कविता : तथागत, मलाई उत्खनन गर ! – Kanika Khabar
Wednesday, June 24Nepali News Portal

कविता : तथागत, मलाई उत्खनन गर !

    मा प्रकाशित

तथागत,
मलाई उत्खनन गर ।

म त्यही सुजाता हुँ
जसलाई तिमीले पहिलो पटक
आफ्ना सघन उदासीहरूमा भेटेका थियौ
त्यति बेला
हाड र छालाको थुप्रोमा आफैलाई रुपान्तरण गरेर
हरेसको अन्तिम बुँद पिउनुअगाडि
टक्क अडिएका थिए तिम्रा आँखाहरू मलाई देखेर ।।।
मान्छेहरू भन्छन्
तिमीले सुजाताले बनाएको खिर खायौ
र, त्यही खिरको भरमा सम्बोधि प्राप्त गर्‍यौ तिमीले ।

तथागत,
म सोध्न चाहन्छु तिमीलाई
के एक बटुको खिरमा
मान्छेको कायादेखि प्रज्ञासम्म बदल्न सक्ने सामर्थ्य हुन्छ र ?
के एक बटुको खिरमा
मान्छेलाई भगवान्मा बदल्न सक्ने शक्ति हुन्छ र ?

तथागत,
तिमीभित्र पनि पुरिएको छ एउटा सत्य
मभित्र पनि पुरिएको छ एउटा सत्य
त्यो खिर थिएन
मैले तिमीलाई खुवाएको
पहिलो नजरमै
पहिलो स्वीकृति पस्केर गरिएको एकाकार थियो
त्यो खिर थिएन, भावहरूको चुम्बन थियो त्यो ।

जहाँबाट सुरु भयो
तिम्रो आत्मबल
तिम्रो आत्मविश्वास
र, तिम्रो आत्मज्ञानको कथा
त्यो प्रेम थियो मैले तिमीलाई खुवाएको र तिमीले खाएको ।

तथागत,
सबैले भन्छन् म तिम्रो सम्बोधिकी उपासिका
तिम्रो महापरिनिर्वाण र धम्मपदकी उपासिका
म भन्छु– म तिम्रो उपासिका
मेरो निम्ति
तिम्रो आँखामा उर्लने मौन संवेग र संवेगहरूकी उपासिका ।

मलाई थाहा छ,
मैले आफ्नो पूरा कथा लेखेँ भने
तिम्रो सम्पूर्ण अनुहारको मार्गचित्र बदलिन सक्छ
सारनाथ, राजगिर, बोधगया र वैशालीमा
तिमीले छाडेका पदचिह्नहरूको नजिर बदलिन सक्छ

बदलिन सक्छ
बिम्बिसारको कफनमा
स्पर्श गर्न आइपुग्ने बेलुवन बगैँचाको हावाको गति
माद्री, मागन्धी, गौतमी र विशाखाका
विश्वासहरूको गणित बदलिन सक्छ ।
मलाई आधा नबुझेकाहरूले
मेरो पूरा कथा लेखे
अब म आफ्नो आधा कथा लेख्छु आफैले

तथागत,
यो कथाको पहिलो पर्दा तिमी नै पटाक्षेप गर ।
जहाँ पहिलो पटक हाम्रो भेट भएको थियो
म पुरिएकी छु निरञ्जना नदीको छेउछाउमा कतै
निरञ्जना नदीमा बग्दै आउने
प्रणयभावहरूको पाँचौँ आर्यसत्यले पुरिएकी छु
तिम्रो ध्यान, अर्धध्यान र ध्यानरहित मुद्राका
नखिचिएका तस्बिरहरूको अवशेषले पुरिएकी छु ।

तथागत,
मलाई उत्खनन गर । मलाई उत्खनन गर ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्