राजविद्याका कार्यकारी ‘कारिन्दा’ को फल – Kanika Khabar
Friday, April 26Nepali News Portal

राजविद्याका कार्यकारी ‘कारिन्दा’ को फल

    मा प्रकाशित

बच्चा गाडीमा उक्लिनुभयो, म्यामले गाला समातेर माया व्यक्त गर्दै ढोका बन्द गर्र्नुभयो । त्यो क्षणले मलाई चसक्क छोयो । मैले पुलुक्क हेरें, राजविद्या पाठशाला लेखिएको चिटिक्क परेको हाइस थियो । सफा टलक्क टल्किन्थ्यो । त्यसै दिनदेखि यो वाक्य लेख्न चाहेको थिएँ । भदौ २९ ले जुराइदियो ।

आज विद्यालय पुग्दा गार्डले रजिष्ट्रर मतिर बढाएर आफै लेख्नुस् भन्नुभयो । उहाँको सविनय अनुरोधलाई स्वीकारें । कतिपय ठाउँमा यो नाम दर्ता गर्ने हो भने म भित्र पस्दैन भनेर भागेको पनि छु । केही मेनपावरका अवैध शाखामा नपसेरै फर्किएको हुँ । तिनको शानको लागि मैले झुक्न जरुरी ठानिन । पैसा कमाउँदैमा उनीहरुको सामु निहुरमुन्टे हुनुपर्छ भन्ने लाग्दैन ।

विद्यालय, बैंकलगायतमा पस्दा भने तिनको नियमभित्र रहन्छु । बैंकमा दुनियाँको सम्पत्ति संरक्षण गरिएको हुन्छ । विद्यालयले भावी पुस्ताको जिम्मा लिएको हुन्छ । अब्बल मानिस जन्माउने थलो विद्यालय हो । सीपयुक्त र क्षमतावान जनशक्ति तयार गर्ने विद्यालयले हो । ताते ताते हिड्ने र तोते बोली बोल्ने उमेरदेखि नै मन्टेश्वरीका नाममा विद्यालय पठाइन्छ । त्यहाँ को पस्यो, किन पस्यो भन्ने जानकारी राख्न जरुरी छ । मैले त्यो नियम मान्छु ।

मलाई निम्तो दिइएको कार्डमा ११ः१५ बजे लेखिएको थियो । म भने करिब दुई बजेको आसपासमा पुगें । त्यस अघि आदरणीय गुरु नारायणप्रसाद शर्माले घोराही कारागार पस्ने अवसर मिलाइदिनुभएको थियो । दश मिनेटको विपश्यना ध्यानका लागि म समाचारदाताका रुपमा पसेको थिएँ । त्यहाँ कैदी बन्दीका अनुहार पढ्न पाएँ । जेल हो बाहिरको संसारको जस्तै खुश त किन हुन्थे र ? हाकिम जस्ता मोटा, खान नपाएका जस्ता ख्याउटे, सफा चट परेका, जिंरिङ जुँघा दाही भएका, सिरानीमा हिन्दु धर्मका पुस्तक र पोष्टर राखेर पूजा गर्ने लगायत देखिए । भित्र कार्यक्रम स्थल पुगुञ्जेल लामबद्ध उनीहरुले शिष्टता र सम्मानका साथ हात जोड्थे ।

यही दृश्य कैद गर्दै म राजविद्या पाठशाला घोराही–१८ नवलपुर पुगेको हुँ । त्यहाँ पुग्ने बित्तिकै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदिम केसी, प्रिन्सिपल टीकाजंग विके, बोर्ड अफ डाइरेक्टर गणेश केसी लगायतले स्वागत सत्कार गर्नुभयो । अतिथि पत्रकारहरुको ठूलै संख्या देखिन्थ्यो । आजभोलिका कार्यक्रममा दुई तीन जना पत्रकार देखिनु ठूलै सौभाग्य जस्तो मानिन्छ । त्यो आयोजकलाई धन्य मान्नुपर्छ जसले पत्रकार उपस्थित गराउन सकोस् । त्यहाँ रहेछन् ।

