नेतृत्वलाई निर्देशन, पार्टी सिस्टममा चलाउनुहोस् : नेता ज्ञवाली – Kanika Khabar
Friday, April 26Nepali News Portal

नेतृत्वलाई निर्देशन, पार्टी सिस्टममा चलाउनुहोस् : नेता ज्ञवाली

    मा प्रकाशित

कनिका डेस्क
बैशाख १९, दाङ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चुलिदै गएको विवादले राजनीतिक वृत्तमा अब नकपाको आकार कस्तो बन्ने हो भन्ने बहस चलाएको छ । बुधबार बसेको नेकपाको सचिवालय बैठकले फरक तरङ्ग लिएपछि नेकपाभित्रको विवाद प्रधानमन्त्री ओलीले फ्याँकेको ‘ग्रिन कार्ड’ ले नै सन्तुलनमा ल्याउँछ या विवादलाई झनै तरल बनाएर लैजान्छ भन्ने अड्कलबाजी गर्न थालिएको छ ।

भोलि (शनिबार) नेकपाको सचिवालयको बैठकलाई राजनीतिक वृत्तको केन्द्रविन्दुको रुपमा हेरिएको छ । नेकपाभित्र देखिएको गुटउपुटका ढिस्काहरु समानान्तर रुपमा अगाडि बढ्छन् या समथर बन्छन् भन्ने सन्दर्भमा पनि भोलिको बैठक अर्थपूर्ण रहेको छ ।

सचिवालय बैठकको पूर्व सन्ध्यामा नेकपामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेट भएको छ । भेटमा यी दुई नेता बाहेक स्थायी कमिटीका सदस्यहरु युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, रधुजी पन्त, गोकर्ण विष्ट, सुरेन्द्र पान्डे, घनश्याम भुषाल, मुकुन्द न्यौपाने, बेदुराम भुषाल लगायतको उपस्थिति थियो ।

वरिष्ठ नेता नेपालको निवास कोटेश्वरमा भएको छलफलमा पार्टीलाई सुदृढ बनाएर अगाडि बढ्न आग्रह गरिएको थियो । सचिवालय बैठकपश्चात मिडियामा आएका थुप्रै कुराहरुका बारेमा चर्चा हुनुका साथै वैठकमा भएका यथार्थ कुराका बारेमा पनि छलफल भएको कनिका खबरसँगको कुराकानीमा स्थायी कमिटीका सदस्य युवराज ज्ञवालीले बताए । कनिकासँगको टेलिफोन वार्तामा नेता ज्ञवालीले भने, ‘‘ आजको भेटवार्तामा हामीले नेताद्वयलाई सचिवालयको बैठकले स्थायी कमिटीको बैठक तय गर्नु पर्ने माग गरेका हौँ, सबै कुरा स्थायी कमिटीमा छलफल हुनु प¥यो त्यहाँबाट निर्णय हुनुपर्छ । यो वैधाविक व्यवस्था हो, यो लोकतान्त्रिक तरिका हो । सबै सदस्यहरुले कमिटीमा आफ्ना कुराहरु राख्ने, व्यापक रुपमा छलफल गर्ने, सकभर त्यही छलफलबाट निर्णय पारित गराउने नभएमा अनुकुल बहुमतका आधारमा निर्णय गर्ने र सबै कार्यकर्ताले त्यो निर्णय मानेर हिँड्ने यो नै हाम्रो लोकतान्त्रिक पद्धति हो, पार्टी यसरी नै चल्दै आएको छ र यसरी नै चल्नुपर्छ ।’’ नेता ज्ञवालीले थपे, ‘‘ लोकतान्त्रिक पद्धतिलाई लत्याएर व्यक्ति —व्यक्ति भेटेर आपसी लेनदेन गरेर कुनै पनि समस्याको समाधान हुँदैन । पार्टी संस्थागत निर्णयमा चल्नुपर्छ, व्यक्तिगत निर्णयमा होइन । कुनै व्यक्तिको आदेश र निर्णयमा होइन कि पार्टीको निर्णयको आधारमा पार्टी चलाउने हो, लोकतान्त्रिक प्रणालीको आधारमा पार्टी चल्नुपर्छ भन्ने कुरामा हामीले जोड दिएका छौँ ।’’

बुधवारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले राखेको प्रस्तावका बारेमा भएको छलफलबारे जानकारी दिदै नेता ज्ञवालीले भने, ‘‘बुधवारको सचिवालयको बैठकमा प्रधानमन्त्रीले भनिसक्नुभएको छ, त्यो कुरालाई भोलिको बैठकमा निर्णय गर्नु प¥यो, त्यो अझै निर्णयको रुपमा आएको छैन, प्रधानमन्त्रीको प्रस्ताव मात्र हो । भोलिको बैठकमा प्रधानमन्त्रीले पदबाट राजीनामा दिने र बामदेव गौतमलाई प्रधानमन्त्री बनाउनका लागि प्रक्रिया अगाडि थाल्ने भन्ने प्रस्तावलाई निर्णय गरेर स्थायी कमिटीमा ल्याउनुप¥यो, त्यसलाई स्थायी कमिटीले कुन ढङ्गबाट अगाडि बढ्ने भनेर फाइनल गर्दछ । त्यसलाई स्थायी कमिटीले निर्णय गर्न पनि सक्छ खण्डन गर्न पनि सक्छ । त्यो प्रस्तावलाई केन्द्रीय कमिटीका पनि स्वीकार्य हुनुपर्दछ । यो सम्पूर्ण अधिकार केन्दीय कमिटीलाई छ । त्यसैले हामीले सिस्टममा आउनुहोस् र पार्टी सिस्टमबाट चलाऔँ भनेर भनेका हौँ ।’’

बुधबार बिहान प्रधानमन्त्री ओलीले बालुवाटारमा चलाएको हस्ताक्षर अभियानका सन्दर्भमा नेता ज्ञवालीले भने, ‘‘हस्ताक्षर अभियानमा सांसदलाई दवावमा परेको कुरा र सांसद अफ्ठ्यारोमा परेका कुरा पनि हामीले छलफलमा लिएका हौँ, यो के हो र किन चलेको हो भनेर पनि कुरा राख्यौँ । नेतृत्वले त यस्ता कार्य भएका छन् भने नगर्न निर्देशन दिएर यस्ता कार्यलाई बन्द पो गराउने हो । नेतृत्वले आफै सुरु गरेपछि अरुले पनि त्यस्तो कार्यको सुरु गर्छन् अनि नेतृत्व आफै अफ्ठ्यारोमा पर्दछ । यस्तो कार्यले अराजकता सिर्जना गर्ने काम गर्दछ, हस्ताक्षर अभियानबाट नेतृत्वले अराजकता सिर्जना गर्ने काम ग¥यो ।’’

आजको भेटवार्तामा प्रचण्ड र नेपाललाई स्थायी कमिटीको वैठक जसरी पनि बोलाउन माग गरेको बताउँदै ज्ञवालीले भने, ‘‘हामीले स्थायी कमिटीको माग गरेका छौँ, जसरी पनि स्थायी कमिटीको बैठक बोलाउनुहोस् सबै कुराको छलफल कमिटीको बैठकमा हुन्छ ।’’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्