कविता : विश्व सम्राट – Kanika Khabar
Friday, April 26Nepali News Portal

कविता : विश्व सम्राट

    मा प्रकाशित

अठ्ठाइस जुलाई १९१४
विश्वकाे लागि अँध्यारो बन्याे
काेही सम्राट बन्ने नाममा
एघार नाेभेम्बर १९१८सम्म
विश्व राेयाे
कसैकाे सम्राट कहलाउने लालचमा
त्रासदी र मानव संहारका पीडा
चर्म चक्षुकाे बाटाे भएर खसे
त्यति नै बेला जन्मियाे
भर्सेलिजकाे सन्धि

सन्धि,
सर्वमान्य, सर्वपक्षीय र सर्वसन्तुलन हुन सकेन
एक सेप्टेम्बर १९३९मा
अडाेल्फ हिटलरले
विश्वलाई सन्तुलनमा राख्न
विश्वकाे जिम्मेवारी काँधमा बाेकेर
ठिङ्ग उभिएको
भर्सेलिजकाे खम्बा ताेडे
विश्व सम्राट बन्ने नाममा
विश्व विभाजित भयाे
मित्र राष्ट्र र धुरी राष्ट्रमा
दुई सेप्टेम्बर १९४५मा
छ कराेड बढीको रक्त सरीता बगाएर
मित्र राष्ट्रकाे विजय घाेषणा गरियाे
मानव संहार रूक्याे
काेही सम्राट बन्ने नाममा
संयुक्त राष्ट्र संघ जन्मियाे

अझै
काेही सम्राट बन्ने नाममा
शीत युद्धका विकिरण
छरपस्टै थिए
विश्व आफ्नै गतिमा थियाे
चीनको वुहानबाट
डिसेम्बर २०१९
भाइरस भयावह लिएर जन्मियाे
`काेराेना भाइसर ´
अब, सशस्त्र युद्ध हाेइन
नि:शस्त्र युद्ध
जैविक युद्ध
विज्ञानकाे आविष्कार
विज्ञान अभिषापकाे वर्षा
विज्ञान युद्ध
फेरि, काेही सम्राट बन्ने नाममा

आइन्सटाइनकाे `सापेक्षतावाद´
निर्लज्ज छ यतिबेला
स्टेफन हकिङलाई बाेल्न सघाउने
`भ्वाइस सिन्थाेसाइजर´ले
सकेन काेराेनाकाे मुख खुलाउन
न त सक्याे
हकिङकाे `ब्ल्याक हाेल´ले
काेभिड १९ काे क्षेप्यास्त्रलाई राेक्न
पारमाणिक युद्धकाे जाेखिम
जलवायु परिवर्तनले
पृथ्वीकाे आयुमा चुनाैति देख्ने हकिङकाे
`अ ब्रिफ हिस्ट्री अफ टाइम´ले
सकेन काेभिडकाे समय नाप्न
जसले इतिहासकाे समय नापेकाे थियाे

यतिबेला,
एरिस्टाेटलकाे `जीवशास्त्र´
कुनै बन्द प्रयाेगशालामा
त्रसित भएर
लुकलुक काँप्दै हाेला
काेराेनाकाे डरले
एरिस्टाेटलकाे
नैतिकवाद,राजनीतिक विज्ञान रभाैतिकशास्त्र त
काेराेनासामु बबुरा बनेका छन् यतिबेला
काेही सम्राट बन्ने नाममा

आर्किमेडिजकाे
`गणितीय भाैतिकशास्त्र´ र `इन्जिनियरिङ´ले
सकेन काेराेनाकाे आयु र आयतन नाप्न
न त सक्याे यसकाे
उचाइ र माेटाइ नाप्न
सायद
आर्किमेडिजकाे `गणितीय भाैतिकशास्त्र´काे
उत्तरकुञ्जिका हराएकाे छ यतिबेला
काेही सम्राट बन्ने नाममा

पिसाकाे चर्चमा झुमर देखेर
`पेन्डुलमकाे सिद्धान्त´ प्रतिपादन गर्ने
ग्यालिलियाेकाे `भाैतिकशास्त्र´माथि
काेराेनाले सहजै विजयप्राप्त गरिरहँदा
चन्द्रमाकाे जमिनकाे संरचनामा
पहाड र खाल्डाे भएकाे अवगत गराउने
ग्यालिलियाेकाे `खगाेलशास्त्र´
आज निर्वाक भएकाे छ
काेराेनाकाे संरचना नियाल्दा नियाल्दै
क्यूरीका `रेडियम´ र `थाेरियम´
गुमनाम छन्
पाश्चरका `रेविज´ र `एन्थ्राक्स´का भ्याक्सिनले
काेराेनाविरूद्धकाे भ्याक्सिन जन्माउन सकेनन्
काेही सम्राट बन्ने नाममा

आज काेराेनाले विश्वमाथि आक्रमण गरिरहँदा
श्रेयकाे भीडमा लडिरहेका छन्
ट्रम्प, पुटिन र सिजिङहरू
मानव लासमाथि
विश्व राजनीतिकाे प्रलाेभनकाे वर्षा छ
भाइरसकाे काँधमा
आणविक बम फिट गरेर
मानव लासकाे साेपान चढेर
विश्व सम्राट हुन खाेजिरहेछ काेही
काेराेनाकाे नाममा
फगत काेराेनाकाे नाममा
विश्व सम्राट बन्न खाेज्दै छ काेही ।।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्