बस्ने बित्तिकै मैले चारैतिर नजर घुमाएँ । विद्यालयको पोशाकमा सजिएका कुनै पनि शिक्षक पलेटी मारेर बसेको देखिन । पदीय मर्यादा अनुसार ठालु बनेको पनि पाइनँ । प्रिन्सिपल विकले मञ्चमा हुने कार्यक्रममा कमाण्ड गरिरहनुभएको थियो । अध्यक्ष केसीले कसलाई अतिथि आसन गराउने, बोल्ने पालो कसलाई दिने, मायाको चिनो दिएर बिदाइ कति बेला गर्नेमा लागिरहनुभएको थियो । कार्यक्रमको अध्यक्ष बनेर गजधम्म बसेको देखिनँ । यसले मलाई औधी आनन्द आयो । अगुवाले काम गर्नुपर्छ । त्यसपछि परिवर्तन हुन्छ भन्ने मान्यता राख्छु ।

May be an image of 11 people, child and people standing

मञ्चमा बच्चाहरुलाई लैजाने र ओराल्ने । सम्मान पत्र एवं मेडल तयारी गर्ने र अतिथिलाई उपलब्ध गराउने । खाजा बनाउने, पानी बसाल्ने, फलफूल काट्ने र खुवाउने यावत काममा विद्यालयका सबै टिम खटेका थिए । म शिक्षक हुँ, मेरो काम यो मात्रै हो भनेर अखट्टो थापेको देखिएन । आइपरेको काम जे पनि, जसले पनि र जतिखेर पनि गर्ने सक्रियता देखेपछि मेरो मन असाध्यै रमायो । यदि विकास गर्नुछ भने जाँगरका साथ कुनै पदीय बार नहाली गर्नुपर्छ ।

यदि विद्यालयको चउरमा वा झ्यालबाट बच्चाले कागज फाल्यो भने प्रधानाध्यापक वा प्रिन्सिपल आफैले टिप्नुस् भन्दै आएका छौं । केही विद्यालयका शिक्षकहरुले बच्चाको फोहोर छुन घिन मान्नु हुन्छ । हातमा धुलो मैलो लाग्ला भन्ने डर मान्नुहुन्छ । कसैले फोहोर टिपेको देख्यो भने लाज होला भन्ने सोच्नुहुन्छ । अझ कतिपयमा फोहोर उठाउने काम कार्यालय सहयोगीको हो भन्ने चलन छ । शिक्षकहरु घर व्यवहारका गफ छाँटेर बस्छन् विद्यालय फोहोरको डंगुर हुन्छ । आफू धेरै पढेर लोक सेवा आयोग पास गरेर आएको शिक्षक ठूलो मान्छे हो । अरुलाई काम गराउनुपर्छ भन्ने सोच्छ । त्यसै भएर हुनुपर्छ धेरै सामुदायिक विद्यालय घुम्दा फोहोरको रास भेटिन्छ । विद्यार्थीको संख्या हरेक वर्ष घट्दा शिक्षक भन्दा कम हुन्छन् ।

मलाई त्यो मञ्चको दृश्यले मात्रै पुगेन । उठेर अवलोकनतिर लागें । स्वीमिङ पुल असाध्यै सुन्दर देखियो । निकै रिस उठेको बेला त्यही पुलको डिलमा उभिएर एकहोरो हेर्दा पनि दुःख बिर्सिन्छ होला । छेउमै बगैंचा रहेछ । गमलामा केही हजारी थिए । अरु बोट विरुवाहरु पनि रोपिएका छन् । धुपी लगायतका पोथ्राभित्र जंगली जनावरका मूर्ति छन् । जंगलमा मृग दौड्न लागेको जस्तो भान भयो । बच्चाहरुलाई वनजंगलका बारेमा पढाउने क्रममा एक झलक हेराउन लगे बुझ्छन् ।

