मेरा बाले निरंकुश पञ्चायतकालमा
कोइलाबासबाट नुन बोकेको
त्यो खद्दरको झोला
मेरो झुपडीको दलानमा झुन्डिएको छ
मेरो भान्छाको चिसो चुल्होमा
राजाको गाईको गोबरको गुईँठा पनि
गणतन्त्रको घाम राम्ररी लाग्न नपाउँदा
सुक्न नपाई काँचै छ
ढलेको रुखको दाउरा पनि काँचै छ
जति ठोस्दा पनि चुल्होमा आगो बल्दैन
काँचो गुईठा र दाउराको कालो धुवाँले
ध्वाँसो लागेको त्यो झोला
कोईलाबासको नुनले हो की
मेरा बा को पसिनाले हो, नुनिलो छ
प्रजातन्त्रको सुगन्धित साबुनले मिचि मिचि
पञ्चायतको ध्वाँसो र नुन पखालेँ
अनि त्यही झोला बोकेर झोले भई
हिँडे म गणतन्त्रको गन्तब्यहिन यात्रामा
सर्वहारा म झोले
पुँजीवादको जाडो छल्न घामलाई रोजेँ
झोलाभरी फूल र दक्षिणा बोकी
नास्तिकले पनि नित्य सूर्य नमस्कार गरेँ
रोज सूर्यलाई अर्घ दिएँ
तर मेरो चाकडीले सूर्य पनि मातेछ क्यारे
पञ्चायती गुईठाको कालो धुवाँले
तहसनहस पारेको ओजोन तहका छिद्रहरुबाट
आफ्ना बिषालु विकिरणहरु तस्करी गराएर
सूर्यले मलाई पोल्नु सम्म पोल्यो
अनि घात भयो म झोलेलाई
मेरो यात्रामा सूर्य चर्को हुँदा
सुकेका रुखको ओत लागेँ
मेरो झोलाभरी मलजल बोकेर
रुखलाई हुर्काएँ बढाएँ, हराभरा बनाएँ
रुखमा फूल फूल्यो, फल पाक्यो
फल झर्ला र खाउँला भन्ने आशामा
चौतारीमा आँ गरेर झोला थापेर बसेँ
फल खाएर अघाएको बाठो कौवाले
मेरो झोलाभरी बिष्ठ्यायो
फेरी पनि घात भयो म झोलेलाई
झोला भरी दानापानी घाँस बोकेर
गाईको गोठालो नगएको पनि होइन
तर झोलामा दुध दुहुने बेलामा
गाईको लात खाएर ढलियो
केही शीप नचल्दा मुर्मुरिएर
झोलाभरी बमबारुद बोकेर
जंगल पनि नपसेको होईन
तर अगुवाले आफ्नो झोला भरे
आफ्नो चाहीँ झोलाको बम पड्किएर
आफै क्षतबिक्षत भइयो, झोलै च्यातियो
पटक पटक घात भयो म झोलेलाई
म सोझो झोले
जालझेल गर्न जानिएन
त्यसैले मेरो झोला कहिल्यै भरिएन
पञ्चायतको नुन बोक्ने झोलामा
गणतन्त्रको सुन बोक्ने सपना देखेर
झोला बोकी चोक्टा खान हिँडेको
तर झोलमा डुबेर अलपत्र परेको
म झोले