गुरु पूर्णिमाको महत्व र सान्दर्भिकता – Kanika Khabar
Saturday, January 23Nepali News Portal

गुरु पूर्णिमाको महत्व र सान्दर्भिकता


    मा प्रकाशित


नेपाल बहु सांस्कृतिक, बहु धार्मिक, बहु सामाजिक, बहु भाषिक, बहु जातीय मुलुक हो । विविधतामा समानता अनि अनेकतामा एकता नेपालको मौलिक पहिचान हो । नेपालमा यी विविध पहिचानलाई झल्काउने विभिन्न प्रकारका धार्मिक, सांस्कृतिक तथा सामाजिक मान्यतालाई बोकेका पर्वहरु पनि छन् । जसलाई हामीले ती पर्वहरुको संस्कार र रीतिरिवाजको मान्यता र मर्म अनुसार मनाउने गर्दर्छौँ । जसले हाम्रो संस्कृतिलाई जीवन्त बनाउँदै लगेको छ । जहाँ हाम्रो संस्कार, श्रद्धा, सम्मानजस्ता मौलिकपनहरु पनि प्रष्टिदै आएका छन् ।
यस्तै संस्काहरुमध्ये गुरु पूर्णिमा पनि एक हो । आज गुरु पूर्णिमा अर्थात शिष्यहरुले गुरुहरुप्रति सम्मान र श्रद्धा प्रकट गर्ने दिन । आजको दिन गुरु र शिष्यबिच अझ आत्मीयता बढाउने दिन हो । शिष्यहरुका लागि आफ्ना गुरुहरुप्रति आदर प्रकट गर्न, आफूलाई उज्यालो मार्गतर्फ डो¥याउने गुरुहरुप्रति श्रद्धा व्यक्त गर्न, अज्ञानताबाट ज्ञानको यात्रातर्फ डो¥याउने गुरुहरुप्रति सम्मान गर्न आजको दिनले विशेष महत्व राख्दछ । प्राचीनकालको गुरुकुल शिक्षाबाट प्रारम्भ भएको यस पर्वमा विद्यार्थीहरुले आफूलाई विद्या विनय र शिष्टता प्रदान गरी जीवनलाई कर्तव्य र अकर्तव्यको बोध गराएर सुनौलो र उज्ज्वल भविष्यको मार्ग निर्देशन गराउने गुरुहरुप्रति यथोचित् श्रद्धासम्मान प्रकट गर्दछन् । आजको दिनले विद्यार्थी र शिक्षकबिचको सम्बन्धमा प्रगाढ रुप प्रदान गर्दछ । साथै गुरु र विद्यार्थीका बिचमा आत्मीयता, श्रद्धा, सम्मान तथा स्नेह कायम गरी विद्याको क्षेत्रलाई आदर्श एवं सेवामुलक बनाई अगाडि बढ्न पनि निर्देशन गर्दछ ।

