कोभिड १९, लकडाउन र मनोसामाजिक समस्या – Kanika Khabar
Friday, April 26Nepali News Portal

कोभिड १९, लकडाउन र मनोसामाजिक समस्या

    मा प्रकाशित

अघिल्लो वर्षको डिसेम्बरबाट चीनको वुहान सहरबाट फैलिएको कोभिड १९ अहिले विश्वभर महामारीको रुपमा विस्तार भएको छ । शुरुमा चीन र त्यसपछि इटली, इरान हुँदै अहिले संयुक्त राज्य अमेरिका, ब्राजिल, रसियामा तीब्र गतिमा अघि बढिरहँदा पछिल्लो चरणमा भारत हुँदै नेपालमा पनि संक्रमणको दर बढ्दै जाने सङ्केतहरु देखा पर्न थालेका छन् । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार यो आलेख तयार पार्दासम्म विश्वभर करिव ५७ लाख भन्दा बढी मान्छेहरुमा संक्रमणको सिकार हुँदै गर्दा करिव ३ लाख पचास हजार जना भन्दा बढी संख्यामा मृत्युवरण गनुपर्ने कहाली लाग्दो अवस्था छ भने करिव २४ लाखभन्दा बढी संख्यामा उपचारपछि निको भएर घर फर्किएका छन् ।

नेपालमा सर्वप्रथम २०७६ माघ १० गते चीनबाट फर्काइएका एक व्यक्तिमा कोभिड १९ को संक्रमण पाइएसँगै आजसम्म करिव ११९८ भन्दा बढी कोभिड १९ का संक्रमितहरु भेटिएका छन् भने ५ जनाले आफ्नो जीवन गुमाउनु परेको छ । करिव १९० जना कोभिड १९ संक्रमितहरु स्वस्थ भइ घर फर्किदै गर्दा यसको फैलावटको क्षेत्र सातैवटा प्रदेशका ५१ वटा जिल्लाहरुमा पाइएको छ । यसले गर्दा यसको विस्तार समुदायस्तरमा महामारीकै रुपमा फैलिन त्रास बढिरहेको छ ।

कोभिड १९ को रोकथामको विश्वव्यापी प्रक्रियाहरुलाई मध्यनजर ग¥यो भने अति विकसित, उत्कृष्ट स्वास्थ्य सेवा भएका समुन्नत राष्ट्रहरुले पनि प्रकोप फैलनलाई रोक्नको लागि लकडाउनको सहारा लिनुपरेको छ । विश्व स्वास्थ्य संगठनको आँकडा अनुसार २१५ राष्ट्रहरुमा यसको संक्रमण देखिएकाले करिव करिव विश्व नै लकडाउनको निर्मम चपेटामा परेको छ । त्यसैलाई आत्मसात् गर्दै नेपाल सरकारले पनि २०७६ चैत्र ११ गतेदेखि लागू हुने गरी लगाएको लकडाउन पटक पटक थप गर्दै आजको मितिसम्म पनि यथावत् नै छ । एकातिर कोभिड १९ को डर त्राससँगै सामाजिक दुरी कायम गर्न र संक्रमण फैलिन नदिन गरिएको लकडाउनले मान्छेहरुको दैनिक कार्य व्यापार व्यवसाय आर्थिक गतिविधिहरु र समग्र जीवनशैलीलाई नै परिवर्तन गर्न वाध्य बनाएको छ ।

कोभिड १९को सुरुवात र विस्तार जसरी विश्वभरि भइरहेको छ, यसबाट विश्वभरका मान्छेहरुमा भय, डर, त्रास र अनिश्चितताको भावना वृद्धि भइरहेको छ । निश्चित उपचार पद्दति विकास नहुनु र संक्रमणको फैलावट अस्वभाविक गतिमा बढ्दै जाँदा मान्छेहरुमा मृत्युसम्मका भयहरुले ठाउँ पाउन थालेका छन् । अर्कोतिर यही समस्यालाई न्यूनीकरण गर्न विश्वका अधिकांश मुलुकहरुले लकडाउनलाई वाध्यात्मक आवश्यकताको रुपमा अवम्बन गरेकोले आर्थिक गतिविधिहरुमा अत्याधिक गिरावट आएको छ । यसको सिधा प्रभाव दैनिक कार्य, रोजगार, आर्थिक क्षेत्र, सामाजिक सम्बन्धसँगै शारीरिक र मानसिक स्वास्थ्यमा पनि पर्न थालेको छ ।

