प्रिय
तिम्रा लागि गुलावहरु टिप्न लाग्दा
बिझेका काँडाका घाउहरु
बेला बेलामा अझै चस्किरहन्छन्
अनि मलाई झस्काईरहन्छन्
तिम्रो पिरती पोखिएका
ति कागजका टुक्राहरुले
तिम्रा ति प्रेमपत्रहरुका डुङ्गा बनाएर
मेरो मनको शान्त समुन्द्रमा
शयर गराईदिएँ
मिठा स्मृतिका छालहरु सँगै
लहरिँदै लहरिँदै तैरिरहन्छ
अनि क्षण भरमै उचालिन्छन्
भक्कानिएका भावनाका ज्वारभाटाहरु
जसले हुत्याइदिन्छ किनारामा
खियाउने पाता नभएको कागजी डुङ्गालाई
त्यो किनारा जहाँ कुनैबेला ठडिएको थियो
तिम्रो र मेरो पिरती मौलाएको
बालुवाको भव्य सुन्दर शहर
त्यो गुमनाम शहरका
सुनसान गल्लीहरूमा
एकछिन एक्लै टहलिएँ, भड्किएँ अनि भौतारिएँ
तिम्रा यादहरुका बुई चढेर
तिम्रो स्पर्श महसुस गरेँ
मेरो मनको शान्त समुन्द्रमा
हठात् आइदियो तिम्रो बिश्वाघातको सुनामी
जहाँ ढल्यो हाम्रो सुन्दर शहर
अनि उत्तानियो त्यो कागजी डुङ्गा
यत्तिकैमा टुङगियो मेरो स्मृतिको यात्रा
अनि तिमी प्रतिका मेरा भावनाहरु
सदाका लागि विलीन भए ति बालुवामा
***********