के हो गुरु पूर्णिमा ?
शिष्यहरुले गुरुहरुप्रति विशेष रुपमा आदर, सम्मान गर्ने पर्व नै गुरु पूर्णिमा हो । हरेक वर्ष आषाढ महिनाको पहिलो पूर्णिमालाई गूरु पूर्णिमाको रुपमा मनाइन्छ । गुरु व्यासको सम्झनामा गुरु पूर्णिमा मनाउने परम्पराको थालनी भएको हो । गुरु व्यास चार वेद, अथर पुराण, महाभारत, श्रीमद् भागवत गीताका लेखक हुन् । यी ग्रन्थहरुमा हिन्दु संस्कृतिको ठुलो हिस्सा रहेको छ । मुलतः आर्य संस्कृतिको मूल स्रोत नै मानिने यी ग्रन्थहरुको रचना गर्ने कार्यले पनि गुरु व्यासको विद्धतालाई प्रष्ट पार्दछ । गुरुहरुका गुरु दत्तायत्रयलाई मानिन्छ । अर्थात, दत्तायत्रय गुरुहरुका पनि गुरु हुन् । गुरु व्यास दत्तायत्रयका पनि गुरुका रुपमा मानिन्छन् ।
गुरु पूर्णिमा गुरु र शिष्यको पर्व हो । गुरु र शिष्यबिचको सम्बन्धलाई सुमधुर, आत्मीय, घनिष्ठ राख्नमा यस पर्वले बढी महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । गुरुकुलीय शिक्षा प्रणालीबाट प्रादुर्भाव भएको नेपालको शिक्षा प्रणालीमा गुरु र शिष्यबिचको सम्बन्ध बढी निकट मानिन्छ । यद्यपि अहिलेको वैज्ञानिक प्रणालीको शिक्षामा तत्कालीन गुरुकुलीय शिक्षा प्रणालीको संस्कार भेटिदैन जो स्वभाविक पनि हो । समयको परिवर्तनशीलतासँगै वर्तमान शिक्षा प्रणालीमा भएको विकास र आएको रुपान्तरले नैसर्गिकतालाई औल्याउँछ नै । तर, विस्तारै यही नैसर्गिकताको धरातलबाट हराउँदै गएको गुरु शिष्यबिचको आत्मीयता, श्रद्धासम्मानलाई संरक्षण, जगेर्ना गर्न गुरु पूर्णिमाको विशेष महत्व रहेको छ । अनादिकालदेखि चल्दै आएको गुरु चेलाबिचको सुमधुर, आत्मीय, घनिष्ठता सम्बन्धको रुपलाई अझ बढी तेजिलो बनाउने कार्य गर्ने पर्व नै गुरु पूर्णिमा हो । गुरु व्यासका शिष्यहरुले उनीप्रति देखाएको श्रद्धा, सम्मान, आदरले निरन्तरता पाउँदा यो पर्वको महत्व यथावत रहँदै आएको छ । यही महत्वलाई झल्काउने र संस्कृतिलाई विकसित, व्यापक र निरन्तरता दिन आषाढको पहिलो पूर्णिमालाई गुरु पूर्णिमाको रुपमा मनाइदै आइएको छ । मूलतः शिष्यहरुले गुरुहरुलाई श्रद्धापूर्वक पुज्ने दिन नै गुरु पूर्णिमा हो ।

शिष्यहरुमा भएको रिस, राग, आक्रोश, आवेग जस्ता मानवविषलाई शमन गरेर अमृतको प्याला भरिदिने सामथ्र्य गुरुमा हुन्छ । अर्थात त्यस्तो सामथ्र्य भएको र त्यसलाई व्यवहारमा उतारेर उज्यालो विस्तार गर्ने सारथिहरु नै गुरु हुन् । तिनैलाई नै साक्षात गुरु मान्नु पर्दछ । शुन्यताको भण्डार बाल मष्तिस्कमा ज्ञानको विजारोपण गर्ने, ज्ञानको वृक्षलाई तप्कनीमा पार्दै आएका अज्ञानताका झाडीलाई गोडमेल गरेर बाल मष्तिस्कमा विजारोपण गरिएको वृक्षलाई कल्पवृक्ष बनाउने माली नै गुरु हुन् । बृद्धावस्थाको असक्त, असहाय र दीनहीनतामा वैशाखीको रुपमा उपस्थित भएर ज्ञानको भोजन गराएर जीवनको अर्थ र महत्व बुझाउने व्यक्ति नै गुरु हुन् ।आफू जलेर वरपर उज्यालो छर्ने दीपको अर्को रुप हो गुरु, वृत्तको केन्द्र हो गुरु , जो आफू ओझेलमा परेर थुप्रै महत्वपूर्ण व्यास रेखाहरु वारपार गराउँदछ ।