दैनिक ज्याला मजदुरी गरे पेट पाल्ने वर्गहरुमा जीवन निर्वाहको नै समस्या विकराल बन्दै गर्दा बैक तथा व्यक्तिहरुबाट ऋण लिई व्यापार व्यवसाय गर्ने साना तथा मझौला व्यापारीहरुको लगानीको जोखिम निजी तथा संस्थागत क्षेत्रहरुमा रोजगार गर्ने व्यक्तिहरुको रोजगार कटौती हुनसक्ने भय, होटेल, रेष्टुरा तथा निर्माण कार्यमा संलग्न मजदुरहरुको आयस्रोत बन्द हुँदै गर्दा चरम निराशाको अवस्थाले मान्छेहरुमा मनोसामाजिक समस्याहरु बढ्न थालेको त छन् नै त्यसमा कोभिड १९ को रोकथामको अनिश्चितताको कारणले मान्छेहरु योजनाविहीन कामविहीन अवस्थामा घर घरमै बस्न वाध्य हुनुपर्ने अत्यासपूर्ण समयले शारीरिक मानसिक तथा सामाजिक समस्या सिर्जना गरिरहेको छ ।

मनोसामाजिक समस्याहरु एक भावनात्मक समस्या हो । मन, शरीर, व्यवहार र सम्बन्धहरुमा तालमेल नभई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा दैनिक कार्य, सोेंच र व्यवहारहरुमा असर गर्यो भने त्यसलाई मनोसामाजिक समस्याको रुपमा लिनुपर्छ । कोभिड १९को त्रास र लकडाउनको अनिश्चित यात्राको कारणले मान्छेको मन र सोचहरुमा उल्लेख्य परिवर्तनहरु आइरहेका छन् र जसको सोझो असर व्यक्तिगत र सामाजिक जीवनस्तरमा पर्न गएको छ ।

ट्रान्सकल्चरल साइकोलोजिकल अर्गनाइजेसनको सर्वेक्षण अनुसार नेपालमा लकडाउनको अबधिमा करिव ४२ प्रतिशत मानिसहरुले मानसिक स्वास्थ्यमा विचलन आएको कुरा स्वीकार गरेका छन् । जसमध्ये करिव २६ प्रतिशतले दुई वा सो भन्दा बढी प्रकारको समस्याहरु देखिन थालेको बताएका छन् । लकडाउनको शुरुको २ हप्ताको नेपाल प्रहरीको रिपोर्ट अनुसार नेपालभर करिव १९६ आत्महत्याका अपराधहरु थिए भने वमेन्स रिहाविलेसन सेन्टर (WOREC) को मार्च २४ देखि मे १ सम्मको अवधिमा १०३ वटा महिला तथा वालवालिकासँग सम्बन्धित घरेलु हिंसा, बलात्कार, यौनजन्य दुव्र्यवहार तथा हत्याका घटनाहरु भएको देखिन्छ । यी सवै रिपोर्टहरुबाट कोभिड १९ र लकडाउनपछि मान्छेहरुको मनोविज्ञानमा शीघ्र मानसिक असन्तुलनको अवस्था बढेको पाइन्छ ।

एकान्तवास, त्रास र अनिश्चितताको कारण आफू र आफ्नो वरपरको पारिवारिक सामाजिक र प्राकृतिक वातावरणसँग मान्छेहरु तालमेल गुमाइरहेको कुराको अवगत समयभन्दा ढिलो थाहा भयो भने यही कुरा विकराल मानसिक समस्या बन्न सक्छ । नेपाली समाजमा मानसिक समस्याहरुलाई कलङ्कको रुपमा अझै पनि हेरिने चलन विद्यमान भएकाले यसलाई मनमै कुण्ठित गर्नु झन घातक हुन्छ । आफूमा भएका परिवर्तनहरुलाई हामी आफै नजरअन्दाज गरेनौ भने मानसिक विचलनको सूरुवाली चरणमै हामी यसलाई निदान गर्न नि सक्छौँ ।

