मलको अभावले उत्पादन घट्ने चिन्तामा किसान – Kanika Khabar
Friday, April 26Nepali News Portal

मलको अभावले उत्पादन घट्ने चिन्तामा किसान

    मा प्रकाशित

कनिका खबर
साउन २३, प्युठान
कहिले फौजी किरा त कहिले सलह किराको प्रकोपबाट नोक्सानी व्यहोर्दै आएका किसानले यतिबेला भने मलको अभाव झेल्नु परेको छ । धान गोड्ने समयमा युरिया मल हाल्न नपाएपछि प्युठानका किसान धान उत्पादन घट्ने चिन्तामा छन् । प्यूठान नगरपालिका ७ टिकुरीका रामप्रसाद पोखरेलले १० रोपनी जग्गामा धान रोप्नु भएको छ । गोड्ने बेलाको धानमा युरिया मल हाल्नुपर्ने भएपनि यसपटक बजारमा मल अभाव छ । देशभरका किसानले धान रोप्ने बेलामै मल पाएका थिएनन् । अहिले पनि मल अभाव उस्तै छ । सरकारले टेन्डर प्रक्रिया अघि बढाउन ढिलो गर्दा समयमै मल आपूर्ति हुन सकेन । सरकारको अलमलका कारण मल नपाए पछि किसानलाई भने लगाएको धानबाली पराल बनाएर काट्नुपर्ने अवस्था आउने होकि भन्ने चिन्ताले पिरोल्न थालेको छ । प्यूठान नगरपालिका–८, खप्रेङखोलाका किसान बिपना भण्डारी पनि यस्तै चिन्तामा हुनुहुन्छ ।

जिल्लामा कृषि समाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन भैरहवाबाट मल ल्याएर शहकारीहरूले बिक्री गर्दै आएका छन् । अहिले दैनिकजसो रासायनिक मलको लागि जिल्ला सदरमुकाम र नजिकको शहकारीमा धाउनुपर्ने बाध्यता किसानलाई छ । धान खेतीमा युरिया राख्न भन्दै खरिदका लागि आएका किसानलाई रित्तो हात फर्काउनु परेको श्रमिक कृषि शहकारी संस्थाका व्यवस्थापक कृष्णप्रसाद पन्थी बताउनुहुन्छ । सरकारसँग युरिया र डीएपी मलको पर्याप्त मौज्दात नहुँदा अभाव सिर्जना भएको हो । असारमा मल पर्याप्त नहुने भएपछि सरकारले ७१ हजार ५ सय मेट्रिकटन युरिया र ५० हजार टन डीएपी खरिद प्रक्रिया अघि बढाएको थियो । लकडाउनका कारण एक लाख मेट्रिक टन मल भारतको बन्दरगाहमा अड्किएको कृषि विकास मन्त्रालयले जनाएको छ । सोही कारण मल अभाव भएको, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, धान जोन ईकाई प्यूठानका निमित्त कार्यालय प्रमुख सुमन खनालले बताउनुभयो । साउनभरीमा मल आइपुग्ने सरकारी अधिकारीहरूले बताइरहँदा किसान भने अझै विश्वस्त हुन सकेका छैनन् । सरकारकै भनाइ अनुसार पनि किसानले मागे जति मल पाउन अझै करिब एक महिना लाग्ने देखिन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्