कसलाई गुरु मान्ने अर्थात गुरु को हुन् ?
‘गु’ को अर्थ अँध्यारो अर्थात अन्धकार हो भने ‘रु’को अर्थ अँध्यारोलाई चिर्ने उज्यालो हो । यसरी ‘गुरु’ शब्दको अर्थ अँध्यारोलाई चिर्ने उज्यालो भन्ने बुझिन्छ । यहाँ अँध्यारो भन्नाले अज्ञानता भन्ने बुझिन्छ भने उज्यालो भन्नाले ज्ञान हो । अज्ञानताबाट ज्ञानको मार्गमा हिँडाउने, निरक्षरबाट साक्षर बनाउने, ज्ञानको शुन्यताबाट पूर्णतातर्फ लैजाने व्यक्ति नै गुरु हो । त्यसकारण जसले हाम्रो जीवनमा अन्धकारलाई नाश गरेर उज्यालो छर्ने काम गर्दछ त्यसैलाई गुरु मानिन्छ, त्यही नै गुरु हो । यहाँ अँध्यारो भन्नाले अज्ञानता मात्र बुझ्यौँ भने अँध्यारोको अर्थमा सङ्कुचन हुनेछ । अँध्यारो भन्नाले हाम्रो मनभित्र भएको अन्धकाररुपि माया, मोह, लोभ, लालच हो । हाम्रो मनमा रहेका यस्ता कुभावनाले नै हामीलाई गलत मार्गमा डो¥याउँछन् । अनि हामी गलत कार्य गर्न उद्दत हुन्छौँ । त्यस्ता कार्यको परिणामले हामीलाई अज्ञानताको घानमा हालिदिन्छ । हाम्रो मनभित्र भएका अन्धकाररुपी माया, मोह, लोभ, लालचको जालोलाई च्यातेर हामीलाई आत्मा र परात्मासँग चिनाउने व्यक्ति नै गुरु हुन् । गुरु अज्ञानताको अँध्यारोलाई चिरेर ज्ञानको उज्यालो प्रकाश छर्न सक्छन् । गुरु ज्ञानको शुन्यतामा पूर्णता भर्न सक्छन्, आत्मा र परात्मासँगको साक्षात्कारको अनुभव दिलाउन सक्छन् । त्यसैले गुरु सर्वशक्तिमान मानिन्छन् ।
भागवत गीतामा साँचो गुरुको चरित्र कस्तो हुनु पर्छ भन्ने कुरा लेखिको छ । साँचो गुरु उनै हुन जसमा साँचो रुपमा ज्ञान प्रदान गर्न सक्ने क्षमता हुन्छ ज्ञानी भएर पनि उनमा घमन्ड हुँदैन । जसलाई भगवान सबै कारक हुन र हामी सबै उनका कारण मात्रै हौँ भन्ने ज्ञान हुन्छ । जसलाई साँचो ज्ञानको अर्थ थाहा छ । जो त्यसैमा जीवन बिताउँछ । जो रिस, राग लोभ मोह भन्दा पर हुन्छ । उही सही गुरु हो ।
शिक्षा प्रदान गर्ने व्यक्ति नै गुरु हो । चाहे त्यो हामीभन्दा ठुलो होस् चाहे सानो होस् । जसले ज्ञानको उज्यालोले हाम्रो जीवनलाई सत्मार्गमा लाग्न प्रेरित गर्दछ, जीवनमा अलमलिएको मोडबाट गन्तव्यको रेखाङ्कन गर्दछ त्यही नै हाम्रो गुरु हो । शिष्यहरुमा भएको रिस, राग, आक्रोश, आवेग जस्ता मानवविषलाई शमन गरेर अमृतको प्याला भरिदिने सामथ्र्य गुरुमा हुन्छ । अर्थात त्यस्तो सामथ्र्य भएको र त्यसलाई व्यवहारमा उतारेर उज्यालो विस्तार गर्ने सारथिहरु नै गुरु हुन् । तिनैलाई नै साक्षात गुरु मान्नु पर्दछ । शुन्यताको भण्डार बाल मष्तिस्कमा ज्ञानको विजारोपण गर्ने, ज्ञानको वृक्षलाई तप्कनीमा पार्दै आएका अज्ञानताका झाडीलाई गोडमेल गरेर बाल मष्तिस्कमा विजारोपण गरिएको वृक्षलाई कल्पवृक्ष बनाउने माली नै गुरु हुन् । बृद्धावस्थाको असक्त, असहाय र दीनहीनतामा वैशाखीको रुपमा उपस्थित भएर ज्ञानको भोजन गराएर जीवनको अर्थ र महत्व बुझाउने व्यक्ति नै गुरु हुन् ।आफू जलेर वरपर उज्यालो छर्ने दीपको अर्को रुप हो गुरु, वृत्तको केन्द्र हो गुरु , जो आफू ओझेलमा परेर थुप्रै महत्वपूर्ण व्यास रेखाहरु वारपार गराउँदछ ।

