धेरै महिनाको अथक मेहनत र साधनाबाट प्राप्त उपलब्धि हो यो : श्रेष्ठ – Kanika Khabar
Friday, April 26Nepali News Portal

धेरै महिनाको अथक मेहनत र साधनाबाट प्राप्त उपलब्धि हो यो : श्रेष्ठ

    मा प्रकाशित

[सन्तोष श्रेष्ठ नेपाली साङ्गीतिक क्षेत्रमा परिचित नाम हो । नेपाली लोक गीतबाट आफ्नो साङ्गीतिक यात्राको प्रारम्भ गरेका श्रेष्ठ यतिबेला सुगम सङ्गीतमा जमेका सङ्गीतकार हुन् । यतिबेला सङ्गीतकार श्रेष्ठले दाङको मात्र होइन नेपाली सङ्गीतको मात्र पनि होइन सिङ्गो देशको नै नाम उँचो बनाउँदै गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् ।
उनले एउटै गीतलाई अन्तर्राष्ट्रिय ११ भाषामा संगीत गरेका कारण गिनीज बुक अफ द वल्र्ड रेकर्डमा नाम राख्न सफल भएका हुन् । काठमाडौमा बसेर संगीत कर्मलाई नै व्यवसाय वनाएका श्रेष्ठले डिआर उपाध्यायको शब्दमा नेपाली, हिन्दी, चाइनिज, जापानी, अङ्ग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेन, इटालियन, जर्मन, थाई गरी १२ भाषामा गीत रेकर्डिङ गरिएको थियो । गीतमा सागर अधिकारी, प्रकाश तिमल्सिना र डा. डि आर उपाध्यायको स्वर छ । यो गीतलाई देवेन्द्र नेवाले एरेञ्ज गरेका हुन् । प्रस्तुत विश्व कीर्तिमानी राखेका सङ्गीतकार सन्तोष श्रेष्ठसँग कनिका टिमले गरेको कुराकानीको सरासंक्षेप ।]

नेपाली संगीतको माध्यमबाट गिनिज बुकमा पुग्नु भएको छ, कस्तो महसुस भइरहेको छ ?
गिनिज बुक अफ वल्ड रेकर्ड एउटा विभिन्न विश्व कीर्तिमानी काम गर्नेहरुको रेकर्ड राख्ने प्रतिष्ठित संस्था हो । नेपाली सङ्गीतमा निरन्तर बीस वर्षदेखि काम गर्दागर्दै विश्व कीर्तिमान कायम हुने साङ्गीतिक काम गरियो । गिनिज वल्ड रेकर्डले विश्व कीर्तिमानी सङ्गीतकारको उपाधि सहितको प्रमाणपत्र प्रदान गरेको छ । यो कामले आफूलाई अत्यन्तै गौरवान्वित र जिम्मेवारी थपिएको महसुस भइरहेको छ । नेपाली सङ्गीतलाई विभिन्न माध्यमबाट विश्वव्यापीकरणको बाटोमा र्डोयाउन सकियो भने नेपाली सङ्गीतलाई विश्वव्यापी बनाउन सकिँदो रैछ भन्ने महसुस गरेको छु ।

गिनिज बुककै लागि तयार गरिएको गीत थियो त ?
. साङ्गीतिक यात्राको सिलसिलामा पछिल्लो समयमा विभिन्न विषयमा फरकफरक खालका प्रयोग गर्दै गर्दा यो विषयमा पनि एउटा सोच बनाएर नै अगाडि बढिएको हो । नेपाली सङ्गीतलाई विश्वव्यापी बनाउने सिलसिलामा एउटा विभिन्न अन्तर्राष्ट्रिय भाषाको गीत बनाउने योजना बनेपछि गिनिज वल्ड रेकर्डको अफिसियल गाइड लाइन अनुसारको प्रक्रिया अवलम्बन गर्दै यो गीतको तयारी गरिएको थियोे ।

