कविता : मेरा सपनाहरू – Kanika Khabar
Saturday, April 27Nepali News Portal

कविता : मेरा सपनाहरू

    मा प्रकाशित

धेरै भयो मैले
एउटै सपना देख्न थालेको
बारम्बार दोहोरिन्छ, मेरो सपना
दिन फरक, ठाउँ फरक, पात्र फरक
तर एउटै सपना
सधैं त्यही सपना
बारबार म देखिरहन्छु ।

अचेतनमा पनि चेतनमा झै देख्ने
सपनाभन्दा निकै फरक छन् मेरा सपनाहरू

सायद मान्छे बन्द आँखाले
खुला सपना देख्छ
तर, म सधैं खुला आँखाले
खुला सपना देख्छु
हुन त, मेरा सपनाहरू खुला हुन् या बन्द
म अन्योलमा छु ।

जीवन त्यही गोलाकार वृत्त
समय त्यही परिधि हुन्छ
मेरा सपनाहरूमा
म आफूलाई त्यही वृत्तको केन्द्रमा भेट्छु
त्यही केन्द्र भएर जान्छन्
मेरा सपनाहरू
व्यास र अर्धव्यासको बाटो बनेर

म सधैं सधैं
ठिङ्ग उभिन्छु
त्यही गोलाकारको केन्द्र बनेर
सधैं एक्लै एक्लै हुन्छु,
हजारौं व्यास र अर्धव्यासहरू
मेरै बाटो भएर जान्छन्
मलाई छोएर जान्छन्
अनि छोडेर जान्छन्
र, पनि म मुस्कुराइरहन्छु
आफ्ना सपनाको पूर्णतामा
आफ्ना सपनाको सफलतामा
आफ्ना सपनाको खुशीमा ।।

हरेक दिन घरबाट निस्कन्छन्
मेरा सपनाहरू
मानौं, सपनाभित्र पनि सपना छ त्यहाँ
आफ्नो लक्ष्यको सपना भेट्न
झोलाभरि सपनाको चाङ लगाएर
आफ्नै सपनाको भरिया बनेर
सडक, गल्ली र चोकमा
म भेट्छु हुलका हुल
मेरा सपनाहरूलाई
उनीहरूकै सपनाको साथमा

ठेलमठेल, लामवद्ध र हतारहतारमा
पुग्छन् उनीहरू
सपनाहरूको मन्दिरमा
जहाँ म आफैलाई भेट्छु
उनीहरूको सपनाको पूजारीमा
भेट्छु मेरा सपनाहरू मेरै उपासकमा
ती निर्दोष, चपल र उत्सुक मन
हतार छन् भविष्यका रेखा कोर्न
धुम्म बेन्चभरि कोचिएका छन् मेरा सपनाहरू
डेस्कभरि आफ्नै सपनाको बिस्कुन फिजारेर
वर्षौदेखि देखिरहेछु म यही सपना
अनवरत अनवरत एउटै सपना ।

उड्छन् मेरा सपनाहरू
धेरै माथिमाथिसम्म
मैले सोंचेभन्दा माथिसम्म
मेरो चाहनाको परिधिसम्म
म त्यही गोलाकारको मुटुमै हुन्छु
मेरा सपनाहरू मलाई छोएर, छोडेर
धेरै टाढा पुगिसकेका हुन्छन्
म नाप्नै सक्दिनँ कहिल्यै
आफ्ना सपनाहरूको उचाइ र दूरी
न त सक्छु भेट्न
आफ्नै सपनाको आयतन ।

सुन्छु, देख्छु, हेर्छु
आज यो भूगोलको हरेक खण्डमा
मेरा सपनाहरू फिँजारिएका छन्
भूगोल छेडेर अन्तरिक्षमा उडिरहेका छन्
मलाईजस्तै पृथ्वी छाडेर अरू अरू ग्रहमा
विचरण गरिरहेका छन् मेरा सपनाहरू
कतै बम र बारूद बनेर पड्किरहेका छन्
कतै देवता बनेर ठिङ्ग उभिएका छन्
बेफुर्सदिला देखिन्छन्, तल्लीन देखिन्छन्
मेरा सपनाहरू
पृथ्वी सिँगार्न, मानववस्ती सार्न
आफ्नै सपनाहरू बोकेर ।

म देख्छु मेरा सपनाहरूलाई
म एक्लै मुस्कुराइदिन्छु
भरिन्छन् हर्षाश्रुले मेरा चक्षु
गम्छु म एक्लै, नितान्त एक्लै
मैले देखेजस्तै
मैले चिनेजस्तै
मैले स्मरण गरेजस्तै
मेरा सपनाहरूले
मलाई देख्छन् या देख्दैनन्
चिन्छन् या चिन्दैनन्
स्मरण गर्छन् या गर्दैनन्
तर, ती मेरा सपना
फगत मेरा सपना
सधैं सधैं मेरा भइरहनेछन् ।।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्