गुरु पूर्णिमाको महत्व
कलिला बाल मष्तिस्कमा ज्ञानको दीप प्रज्वलित गराउने आम गुरु व्यासको प्रतीक हुन् । गुरु पूर्णिमाको दिनमा सम्पूर्ण हिन्दु भक्तजनहरुले गुरु व्यासप्रति आदर र सम्मान प्रकट गर्दै आरधना गर्दछन् । गुरु पूर्णिमा महत्व एकातिर गुरु र शिष्यसँग जोडिएको छ भने अर्कोतिर धार्मिक कार्याकलापसँग पनि उत्तिकै महत्वका साथ गाँसिएको छ । हिन्दु संस्कृतिमा कुनै पनि तन्त्र, मन्त्र सिक्न गुरु पूर्णिमाको दिनलाई अत्यन्त उत्तम मानिन्छ । परापुर्वकालमा गुरु पुर्णिमाकै दिनलाई अति उत्तम मानेर ऋषिमुनिहरुले मन्त्र, तन्त्र साधना र व्यासको बम्हसास्त्रमा भएको ज्ञान प्राप्त गर्न कुनै एक ठाउँमा बसेर सुरु गर्दथे ।
गुरु पूर्णिमाले गुरु र शिष्यबिचको सम्बन्धमा न्यानोपन मात्र नथपेर सिकाइ प्रारम्भको जिम्मेवारी पनि बोकेको छ । हिन्दु परम्परा अनुसार विभिन्न तान्त्रिक ज्ञानका अलावा अन्य ज्ञान आर्जन गर्नका लागि यस दिनलाई विशेष मानिन्छ । त्यसकारण पनि गुरु पूर्णिमाको महत्व झनै रहेको छ ।

निष्कर्ष
संस्कृतमा एउटा भनाइ छ :

“गुरुर व्रम्हा गुरुर विष्णु गुरुर देवो महेस्वर
गुरुर सक्क्षात परम व्रम्हा तसमै श्री गुरुबे नमह “
अर्थात गुरुनै सबै हुन् । ब्रम्ह, बिष्णु र महेस्वर । उनलाई म प्रणाम गर्दछु । हामी मुलतः हिन्दुधर्मावलम्बीहरु जसले विभिन्न देवतालाई विविध महत्वकासाथ श्रद्धा व्यक्त गर्दर्छौँ, पूजा आरधना गर्दर्छौँ ती सबैको सिङ्गो रुप भनेकै गूरु हुन् । हामीले गुरुप्रति देखाउने श्रद्धा र सम्मानले सम्पूर्ण देवगणहरुप्रति श्रद्धा पुग्दछ । यद्यपि सबै संस्कार संस्कृतिमा गूरुको स्थान उच्च रहेको हुन्छ । तर हाम्रो हिन्दु संस्कार र संस्कृतिमा गुरुको स्थान झनै उच्च रहेको छ । गुरुलाई हामी मातापिता भन्दा पनि पहिलो देवताका रुपमा राखेर पुज्छौँ । गुरुले आफ्ना शिष्यहरुलाई आत्मा र परात्माका बिचमा सेतु भएर काम गर्दछन् । सूर्यबाट प्रकाश परावर्तन गराएर चन्द्रमाले रातको अँध्यारोलाई केही हदसम्म चिर्ने काम गर्दछ र प्रकाश छर्छ । त्यसैगरी गुरुबाट ज्ञान लिएर अज्ञानतालाई चिर्दै ज्ञानको उज्यालो छर्ने काम शिष्यले गर्दछन् । हो, गुरु त्यही सूर्यको रुप हो । गुरु पूर्णिमाको दिन शिष्यहरु गुरुप्रति श्रद्धास्वरुप विभिन्न उपहार, सौगात, कोसेली अर्पण गर्ने गर्दछन् । तर गुरुका लागि सबैभन्दा ठूलो कोसेली उसले दिएको पाठ (शिक्षा) को सही पालना शिष्यले गरिदिनु हो । जहाँ गुरु पूर्णिमाको सान्दर्भिकता झल्कन्छ ।