एकान्तमा बस्न मन लाग्ने, मनमा कुरा खेल्ने, नरमाइलो लाग्ने, बढी खाना खाने वा खाना मन नलाग्ने, निद्रामा बरबराउने, अत्याधिक निद्रा लाग्ने, निद्रा नलाग्ने वा नराम्रो सपना देख्ने, केही कुरा विर्सने, झर्को लाग्ने, रिंगाटा लाग्ने, जिउ सिरिंग हुने, प्रेसर बढ्ने बा घटने, छाति भारी हुने, दःखी हुने, उचित निर्णय लिन नसक्ने, कुनै कुरामा चाख हराउने, पटक पटक झस्किने, शरीर तातो वा चिसो महसुस गर्ने जस्ता लक्षणहरु विपत्ति वा असहज स्थितिमा देखिने सामान्य र स्वभाविक लक्षणहरु हुन तर यस्ता लक्षणहरुलाई नजरअन्दाज गरियो र उचित व्यवस्थापन गर्न सकिएन भने तत्काल अथवा पछि गएर गम्भीर प्रकृतिका लक्षणहरु देखिन सक्छन् । निद्रामा तर्सिने, नभएका वस्तुहरु देख्ने वा आवाज सुन्ने, वेमौसमी कपडाहरु लगाउने, गलत विश्वास गर्ने, डर र चिन्ता अत्याधिक हुने, अनायासै अति तर्सिने, मानसिक आघात हुने, एउटै विचार र काम वारवार दोहरिने तथा आत्महत्याको विचार आउने र आत्महत्याको प्रयास गर्नेसम्मका लक्षणहरु मानसिक स्वास्थ्यसँग सम्बन्धित गम्भीर प्रकृतिका लक्षणहरु हुन् ।

कोरोना जस्तो विश्वव्यापी विपत्ति र महामारीले पार्ने मनोबैज्ञानिक असरलाई कम गर्नका लागि व्यक्ति स्वंम नै सवभन्दा बढी सक्रिय र आत्मवलयुक्त हुन जरुरी छ ।
हरेक व्यक्तिको सकारात्मक पक्ष, समस्यासँग जुध्ने सकारात्मक तरिका, ज्ञान र अनुभव हुन्छ । हामी निराशा, तनाव वा भयको अवस्थामा यही व्यक्तिको सवल पक्षलाई स्वंम परिचालन गर्न सकियो भने उत्तम हुन्छ । सवैभन्दा पहिले विपत्तिका अवस्थामा नआत्तिन कोसिस गर्दै आफ्नो वरपर देश र विश्वको विपत्ति र यसको जोखिमको वारेमा जानकारी लिने तथा त्यस्ता समाचारहरु वारम्वार नसुन्ने, आधिकारिक श्रोतहरुवाट मात्र समाचार लिने, अतिरन्जना फैैलाउने खालका समाचारहरुबाट बच्न सक्नुपर्छ । जस्तोसुकै विपतको वेलामा पनि आफ्नो नियन्त्रणमा भएका कुराहरुप्रति केन्द्रित हुनुपर्छ । कोरोना के हो ? यसबाट बच्न प्राथमिक रुपमा गर्न सकिने कुराहरु आफ्नो तर्फबाट गर्न सकियो भने विपतको वेलामा आत्तिने समस्या घट्न सक्छ । सकभर विहान उठेदेखि नै आफ्नो रुचिका काममा सहभागी हुने, भान्सा, खेतवारी वा अरु काममा सहभागी हुने, आफ्ना नानीवाबु अथवा आभावुवा वा परिवारका सदस्यहरुसँग प्रशस्त समय विताउने, खेल्ने, शरीर र मनलाई आनन्द दिने खालका अभ्यास तथा योगहरु गर्ने, लेख्ने वा रुचिका कितावहरु पढ्न सकिन्छ । बढदो संक्रमणको दरसँगै आफू नै एकान्तवासमा बस्नु पर्यो भने पनि सामाजिक सञ्जालको माध्यमबाट आफ्ना आफन्तजनहरुसँग नियमित सम्र्पकमा हुने र एकान्तवासका नियमहरु पालना गर्न उत्सुक हुन सकियो भने तनाव कम हुन्छ । आफूमा मनोसामाजिक असरहरु नदेखियोस भन्नाको लागि प्रशस्त मात्रामा सुत्ने आराम गर्ने गर्नुपर्छ । साथै यति गर्दा पनि कुनै समस्या अथवा तनावले छोयो भन्ने लाग्यो भने मदिरा, चुरोट अथा अरु लतबाट टाढा नै रहन कोसिस गर्नुपर्छ । महाभूकन्प २०७२ पछि सन २०मा ट्र«ान्सकल्चर साइकोजोजिकल अर्गनाइजेसन नेपालले गरेको सर्वेक्षणमा मानसिक समस्या भएकाहरुमध्ये २५ प्रतिशतले बच्नको लागि मदिराजन्य र अरु नशाजन्य पदार्थको सेवन गर्ने गरेको तथ्य वाहिर आएको थियो र अहिले पनि कोभिड १९ सँग मदिराजन्य नशाको सम्बन्ध अथ्र्याउन लाग्नेको जमात देखिएकाले यस्तो भ्रमबाट टाढा बस्नुपर्दछ ।

