सुरक्षित तवरले विद्यालय पुन:सञ्चालनका लागि नयाँ मार्ग निर्देशनहरू – Kanika Khabar
Wednesday, December 8Nepali News Portal

सुरक्षित तवरले विद्यालय पुन:सञ्चालनका लागि नयाँ मार्ग निर्देशनहरू

    मा प्रकाशित

काठमाडौं, ११ जेठ 

एक अर्ब तीस करोड विद्यार्थी प्रभावित हुने गरी संसारभर नै विद्यालय बन्द भएको हालको अवस्थाका बीच सुरक्षित तवरले विद्यालय पुन: सञ्चालन गर्नकालागि युनेस्को, युनिसेफ, विश्व खाद्य कार्यक्रम तथा विश्व बैंकले संयुक्त रूपमा मार्गनिर्देशनहरू जारी गरेका छन्।

कोभिड-१९ को रोकथाम तथा सामना गर्नका लागि व्यापक रुपमा विद्यालय बन्द गरिएका कारण बालबालिकाको शिक्षाका साथै समग्र हितमा अभूतपुर्व जोखिम सिर्जना भएको छ। विशेषगरी सीमान्तकृत बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र पोषणमा यसले ठुलो असर पार्ने देखिएको छ। आज जारी गरिएको यी मार्गनिर्देशनहरूले राष्ट्रिय तथा स्थानीय अधिकारीहरूलाई बालबालिका विद्यालय फर्केपछि कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बारे व्यावहारिक सुझाव दिएका छन्।

“विद्यालय जानबाट बञ्चित बालबालिकाका लागि बढ्दो असमानता, कमजोर स्वास्थ्य अवस्था, हिंसा, बाल श्रम तथा बालविवाह आदि लगायत कैयौं दीर्घकालीन जोखिमहरू रहने गर्दछन्” युनिसेफकी कार्यकारी निर्देशक हेन्‍रिएटा फोरले बताइन् । “जति धेरै समय बालबालिका विद्यालय जाँदैनन, उनीहरू फेरि विद्यालय फर्किने सम्भावना त्यति नै कम हुँदै जान्छ। सुरक्षित समय आउनासाथ हामीले विद्यालय पुन:सञ्चालन गर्न सकेनौं भने यसबाट शिक्षामा अपुरणीय क्षति हुने सम्भावना उच्च रहन्छ”।

विद्यालय बन्द भएका कारण रोगको संक्रमणमा कस्तो प्रभाव पर्दछ भन्ने बारे पर्याप्त प्रमाण नभए तापनि बन्द विद्यालयका कारण बालबालिकाको सुरक्षा र सिकाईमा परेको ठुलो नकारात्मक प्रभावको प्रमाण रहेको कुरा उक्त मार्गनिर्देशनहरूमा उल्लेख छ। पछिल्ला दशकहरूमा बालशिक्षाको क्षेत्रमा हासिल गरिएका उपलब्धीहरू गुम्नुका साथै अवस्था पहिलेको भन्दा झनै विग्रनसक्ने जोखिम सिर्जना भएको छ।

“अति विपन्न राष्ट्रहरूमा बालबालिका दिनभरिको एक छाक खानाको लागि प्राय विद्यालयमा भर पर्ने गर्छन्। तर अहिले कोभिड-१९ का कारण विद्यालयहरू बन्द भएसँगै लगभग ३७ करोड बालबालिकाले उक्त पोषणयुक्त भोजन गुमाईरहेका छन्, जुन उनीहरूकालागि अत्यन्तै महत्वपूर्ण हुने गर्थ्यो। यस बाहेक विद्यालयमा प्राप्त हुने स्वास्थ्य सेवाबाट समेत उनीहरू बञ्चित भएका छन्। यसको असर दीर्घकालीन हुन सक्छ। त्यसैले विद्यालय पुन:सुचारू भएसँगै विद्यालयमा खाना तथा स्वास्थ्य कार्यक्रम पनि सञ्चालन गर्नुपर्ने हुन्छ, जसले गर्दापनि अत्यन्तै जोखिममा रहेका बालबालिकालाई विद्यालय जान प्रोत्साहन मिलोस्”, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बिस्लेले भने ।

