कविता : बलात्कारी – Kanika Khabar
Friday, January 23Nepali News Portal

कविता : बलात्कारी

    मा प्रकाशित

मन्दिरको अगाडि
प्रहरी चौकीकै सामुन्ने
मृत फेला पर्यो
सुकना सदाको अर्धनग्न शरीर

सरकारले गिरफ्तार गर्यो एकवाल पासवानलाई
उसले रुँदै भन्यो-
“सरखार !
हमते रिक्साबाला आदमी
ओकरे लेल प्रेमपत्र लिखके
इन्तजारमे छेलु बरिसौँसे”

सरकारले घेरा हाल्यो गाउँलाई
गाउँले बयान दियो-
“हजुर!
सुकना कलाकार थिइ
उसको आवाजमा जादु थियो
गायिका बन्छु भन्दै
सुन्य बनाएर गएकी थिइ सहर”

सरकारले समायो सहरलाई
सहरले बयान दियो-
“श्रीमान्!
जेब्रा झोलामा गीतको कापी बोकेर
बास खोज्दै भौतारिन्थी दिनभरि
साँझ आएर उ त्यो गल्लीमा
धुमधुम्ती एक्लै बस्थी”

सरकारले पक्राउ पुर्जी थमायो गल्लीलाई
गल्लीले बयान दियो-
“देहाती माटोले जन्माएको
जून थिइ सुकना
क्रूर नंग्राले चिथोरेर
भुइमा खसाली दियो”
त्यसपछि बन्द भयो
एउटा मुल्तबी मुद्दा

आज फेरि सुनियो
अदालतकै आगनमा
झुन्डिरहेको छ
फुलमाया बिकेको शरीर

यसपटक सुसाइट नोट फेला पर्यो
नोटमा लेखिएको छ बलात्कारीको नाम
‘राज्य’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्