कसरी पोखुँ म यो मनको वह
रक्तिम मसीले
मेरो कलमको निष्ठुरी निवद्वारा
यो सेतो कञ्चन कागजमाथि
मेरो कलमको तिखो टुप्पोले
कोमल कागजमाथि जबर्जस्ती चिथोर्दै
पीडाहरु कागजमाथि स्खलन गर्दा
कलम चरमोत्कर्षमा रमाउँछ
तर
मनभित्रको पीडा भने बढ्दै जान्छ
मनको पीडा पोख्नलाई
जति धेरै लेख्यो
उति नै यो मन दुख्छ
यो मनले लेखेर राहत खोज्छ
तर झनै पीडाहरु बल्झिन्छन्
अनि मनको मुक्ति टाढिन्छ
कागजको कुमारित्व भंग गर्दै
कलमको तृष्णा तृप्त हुन्छ
कागज धुजा धुजा हुन्छ
मन पनि चिरा चिरा पर्छ
पीडै पीडाको भारी बोकेर
अनि बिभाजित मन लिएर
लेख्नु र नलेख्नुको दोसाँधमा बस्छु
मुक्तिको झिनो आशा बोकेर
मनभरी पीडाहरु थोपरेर
यो कलम चलाईराखूँ कि
वा सदा अन्जान अज्ञानी नै भैराखूँ
तर मलाई थाहा छ
मर्दाङ्गिनिले मात्तिएको मेरो कलमले
मेरो पिछा कहिल्यै छाड्ने छैन
साईनाइडको क्याप्सुल बनेर
यो मनको घाँटीमा झुन्डिरहने छ
मा प्रकाशित