दाङ, १५ जेठ ।
दाङ नारायणपुरका रूपशङ्कर चाैधरीले आफ्नो घरमा सञ्चालित व्यावसायिक सटरकाे भाडा दर घटाएका छन् । घाेराही १० जलाैरा निवासीचाैधरीले व्यवसायीबाट लिदै आएको भाडामा १० प्रतिशतले कम गरेका हुन् ।
नारायणपुर उद्योग वाणिज्य संघको यही जेठ ६ गते बसेको बैठकले आर्थिक मन्दीका कारण व्यावसायीहरु पलायन हुने अवस्था देखिएको भन्दै घरधनीलाई व्यावसाियक भाडा दर घटाउन अनुरोध गरेको थियो । संघको अनुरोधपश्चात चाैधरीले भाडा दर घटाएका हुन् । चाैधरीका ९ वटा व्यावसायिक सटर सञ्चालित रहेका छन् ।
त्यस्तै घाेराही १० निवासी सत्यनारायण चाैधरीले पनि व्यावसायिक भाडादर १०% ले घटाएका छन् । चाैधरीका ८ वटा व्यावसायिक सटर सञ्चालित रहेका छन् ।
चाैधरीद्वयकाे निर्णयप्रति संघले हार्दिक आभार तथा धन्यावाद प्रकट गरेको छ । ‘आर्थिक मन्दीका कारण व्यावसायीहरु पलायन हुने अवस्था आएको छ । कतिपय व्यावसायिक सटर बन्द भइसकेका छन् । व्यापारीलाई बहाल तिर्न नै हम्मेहम्मे परेको छ । यो आर्थिक संकटको बेला सबैभन्दा पहिला व्यापारीहरुलाई कसरी टिकाउने त्यो महत्वपूर्ण कुरा हो । कम्तीमा भाडादरमा केही छुट गराएर भए पनि व्यापारीहरुलाई व्यापारसँग निरन्तर जोड्न सकियो भने कुनै न कुनै दिन सहज अवस्था आउँछ नै । आर्थिक असहज अवस्था रहँदासम्म भाडामा केही छुट गरिदिने संघले गरेको अनुरोधलाई स्वीकार्दै चाैधरीले देखाएको उदारताप्रति संघ हार्दिक आभार प्रकट गर्दै उहाँहरुलाई धन्यावाद दिन चाहन्छ । साथै अन्य घरधनीहरुले पनि भाडादर घटाइदिनुहुनेछ भन्ने आशा राखेका छौँ ।’ संघका अध्यक्ष अभियान बस्नेतले बताए ।