दाङमा रातिको बन्द यथावत्, ११ गतेदेखि सवारी साधनमा जोडबिजोड लागू हुने – Kanika Khabar
Friday, April 26Nepali News Portal

दाङमा रातिको बन्द यथावत्, ११ गतेदेखि सवारी साधनमा जोडबिजोड लागू हुने

    मा प्रकाशित

दाङ, ९ भदौ ।

कोभिडको बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा रातिमा जारी निषेधाज्ञा कायमै हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङमा मंगलबार बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले साँझ ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि निषेधाज्ञालाई कायमै राख्ने निर्णय गरेको हो । बैठकले रातको समयमा बजार, यातायात, हिँड्डुलमा समेत पूर्णरुपले बन्देज लगाउने, दिउँसो पूर्णरुपले सुरक्षा मापदण्ड अपनाएर बजार, यातायात, कार्यालयहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा गाउँपालिका प्रमुखहरु, सुरक्षा निकायमा प्रमुखहरु, विषयगत कार्यालयहरु, उद्योग वाणिज्य संघ, च्याम्वर, नेपाल पत्रकार महासंघलगायतको उपस्थितिमा बसेको बैठकले भदौ ११ गतेदेखि जिल्लाभर लागू हुने गरी निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने, बजारलगायतका स्थानमा स्वास्थ्य मापदण्ड पूरा नगर्नेलाई नगद तथा अन्य कारबाही गर्ने निर्णय भएको बैठकमा सहभागी नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनले जानकारी दिएका छन् ।

बैठकले बजारलाई व्यवस्थित गर्नका लागि व्यवसायी तथा ग्राहक सबैले अनिवार्य स्वास्थ्य मापदण्ड प्रयोग गर्ने, छेकबार बनाउने, प्रचार–प्रसारका लागि माइकिङ, सूचना सार्वजनिक गर्ने निर्णय गरेको छ । बैठकले सबै गाउँपालिकामा क्वारेन्टाइन, आइसोलेसनको व्यवस्था गर्ने, कन्ट्रयाक ट्रेसिङ, चेकजाँच बढाउने निर्णय गरेको छ । बैठकले बढी भीडभाड हुने बैंकिङ क्षेत्र, मालपोतलगायतका कार्यालयहरुमा हुने काम–कारबाही व्यवस्थित गर्ने, सबै कार्यालयमा अनिवार्य माक्स प्रयोग गरेर मात्र सेवाग्राहीहरुको प्रवेश व्यवस्था मिलाउनेलगायतका निर्णय गरेको छ ।

बैठकमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहागरपालिकाका उपप्रमुख माया आचार्य, लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, बबई गाउँपालिकाका प्रमुख भुवनेश्वर पौडेल, दंगीशरण गाउँपालिका प्रमुख भागीराम चौधरीलगायतकाले आ–आफ्ना सुझाव राखेका थिए । यस विषयमा प्रमुख जल्ला अधिकारी गोविन्द प्रसाद रिजालले दाङलाई कोभिडबाट मुक्त राख्नका लागि राति पूर्णरुपले बन्देज र दिउँसो नियन्त्रणमुखी उपायको खोजी गरिएको जानकारी दिए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्