ज्ञान अर्थात शिक्षाको विकासको पहिलो चरण गुरु कुलीय शिक्षाबाट नै भयो । अहिले हामी २१ औं शताब्दीको शैक्षिक प्रणालीमा छौँ । विभिन्न वैज्ञानिक आविष्कारहरु गरेका छौँ । यी सबैको स्रोत त्यही गुरु कुलीय शिक्षा नै हो । विकासको प्रक्रियासँगै मानिस उद्दण्ड बन्दै गएको छ । गुरुप्रतिको सम्मान खस्किएको छ । तिनै गुरुबाट ज्ञान लिएर अहं पाल्ने संस्कृतिको विकासले शिष्य वर्गमा निकै खुट्टो घुमाएको छ । गुरुहरुप्रतिको सम्मान र श्रद्धा झण्डैझण्डै हराउन थालिसकेको छ । गुरु र शिष्यबिचका थुप्रै अमानवीय, अभद्र व्यवहार भएका घटनाका हामी कोही पनि अन्धा छैनौँ । त्यसो त शिष्यहरुप्रति गुरुले गर्ने व्यवहारले पनि गुरु शिष्यबिचको महत्वलाई ओझेल पार्दै लगेको छ । तर, यस्तो तिक्ततालाई बिर्साउने प्रयास गर्ने काम गुरु पूर्णिमाले गर्दछ । संस्कृति शिरोधार्यका कारण वर्षमा एक दिन भए पनि शिष्यहरु गुरुप्रति सम्मान र श्रद्धा व्यक्त गर्ने गर्दछन् । यसले औपचारिकताभन्दा बढी केही प्रदान गर्दैन । गुरु शिष्यबिचको पवित्र, आत्मीय, सुमधुर सम्बन्धको महिमागान गर्ने रुपमा गुरु पूर्णिमालाई लिइनु पर्दछ । वर्षभरिको आफ्नो कार्य, कर्तव्य, जिम्मेदारी, उत्तरदायित्वको कर्तव्यपरायणता झल्काउन गुरु पूर्णिमाको महत्व रहन्छ । वर्षदिनमा एक दिन मात्रको गुरु र शिष्यको आत्मीयताले ज्ञान, विवेक र सीपको दीपलाई प्रज्वलित तुल्याउन सक्दैन । यसले औपचारिकताभन्दा अर्को सन्देश दिन सक्दैन । यस्तो महत्वपूर्ण संस्कृतिलाई संरक्षण गर्न दुबै पक्ष उत्तिकै सजग रहनु पर्दछ । गुरु पूर्णिमा औपचारिकतामा मात्र सीमित नहोस्, यसमा हामी सबैको ध्यान केन्द्रित हुनु पर्दछ ।जसले गुरु पूर्णिमाको सान्दर्भिकतालाई जोगाएर राख्न सक्दछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्