यति हुँदाहँुदै पनि कुनै व्यक्ति विशेषमा संक्रमणको कारण परिवारको सदस्य गुमाउनु पर्दा वा संक्रमण देखिदा वा संक्रमण देखिने डर हुँदा भावनात्मक चोट,आघात वा पीडा हुनसक्छ । यस्तो वेलामा घर परिवार, साथीभाइ तथा सम्बन्धित विशेषज्ञबाट प्राथमिक मनोबैज्ञानिक सहयोग भयो भने यसले समस्या बढन र विग्रिन दिन्न । एक तथ्यांकको अनुसार आत्महत्या विफल भएकाहरुसँगको कुराकानीमा उनीहरु अन्तिम अवस्थामा पनि कोही आओस र आफ्नो भावना बुझोस भन्ने मानसिक अवस्थामा हुन्छन् । अतः विपत्तिको वेला मनमा देखापर्ने भय, त्रास, छटपटी, अशान्ति, नैराश्यता र यसका कारणले आउने व्यवहारजन्य गडबडीहरुलाई व्यवस्थापन गर्न दिइने सवै प्रभावकारी व्यावहारिक र भावनात्मक सहयोग सम्बन्धित निकायबाट भयो भने तनाव व्यवस्थापन गर्न सहयोग पुग्छ । क्वारेन्टीनमा बसेका अथवा आइसोलेसनमा भएका अथवा संक्रमित व्यक्ति र तिनका परिवारका सदस्यहरुलाई छर छिमेक र समाजले वहिस्कार नगरी संकटको वेलामा नआत्तिन भन्ने र सामाजिक दुरी कायम गरी त्यस्ता व्यक्तिको ध्यान राख्न सकियो भने आत्मवल बढनुका साथै विपत्तिको लडाईमा एक्लोपन हुँदैन् ।

अनिश्चितताको भूमरीमा फैलिरहेको कोभिड १९ महामारीको रोकथामको लागि अग्रस्थानमा उभिएका स्वास्थ्य सेवा प्रदायक अस्पताल तथा स्वास्थ्यकर्मीहरुले आफ्नो इमान्दार प्रयास र सेवालाई निरन्तरता दिएको आभास जनस्तरमा दिन सकियो भने रोगसँग लड्ने विश्वास र आत्मवल बढन गई अति त्रास र तनावको अवस्थालाई कम गर्न सकिन्छ ।

विपत्तिको वेला मानिसहरुमा हुने मनोसामाजिक त्रासलाई कम गर्न स्थानीय तह, प्रदेश तथा संघीय सरकारले मनोविद, मनोचिकित्सक र मनोसामाजिक परामर्शकर्तासँग छलफल गरी यस्तो वेला हुनसक्ने मानसिक प्रभाव र समाधानको उपायहरु वारेको चेतना फैलाउने, विपतसँग जुध्नको लागि आवश्यक पूर्वाधार तथा जनशक्ति अभाव हुन नदिने कुरामा जनसमुदायमा विश्वास जगाउने, क्वारेन्टीन तथा अस्पतालहरुको उचित व्यवस्थापन गर्ने, कोही पनि जनता गास, वास र कपासको आधारभूत कुराको कमी हुन नदिने र भविष्यका रोजगारी तथा जीवन निर्वाह र बाटोको बारेमा स्पष्ट खाका तयार गरी अघि बढ्यो भने मनोबैज्ञानिक रुपमा देश कोरोना विरुद्ध लडन तयार हुन्छ ।
अन्तमा प्रत्येक व्यक्तिमा मानसिक समस्या फरक फरक हुने हुँदा त्यसले पार्ने असर पनि फरक फरक नै हुन्छन र प्रत्येक व्यक्तिहरुमा त्यस्ता मनोसामाजिक असरहरुलाई समाजोजन गर्ने क्षमता फरक हुने हुँदा कोही छिट्टै सामान्य अवस्थामा फर्किन्छन र कोही सामान्य अवश्थामा फर्किन समय लाग्छ । महामारी वा विपतको बेला लक्षण बढ्दै गएमा, अति दिग्दारी भएमा, समस्या कम नभएमा, कुलतमा अधिक लत भएमा र नकारात्मक सोचाई बारम्बार आइरहेमा मनोचिकित्सक, मनोविद् वा मनोसामाजिक विमर्शकर्तासँग नै सल्लाह लिनु बाञ्छनीय हुन्छ ।

(लेखिका बिएस्सी नर्सिङ हुन् )

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्