कनिका खबर
असार २२, दाङ ।
आजबाट गर्ने भनिएको निजी विद्यालयको आन्दोलन स्थगित भएको छ । सरकारसँगको वार्ता सकारात्मक रहेको भन्दै निजी विद्यालय सञ्चालकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् । उनीहरूले अनलाइन पढाइ अवरुद्ध नगर्ने निर्णयसमेत गरेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलसँग आइतबार भएको छलफलमा आफ्नो माग पूरा हुने संकेत देखिएको र संवाद जारी रहेकाले आन्दोलन स्थगित गरिएको निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष टिकाराम पुरीले जानकारी दिए ।
लकडाउन अवधिको पनि शुल्क संकलन गर्न नपाएको भन्दै विद्यालय सञ्चालकहरूले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । सरकारले आधिकारिक रुपमा असारबाट मात्रै अनलाइन कक्षा सुरु गरे पनि प्याब्सन र एनप्याब्सनले भने वैशाखदेखिकै शुल्क लिन पाउनुपर्ने माग गरिरहेका छन् ।
यसैबिच अनलाइन, अफलाइन, रेडियो, टेलिभिजन र केवल टिभीमार्फत भइरहेको कक्षा असार २२ गतेदेखि अनिश्चित कालका लागि रोक्ने घोषणा प्याब्सन र एनप्याब्सनले गरेको भए पनि मन्त्रालय, शिक्षक महासंघ, अभिभावक संघ र निजी विद्यालयमा कार्यरत शिक्षकहरूसँगको संयुक्त छलफलपछि प्याब्सनले पढाइ अवरुद्ध नगर्ने निर्णय गरेका हुन् ।