यति धेरै भाषाका लागि संगीत गर्नु मामुली कुरा त थिएन होला नि ?
. आफूले बोलीचालीमा समेत प्रयोग नगरिएका भाषाका गीतमा सङ्गीत गर्नु र गायनका माध्यमबाट पूर्णता दिनु त्यति मामुली कुरा त थिएन । विश्वव्यापी रूपमा बोलिने बाह्र भाषालाई गीतमा समेटिएको छ । बाह्र भाषामा तयार गरिएको गीतमा साङ्गीतिक सिद्धान्त अनुसार बाह्र स्केलमा सङ्गीत गरेर गाउन लगाइएको छ । यो प्राविधिक हिसाबले बाह्र भाषामा बाह्र स्केलमा सुमधुर गीत बनाउने काम विश्वकै चुनौतीपूर्ण साङ्गीतिक सिर्जनात्मक काम हो । यसैको परिणामस्वरूप विश्व कीर्तिमानीको उपाधि सहितको प्रमाणपत्र प्राप्त भएको छ ।

भाषाको ज्ञान र ती भाषामा संगीत सिर्जना गर्दा कत्तिको सकस सामना गर्नु पर्यो ?
. सङ्गीत मात्रै एउटा विश्वव्यापी भाषा हो । सङ्गीतसँग सँगसँगै भाषा पनि जोडिएको हुन्छ । आफूले बोलीचालीमामा प्रयोग नगरेका भाषालाई सङ्गीतबद्ध गर्नु स्वभाविक काम हुँदै होइन । पहिलो कुरा त बोलीचालीमा उच्चारणको समस्या हुन्छ भने अझ त्यसमा गायनमा स्पष्ट सुर तालमा गीत तयार गर्नु अग्लो पहाड चढेको जस्तै हो । यो सानोतिनो मेहनत र थोरै समयमा तयार हुने काम होइन । धेरै महिनाको अथक मेहनत र साधनाबाट प्राप्त उपलब्धि हो ।
अब जिम्मेवारी बढ्यो, आफ्नो रेकर्ड सुरक्षित राख्ने योजना तय भए त ?
. मैले अन्य गीतसङ्गीतको काममा पनि आफ्नो जिम्मेवारी बढिरहेको महसुस गर्दै आइरहेको छु । अहिलेसम्मको काम नेपाली भाषामा विशेष गरी नेपाली श्रोताको लागि तयार गरिन्थ्यो भने यो काम सफल भएपछि अझैँ बढी जिम्मेवारी बढेको महसुस त भइरहेकै छ । यसको गरिमा कायम राख्दै अगाडि बढ्ने कुरामा म सचेत रहनेछु । स्रष्टाहरुले सिर्जना गरेर मात्रै हुँदैन । आफ्ना सिर्जनालाई समयानुकूल रेकर्ड सुरक्षित राख्न अत्यन्तै आवश्यक छ । आफ्नो रेकर्ड बिना कुनै प्रक्रिया अगाडि बढाउन सकिदैन । यो योजनामा म लागिरहेको छु ।
अबको सांगीतिक यात्रा कसरी अगाडि बढ्छ त ?
. अहिलेसम्मको साङ्गीतिक यात्रा जसरी अगाडि बढिरहेको थियोे त्यो भन्दा अत्यन्तै फरक ढङ्गबाट त अगाडि बढ्दैन । यो विश्व कीर्तिमान कायम गर्नु र प्रमाणपत्र प्राप्त गर्नु एउटा छुट्टै प्रक्रिया हो । अन्य मैले व्यावसायिक ढङ्गले जसरी आफूलाई अगाडि बढाइरहेको थिएँ त्यसमा कुनै निष्क्रियता जोडिदैन बरु अझै सक्रियता थपिएर आउँछ । अग्रजको अनुभव र अनुजको उर्जालाई एउटै माला बनाएर अगाडि बढ्दै नेपाली सङ्गीतको विकास र विस्तारमा निरन्तर लागि रहने सोचाइमा छु ।

दर्शक, श्रोता तथा सांगीतिक मनका लागि केही भन्नू छ ?
. मेरो साङ्गीतिक यात्राको दुई दशकभन्दा लामो यात्रामा दर्शक, श्रोता र साङ्गीतिक शुभ चिन्तकहरुको माया र विश्वास अत्यन्तै गहिरो तरिकाले जोडिएको महसुस गरेको छु । साङ्गीतिक यात्रामा प्रत्येक दिन फरकफरक शैलीका सिर्जनाको चाहना जोडिएको हुन्छ । यसको लागि गहिरो अध्ययन र साधनाको आवश्यकता हुन्छ । सबैबाट प्राप्त माया र विश्वासलाई घट्न नदिनको लागि सदैव साधनारत छु ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्