भुईँमान्छेहरु – Kanika Khabar
Friday, May 15Nepali News Portal

भुईँमान्छेहरु

    मा प्रकाशित

ए भुईँमान्छेहरु हो
हामीमाथि कालो बादल मडारिएको बेला
तिमी, सपनाहरुको व्यापारी
आयौ हामीमाझ आश्वासनका पोका
बोकेर
कालो बादल हटाई
समृद्धिका तारा फूलहरुले
जीवन हाम्रो रंगाइदिने मिठा आश्वासनहरु
लिएर हाम्रो काँधमाथि चढाई तिमीलाई
बादलमाथि पुर्यायौँ
भोको पेट, नाङ्गो खुट्टा, शिथिल शरीर
तथापि, थापीरह्यौँ यी काँधहरु तिम्रा लागि
तर बिडम्बना
कालो बादलभित्र लुकी तिमी
षडयन्त्रको तानाबाना बुन्न थाल्यौ
बादल बादल फुटाएर, जुधाएर
हाम्रा टाउका माथि चिर्कोको प्रहार
गरिरह्यौ निरन्तर निरन्तर
ताराहरु टिपेर खाईरहँदा तिमीले त्यहाँ
गरिवीले हामीलाई थिचिरह्यो
हाम्रा समृद्धिका सपनाहरुले भरिएका
बादलका बेलुनहरु झर्न नपाउँदै धरतीमा
विश्वासघातका तिरहरुले लगाइरह्यौ
निशाना
ए हाम्रा सपनाका शिकारीहरु
तिमीलाई यी काँधहरुमा बोक्दा बोक्दा
आजित भैसक्यौँ, शिथिल भैसक्यौँ
तिम्रो भारले थिचिएर
विचरा हामी भुइँमा लड्दा
होस गर, साथमै लड्ने छौ तिमी पनि
बजारिँदा भुईँमा तिमी
तिमीलाई हात र साथ दिनलाई
हामी निकै कमजोर भैसकेका हुनेछौँ
हामी त आफ्नै खुट्टामा उठ्ने छौँ, विस्तारै
हाम्रो काँधमा चढ्न बानी परेका तिमी
ए भुईँमान्छे हो
तिमी भुईँ मै तड्पिरहने छौ
अनि कोही आइसकेको हुनेछ
जसले आफ्नै बर्कतको पंखा लगाई
बादल पारीको उडान भरेर
समृद्धिका ताराहरु टिप्ने छ, हाम्रा लागि
तिमी भुईँमान्छे भुईँकै
धुलोमा विलिन हुनेछौ

********

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्