सुनाउनु भयो, किन यहाँहरुको समन्वय नभएको हो ?
मैले एउटा पुरानो जानकारी दिन्छु । नगरपालिकासँग एक पटक बिकास निर्माणका लागि आयोजना बनाउने निकायहरु संग छलफल भयो । त्यो बेला कार्यकारी अधिकृत हरिप्रसाद पाण्डे हुनुहुन्थ्यो । त्यो बेला सहमति के भएको थियो भने कुनै पनि टोल, वडाको बिकास निर्माणको काम गर्दा घोराही खानेपानीसँग पनि समन्वय गर्ने भन्ने थियो । यसको मतलव के थियो भने बिकासका नाममा ड्याम्म डोजर लगाउँदा खानेपानीको पाइप कट्न सक्छ । अनि उपभोक्ताहरुले पानी खान नपाउने अवस्था बन्छ । यो राम्रो सहमति पनि थियो । तर यो सहमति कार्यान्वयन भएन । डोजरले मन परि खन्छ, पाईप काटिन्छन् , उपभोक्ताहरु पानी खानबाट बञ्चित हुनु पर्छ । समन्वय भन्ने कुरा छैन । तर यो समन्वय भएन भने उपभोक्ताहरुले दुख पाउने अवस्था बनिरहन्छ ।
तपाईको जीतको आधार के ?
मैले सुरुमै पनि भने कि मैले आफ्नो जीवन यही खानेपानीकै क्षेत्रमा समर्पित गरेँ । कुनै जागिर, ठेक्का पट्टा कतै कसैको पछि लागेन । समाजाजिक सेवासँगै खानेपानीसँग जोडिएँ । जहिले देखि यो क्षेत्रमा जोडिएँ, त्यो बेला देखि मेरो मन मष्तिष्कमा जहिल्यै एउटै कुरामात्रै छाप बसेको छ त्यो भनेको घोराहीमा कसरी सहज तरिकाले पानी खुवाउने ?मात्रै मलाई पानीको चिन्ता भयो । यहि चिन्तनले मैले खानेपानी संस्थामा रहेर गरेको योगदानलाई उपभोक्ताहरुले पक्कै पनि मन पराईदिनु भएको होला भन्ने मेरो बिश्वास हो । उपभोक्ताको पानी खाने अधिकारका निम्ति संघर्ष गर्दै आएको म ‘पानी बा’ लाई उपभोक्ताको प्रेम, सद्भाव र मैले विगतमा यो क्षेत्रमा गरेको कर्मले मलाई जिताउने छ भन्नेमा म पूर्ण रुपमा बिश्वस्त छु । मलाई उपभोक्ताले ‘पानी बा’ को संज्ञा दिनुभएको छ । यो मैले खानेपानीका लागि काम गरेको उपाधि हो । ‘पानी बा’ भनेको सुन्दा खुशी लाग्छ । फेरि मैले संस्थामा रहेर खानेपानी उपलब्ध गराउने सवालमा मैले यो वा त्यो, मेरो वा तेरो भन्ने भावना कुनै पनि उपभोक्ताहरुलाई गरेको छैन । यसर्थ म सबैको साझा मान्छे भएर काम गरेँ र साझा मान्छे नै हो म । र मलाई बिश्वास पनि छ मेरो विगतको कामको सही मूल्यांकन मेरा उपभोक्ताहरुले गर्नुहुनुे छ ।