राष्ट्रिय तथा स्थानीय अधिकारीहरूले विद्यालय पुन:सुचारू गर्ने निर्णय लिँदा शिक्षा, जन-स्वास्थ्य तथा आर्थिक-सामाजिक पक्षहरूमा गरिएको तथ्यपरक विश्लेषणका आधारमा बालबालिकाको सर्वोत्तम हित तथा समग्र स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने हुन्छ भनेर मार्ग निर्देशनहरूले भन्छन्।

अबको समयमा विद्यालय पुन:सुचारू गर्दा विद्यालयमै बालबालिकालाई सिकाई र तिनको समग्र हेरचाह लगायत स्वास्थ्य, पोषण, मनोसामाजिक सहयोग, खानेपानी, स्वच्छता तथा सरसफाईका क्षेत्रमा पहिलेभन्दा राम्रो हुने गरि व्यवस्था मिलाउनु पर्दछ।

कैयौं राष्ट्रहरूले अब कहिले विद्यालय पुन: सुचारू गर्ने भनेर विश्लेषण गरिरहेको अवस्थामा विश्वव्यापी शिक्षा गठबन्धनको सदस्यका रूपमा युनेस्को, युनिसेफ, विश्व खाद्य कार्यक्रम तथा विश्व बैंकले सरकारहरूलाई बालबालिका विद्यालय जानु र संक्रमण बढ्नु बीचको सम्बन्ध अप्रमाणित रहेको तथ्यलाई ध्यानमा राख्दै दुर-शिक्षाको तुलनामा कक्षाकोठामा आधारित शिक्षाका फाईदाहरू र विद्यालय खुलेपछिका जोखिमहरू दुवै पक्षको समीक्षा गरेर निर्णय लिन संयुक्त आव्हान गरेका छन्।

“निकै लम्बिएको विद्यालय बन्दका कारण कैयौं बिद्यार्थीहरू आफ्नो सिकाईको यात्रामा पछाडि परिरहेको अवस्थामा निकै कठिन भए तापनि विद्यालय पुन:सञ्चालन कहिले र कसरी गर्ने भन्ने विषय आजको प्राथमिकतामा राखिनुपर्दछ। स्वास्थ्य क्षेत्रबाट परिस्थिति सुरक्षित रहेको संकेत पाउने वित्तिकै कुनै पनि विद्यार्थीलाई नछोडी शिक्षा सेवा सुचारू गर्नको लागि धेरै पूर्व-तयारीको आवश्यकता पर्दछ। आज प्रकाशित यस मार्ग निर्देशनले सरकार र सम्बन्धित साझेदारहरूलाई विद्यार्थी, शिक्षक तथा परिवारहरूका लागि विद्यालय पुन:सुचारू गर्न आवश्यक विस्तृत मार्गदर्शन दिएको छ। हामी सबैको एउटै लक्ष्य छ: हरेक विद्यार्थीको शिक्षाको अधिकार सुरक्षित गर्नु र सम्वर्द्धन गर्नु,” युनेस्कोका महानिर्देशक अड्री अजुलेले भने ।

यस मार्गनिर्देशनमा निम्न विषयहरू समावेश गरिएका छन्:
नीति परिमार्जन: यस मार्गनिर्देशनमा स्वास्थ्य सम्बन्धी आपतकालीन परिस्थितिमा विद्यालय बन्द गर्ने र पुन:सुचारू गर्ने नीति, सीमान्तकृत तथा विद्यालयको पहुँच भन्दा बाहिर रहेका बालबालिकालाई समान पहुँच बढाउन आवश्यक सुधार, र दुर-शिक्षाको अभ्यासलाई सुदृढिकरण तथा स्तरिकरण गर्ने लगायत नीतिगत व्यवस्था समावेश गरिएको छ।

