असारको अन्तिम दिनः जहाँ युवा, युवती काफल टिप्न जान्छन् – Kanika Khabar
Sunday, March 16Nepali News Portal

असारको अन्तिम दिनः जहाँ युवा, युवती काफल टिप्न जान्छन्

    मा प्रकाशित

कनिका संवाददाता
असार ३१, जुम्ला
जुम्ला सिँजा गाँउपालिकाका युवती पाटनमा काफल टिप्न गएका छन् । उनीहरु संगै युवा पनि पाटनमा पुग्छन् । एक आपसमा रमाईलो गर्छन् । काफल ल्याएर घर फर्कन्छन् । काफल खाएर असारलाई विदा गर्ने प्रचलन अनुसार हरेक असारको अन्तिम दिन यहाँ काफल टिप्ने गरिन्छ । यो दिन काँफल टिप्ने र खाने दिन हो । हरेक बर्ष असार मसान्तमा काफल खाएर असार महिनालाई विदाई गरिने परम्परा जुम्लामा छ । जुम्लाको क्षेत्र नम्बर (ख) अर्थात सिँजा क्षेत्रमा पर्ने स्थानीय तहमा काफल टिपेर खाने चलन छ । पाटनमा गएर काँफल टिप्ने र खाने चलन पहिले देखि चलि आएको बुढापाकाहरुले बताउने गरेका छन् । युवायुवती वनमा गएर युवतीहरुले काफल टिप्ने, खाने र एकआपसमा रमाइलो गर्ने गर्दछन् । युवतीले टिपेका काफलहरु युवाहरुले मागेर खाने गर्दछन् । काफल टिप्नको लागि प्लाष्टिक र निगालोबाट बुनेका बस्तु लैजाने छ । यो दिनबाट काँफल पनि विस्तारै हराउने गर्दछन् । जुम्लामा जेठ महिनाको १५ गते बाट काफल पाक्न सुरु हुन्छ । यो दिन मनपरेका युवायुवती भेटघाट गर्ने दिनको रुपमा पनि परिचित छन । काँफल टिप्न गएका युवायुवतीले मायाप्रितिका देउडा खेल्ने गर्छन् । यो दिनमा बाबु, आमाको अगाडी देउडा खेल्दा पनि लाज मानिदैन । काफल टिप्न जाँदा छाता, प्लाष्टिक ओढेर जाने गरिन्छ । यो दिनमा अनिवार्य बर्षा हुनुपर्छ भन्ने विश्वास छ । गाईगोरु लेकतिर लैजानु पर्ने मान्यता छ । यो पटक कोराना भाइरसका कारण काफल टिप्न जाँदा मास्क लगाएर बनतीर गएको स्थानीय मानवहादुर बुढाले बताउनुभयो । काफल टिपेर असारको विदाई गरिने उहाँको भनाइ छ । पाटनमै दहि, खिर,दुध,मासु, पुरी, तरकारी खाने चल्ती पनि रहेको छ । आजका दिन परम्परागत पहिरन पटुका चोलोे,धोती लगाउने र गलामा माला पहिरने गरिन्छ । आजको दिनमा घरमा गाई नहुनेले बजारबाट पाउडरको दुध लिएर पनि खीर खानुपर्छ । यतिबेला जङ्गलहरुमा केही चराचुरुङ्गी कराएको आवाजले काँफल पाकेको संकेत गर्छ । काफल पाकेपछि वनजंगल राताम्मे हुन्छ । काफललाई पवित्र फल मानिन्छ । तराईमा जतिजति गर्मीको राप चढ्दै जान्छ । पहाडका जङ्गलमा काफलको रङ्ग पनि गाढा बन्दै जान्छ । काँफल अहिलेको मौसमी फल भएकोले असारको अन्तिम दिन सबैले चाख्नैपर्छ भन्ने मान्यता जुम्लामा रहेको सिँजा गाउँपालिका ६ जोडुका स्थानीय ८६ वर्षिय बीरवहादुर बुढाको भनाई छ । जुम्लामा गाइने थुप्रै गीतमा काँफलको प्रसङ्ग जोडिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्