कनिका खबर
असार २१, दाङ ।
पटक पटक आन्तरिक विवादको सकस भोगिरहेको सत्तारुढ दल नेकपा अहिले पनि आन्तरिक कलहमा परेको छ । आन्तरिक कलहले फुटको सँघारमा पुगेको पार्टीका नेतृत्वलाई दोस्रो पुस्ताका नेताको खबरदारीले फुटबाट जोगाएको थियो । यसपालि पनि पार्टीभित्रको विवाद बाहिर छताछुल्ल भएको छ । यद्यपि दोस्रो पुस्ताका नेताले खबरदारी गरिरहेका छन् । केही दिन अघिदेखि आन्तरिक विवाद मिलाउन घनिभूत प्रयास भइरहेको छ ।
नेकपाभित्र जारी विवाद मिलाउनका लागि दुई अध्यक्षबीच आज पनि औपचारिक तथा अनौपचारिक छलफल हुने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफल भएपछि त्यसैका आधारमा भोलि स्थायी कमिटि बैठक बस्ने गरी हिजोको बैठक स्थगन गरिएको हो ।
अध्यक्ष प्रचण्डले आज अर्का अध्यक्ष ओलीसँग छलफलको तयारी भइरहेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज मध्यान्ह्पछि दुबै अध्यक्ष छलफलमा बस्ने तयारी भइरहेको बताएका छन् ।
आज हुने छलफललाई निर्णायक छलफलका रुपमा पार्टी पङ्तिमा लिइएको छ । प्रधानमन्त्री ओली यसअघिका छलफलमा जस्तै आफ्नो शाख जोगाउन सफल हुन्छन् या असफल हुन्छन्, राजनीतिक वृत्तमा बडो अर्थपूर्णरुपमा हेरिएको छ ।