तत्पर छन्
अर्जुन बन्न
आयुधका पुजारीहरु
र त
देखिन्छन् आजकल अति प्रफुल्ल
जब कि
उभिएका छन् उनीहरु
उत्खनित आलो चिहानमाथि !
कति गारो छ
निरन्तर रोमाञ्चित भैरहनु
सैनजस्तो घाउ पालेर
युद्धकालीन अपराधबोधको
भय र सन्त्रास छ हृदयमा
कोटीकोटी निरपराध कर्णहरुको,
कतै
पधेंरामा भेटिन्छन्
निधारको घाउमा हाल्न
युवतीसित सिन्दुर मागिरहेका मणिविहीनहरु,
कतै देखिन्छन्
अभिशप्त अश्वत्थामाझैं नूर गिराएर अतीत नियालिरहेका
विक्षिप्तहरु
कतै
एक्लो अभिमन्युलाई
तड्पाई तड्पाई मारेको
स्मृतिले
अविघातित भएर
चुँडिएको पुच्छरर्झें माउसुलीको
जमिनमा फडफडाइरहेका !
तिम्रा बोझ बोकेका शब्दहरु
फेरि कहिले
भौंतारिन्छन्
मायावी कृष्णको खोजीमा
र चाहन्छन् शक्तिको
निरन्तर निर्बिघ्न आशीर्वाद !
हरेक वाक्यपछि चाहिन्छ पूर्णविराम तिनलाई
र त
दौडन्छन् सुदर्शन चक्रको खोजीमा
मथुरा र द्वारकातिर
उता
निर्देशन दिन तयार छन् कृष्ण
निदाएको निहुँ पारेर
अनि अर्जुनहरु
सुन्छन् मन्त्र हतार हतार
‘जित्यौ भने पृथ्वीमा राज्य, हार्यौ भने स्वर्गको वास १ तसर्थ लड !’
ढोग्छन् पटकपटक रातो गातो भएको
‘श्रीमद्भागवद्गीता’लाई ।
तर अर्जुन !
थाहा छैन तिमीलाई
खुकुलिइसकेको छ तिम्रो गाण्डीव अचेल
संकुचित छ तिम्रो दर्शन पनि
अत्ति नै कर्कश-कर्कश भैसक्यो
तिम्रो ‘ब्लूजु’को कृत्रिम संगीत
र सबैभन्दा बढी
कति निर्दोष मान्छेको
रगत र आँसुले गिलो भएको छ
तिमी हिंड्ने
हर दिशाको बाटो
भन अर्जुन !
कुन भुईंमा टेक्छौ अबका पाइला ?