अनि गेटनजिकै पानीका फोहोरा फाल्ने बनाइएको छ । त्यति जाँगरसँग छर्किएको थिएन । तर झरना सरी झर झर बग्थ्यो । पहाडका खोलाहरु जस्तै तल खस्थ्यो । अड्किदै खस्दै गर्ने शैली जस्तो पनि थियो । असाध्यै सुन्दर ढंगले रंगरोगन गरिएको मुनाबाट पानी झर्ने बनाइएको रहेछ । त्यसको नजिकै हरियालीले गर्दा फोटो पनि लोभलाग्दो दृश्यसहितको आउँदोरहेछ । एसो सेल्फी हानुँ कि जस्तो मनमा लागेको थियो, कता भुलेछु कुन्नि खिचेकै रहेनछु ।

May be an image of 7 people and indoor

दुईवटा भवन रहेछन् । बीचमा कच्ची बाटोले छुट्याएको छ । जाँगरिलाको सुन्दर घर अगाडि जस्तै फूलको बगैंचा छ । हामीहरु धेरैका घर अगाडि नचाहिने झाडीले घिनलाग्दो बनाएको छ । त्यहाँ गेट नजिकै आफ्नो भूगोल जतिमा हजारीका फूल रोपिएका रहेछन् । मैले गार्डलाई भित्र पस्ने अनुमति मागें । पल्लो बिल्डिङको पनि दृश्य आँखामा खिच्ने मौका मिल्यो ।

पर्खाल पनि रंगरोगन गरेको सफाचट रहेछ । भुइँमा अनेक थरीका फलफूलका विरुवाहरु लहलह छन् । तिनले मलपानी पाएरै बढ्ने जाँगर लगाएका होलान् । खेलकूदका अनेक सामग्री रहेछन् । मन्टेश्वरीका बच्चाहरुलाई खेल्न, रमाउन तथा दैनिकी रोचक बनाउन मद्दत गर्छन् । बसमा झोला छुट्यो वा अन्य कारणले बिर्सियो भने सुरक्षित राख्ने गज्जबको ¥याक रहेछ । यो जुत्ता राख्ने हो भनेर गार्डलाई सोधें उहाँले होइन यो त झोलाहरु राख्ने हो भन्नुभयो ।

शौचालय पसेर पिसाव फेरी हलुको भएँ । त्यहाँ सास फेर्दा कुनै किसिमको गन्ध नआएपछि आराम महसुस भयो । घरकै शौचालयमा समेत त्यति स्वच्छ सास फेर्न पाइँदैन । मुतको गन्ध आउँछ । केही दिनअघि घोराहीको प्रतिष्ठित संस्थाको कार्यक्रमको शौचालय सम्झिएँ । मुतले ओसिप लगेको थियो । प्यानको प्वाल मयल बसेर सानो हुँदै गएको थियो । ढोकाको चुकुल लाग्दैनथ्यो । भुईंमा हेरे पिसाव आउँदैन्थ्यो । नाक नथुनेसम्म पिसाव निखार्न सकिदैन्थ्यो । त्यो उपदेश दिने, अरुको आलोचना गर्ने र सुन्दर संसार बनाउने कप्लना गर्ने थलो हो ।

त्यति धेरै अभिभावकसहित ५८ औं बालदिवस मनाइरहेको विद्यालयको शौचालयमा भने कुनै खोट लगाउन सकिन । त्यो दिनमा समेत शौचालय सफा थिए । बच्चाहरुका लागि उपयुक्त वातावरण लाग्यो । एउटा सफा घरमा पाइने सुविधा त्यहाँ थियो । शौचालयबाट बाहिर निस्कने बेला बेसिन नजिकको साबुनदानी भने खाली रहेछ । संयोग त्यस्तै परेको हुनुपर्छ, जे भए पनि त्यसमा साबुन राख्नुपर्छ । शौचालयबाट निस्केपछि बच्चाले साबुन पानीले हात धोएन भने अरु सफाइ व्यर्थ हुन्छ । बच्चालाई टाइफाइड, जन्डिस लगायत समस्या दिसा खाएपछि आउँछ । दिसा खाइने खतरा साबुन पानीले हात नधोएपछि हुन्छ । त्यही कारणले बच्चा विरामी भए पढाइ बर्बाद हुन्छ ।

