मा प्रकाशित
हाँस्नेले भन्दा धरतीलाई रुनेले भिजायो
झरेको तारा उठेन तर रोशनीछ फिँजायो ।
हाँसेका मान्छे थोरै छन् यहाँ रोएका धेरै छन्
रोएको हेर्न चाहनेहरू आफन्त मेरै छन् ।
त्यसैले होला धर्तीमा धेरै पानी नै पानी छ
आँसुको भाषा नबुझी हाँस्ने ठूलाको बानी छ ।
जूनका आँसु नपिए फूल कहिल्यै हाँस्तैनन्
रुनुको मजा नभए माया कसैले गाँस्तैनन् ।
मीराले पोखिन् आँसुको अर्घ हरिमै हराइन्
सतीले देह आगोमा राखी सुकिलो गराइन् ।
आँसुले दिन्छ पौरखीलाई कर्मको पखेटा
उसैले गर्छ रजाइँ सधैँ उही हो विजेता ।।