वित्तिय आवश्यकता: शिक्षामा कोभिड-१९ले पारेको प्रभावको सम्बोधन गर्ने र पुनरुत्थान तथा उत्थानशीलताका लागि शिक्षा क्षेत्रमा लगानीलाई सुदृढिकरण गर्ने।

सुरक्षित तवरले सञ्चालन: रोगको संक्रमण न्युनिकरण गर्ने, अत्याश्यक सेवा सुविधाहरूको उपलब्धता, र स्वस्थ आनीबानी प्रवर्धन गर्ने अवस्था सुनिश्चित गर्ने। यस अन्तर्गत, साबुन र सफा पानी सहितको हात धुने व्यवस्था, कर्मचारी तथा विद्यार्थीले अस्वस्थ महसुस गरेमा के गर्ने बारे जानकारी, सामाजिक दुरी कायम गर्ने र सरसफाईका अभ्यास लगायतका जानकारी सम्मिलित गरिएको छ।

छुटेको सिकाईलाई पुरक व्यवस्था: समय गुमेका कारण छुटेको शिक्षणका सत्रहरू पुन:प्राप्त गर्नकालागि विशेष अभ्यासहरू, सिकाईका विधिको सुदृढिकरण र दुरशिक्षा जस्ता विधिको प्रयोग द्वारा मिश्रित शिक्षा प्रणालीको विकास गर्न विशेष ध्यान दिने। यस अन्तर्गत रोग संक्रमण तथा रोकथामका बारेमा जानकारी समावेश गर्नुपर्नेछ।

विद्यार्थीको समग्र हितमा समग्र हित र संरक्षण: विद्यार्थीको समग्र हितमा ध्यान दिनुपर्नेछ र स्तरिकृत सिफारिस प्रणाली र स्वास्थ्य तथा विद्यालयमा पोषण सेवा जस्ता अत्यावश्यक सेवाहरू मार्फत बाल संरक्षणलाई सुदृढिकरण गर्नुपर्नेछ।

सीमान्तकृत समुदायसम्म पहुँच: विद्यालय सुचारू गर्दा विगतमा विद्यालय बाहिर रहेका, विस्थापित तथा प्रवासी बालबालिका लगायत अल्पसंख्यक समुहलाई समेत समेटिने गरी सुचारू गर्ने नीति तथा अभ्यासलाई परिमार्जन र विस्तार गर्ने। अत्यावश्यक सुचना संप्रेषण गर्दा स्थानीय भाषा र सहजै बुझिने ढाँचामा गर्ने। “विद्यालयहरू पुन:सुचारू हुदै गर्दा सिकाईका ठुला अवसर गुमाएकाहरूलाई विशेष ध्यान दिई विद्यार्थीहरूलाई विद्यालयको वातावरणमा सुरक्षित तवरले समायोजन गर्ने कार्य प्रमुख प्राथमिकतामा पर्नेछन्। यो एक अत्यन्तै महत्वपूर्ण समय हो किनभने प्रभावकारीता तथा समानता सुनिश्चित गर्दै नयाँ विधि स्थापना गर्ने यो नयाँ अवसर पनि हो। विद्यालय पुन:सुचारू गर्नको लागि शिक्षण जनशक्तिपनि आवश्यक तयारीका साथ तत्पर अवस्थामा रहनुपर्दछ। त्यसो गर्दा उनीहरूसँग सिकाईका अवसर गुमाएका चरम वञ्चितिकरणमा परेका विद्यार्थीको शिक्षामा सघाउन उपयुक्त योजना तयारी अवस्थामा हुनुपर्दछ। संयुक्त राष्ट्रसंघीय प्रमुख निकायहरूको एकिकृत उद्देश्यसँग मिल्ने गरि यस निर्देशिकाले उपयुक्त मार्गनिर्देशन गरेको छ,” विश्व बैंकका विश्वव्यापी शिक्षा निर्देशक जेमी सावेर्दाले भने ।

(युनेस्काे नेपालले तयार पारेकाे रिपोर्ट )

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्