एउटा कक्षा कोठाको ढोका खुल्यो । अरु ढोका खोल्न गार्डसँग पनि चावी रहेनछ । राउन्ड टेबुल, भित्ताभरी शैक्षिक सामग्री, कक्षा कोठामा कुलरलगायत थिए । सम्पन्न परिवारको वासस्थान भन्दा कम लागेन । सम्भ्रान्त बर्गका घरको भन्दा कमको वातावराण छैन । घरमा जस्तै सरसफाइ पाउँछ । घरको भन्दा बढी खेलकूदका सामग्री र साथी छन् । त्यसैले घर भन्दा विद्यालय जान बच्चा रुचाउँछ । यही कुरा अभिभावक अनन्त आरसीले भन्नुभयो– कर्तव्य पूरा गरेको छ, सबैभन्दा बढी अनुशासन चाहिन्छ । जति पाउनुपर्ने हो मेरो छोराले पाएको छ । म स्थापना कालदेखि पढाउँदै आएको छु । उहाँले २०७६ सालमा स्थापना भएको बताउनुभयो ।

कक्षा ६ देखि १० सम्मका विद्यार्थीले कतिवटा प्रदेश छन् भनेर सोध्दा जवाफ दिन सकेका हुँदैनन् । म पूर्ण सरसफाइ कार्यक्रम लिएर धेरै विद्यालयमा पुगेको छु । दाङमा कतिवटा पालिका छन् भनेर सोध्यो भने पनि धेरै ठाउँमा जानेका थिएनन् । त्यस विद्यालयमा भने केजीका बच्चा जसले तोतेबोली पनि फड्कारेका थिएनन् तिनले फटाफट जवाफ दिए । म्यामले अंग्रेजीमा सोध्नुभयो । उनीहरुले सार्कका सबै देशका राजधानीको नाम भने । आफ्नो घर कुन प्रदेशमा छ भनेर जाने । घोराही, तुलसीपुर र लमहीका प्रमुख उपप्रमुखको नाम भने । यसैगरी राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री हुँदै धेरैजनाको नाम सामूहिकरुपमा एकै स्वरमा भन्न सके । तिनको त्यो क्षमताले मलाई गर्वानुभूति भयो । मेरो छेउमै बस्नुभएका प्याब्सन घोराहीका अध्यक्ष वीरेन्द्र चन्दलाई यो कुरा पाठ्यपुस्तकमा छ र भनी सोधें, उहाँले यो त सिकाउने हो । अतिरिक्त हो भनेर जवाफ दिनुभयो । May be an image of 11 people, people standing and text that says 'राजविद्या घोराही-१5, पडऔं बालमैत्रि समाजको आधार जम्मेवार परिवार, उत्तरदायी सरकार " शाला बाल दिवर २०७९'

धेरै विद्यालयमा शिक्षकहरुले पुस्तकमा लेखिएको मात्रै सिकाउने रहेछन् । दश वर्ष अघिका कुरा मात्रै रटाउने रहेछन् । अतिरिक्त क्रियाकलाप नगराउने विद्यालयले आवश्यकताको ज्ञान दिदैन । चाहिने कुरा सिकाउँदैन । त्यहाँ भने संघीयतापछिको परिवर्तित नक्सा र कार्यकारीहरुका बारेमा ज्ञान दिएइको रहेछ । त्यो देख्दा विद्यालयप्रति मनमनै धन्यवाद दिएँ, सक्रिय विद्यालयप्रति कृतज्ञता जाहेर गरें । त्यहाँका कार्यकारी पदका अगुवाहरुको सक्रियता, काममा जुट्ने शैली गज्जब लाग्यो । त्यसकै फलले छोटो समयमै राजविद्या पाठशालाले अनेक सफलता हासिल गरेको बुझियोे ।

May be an image of 12 people, people standing and indoor

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्