परीक्षा सम्बन्धी फरक फरक मत : सामान्य अवस्था भएमा लगडाउनको दुई हप्तापछि एसइइ परीक्षा – Kanika Khabar
Tuesday, January 14Nepali News Portal

परीक्षा सम्बन्धी फरक फरक मत : सामान्य अवस्था भएमा लगडाउनको दुई हप्तापछि एसइइ परीक्षा

    मा प्रकाशित

कनिका डेस्क
बैशाख १४, दाङ ।

लगडाउनको अन्त्य भएर सबै अवस्था सामान्य भएमा त्यसको दुई हप्ता पश्चात एसइइ परीक्षा सञ्चालन हुने भएको छ । शिक्षा, विज्ञान तथा मन्त्रालयले लगडाउनपछि अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) परीक्षा सञ्चालन हुने गरी तयारी गरेको छ ।
मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नयाँ परिस्थितिमा वैकल्पिक शिक्षा विधि र परीक्षा सञ्चालनको ढाँचाबारे गठित समितिले काम गरिरहेको र प्रारम्भिक सुझाव प्राप्त भएकाले अवस्था हेरेर परीक्षा सञ्चालन गर्ने गरी तयारी अघि बढ्ने जानकारी दिएका छन् ।

मन्त्रालयले पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश साहको संयोजकत्वको उच्चस्तरीय समितिमातहतका विषयगत कार्यसमूहले दिएको सुझावलाई मन्त्रालयले र समितिले अध्ययन गरिरहेको छ । संयोजक शाहले कनिका खबरसँग कुराकानी गर्दै भने,‘‘सबै अवस्था सामान्य भएपछि सामाजिक दूरी कायम गरी, विद्यार्थीलाई परीक्षा केन्द्र पायक पर्ने गरी परीक्षा सञ्चालन गर्नुपर्ने हामीले सुझाब दिएका छौँ ।’’

शिक्षाविद् डा. मनप्रसाद वाग्लेले भने परीक्षाका सन्दर्भमा फरक मत राख्दै आएका छन् । विद्यार्थीको वार्षिक मूल्याङ्कनका आधारमा पनि ग्रेड निर्धारण गर्न सकिने बताएका छन् । कनिका खबरसँगको टेलिफोन वार्तामा डा. वाग्लेले भने, ‘‘ एसइइ परीक्षा आवश्यक नै छैन, नेपालको शिक्षा पद्धति १—१२ हो । १—८ आधारभूत तह र ९—१२ माध्यमिक तह हो । हामीले ९, १०, ११को परीक्षा विद्यालयले नै लिनुपर्छ भन्ने मेरो मान्यता हो । १२ को परीक्षालाई राष्ट्रियस्तरको बनाउने भन्ने मत मैले पहिलेदेखि नै राख्दै आएको छु ।’’ स्थगन गरिएको एसइइ परीक्षका सन्दर्भमा शिक्षाविद् वाग्लेले भने, ‘‘ कोरोना भाइरसको यस्तो महामारीमा एसइइ परीक्षा गर्न थाल्यौँ भने विद्यार्थीको भविष्य नै बर्बाद हुने र राज्यलाई समय तथा शैक्षिक व्यवस्थापन गर्न गाह्रो हुने देखिन्छ । तसर्थ विद्यालयले लिएको त्रैमासिक परीक्षाका आधारमा मूल्याङ्कन गर्दा उत्तम हुन्छ ।’’
एनसीई नेपालका अध्यक्ष डिल्लीराम सुवेदी तत्काल परीक्षा सञ्चालन गरिहाल्ने पक्षमा भने देखिदैनन् । बन्दाबन्दीका कारण विद्यार्थीहरुलाई मनोवैज्ञानिक समस्या परेको हुन सक्ने र तत्कालै परीक्षा सञ्चालन गर्दा थप मार पर्ने सक्ने भएकाले त्यसतर्फ सोच्न आग्रह गरेका छन् ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष लक्ष्मण शर्माले स्थानीय तहको समन्वयमा विद्यार्थीको आन्तरिक मूल्याङ्कनका आधारमा तीन दिनभित्र प्राप्ताङ्क तयार गर्न सकिने मत प्रकट गरे ।

गत चैत ६ गतेदेखि १७ गते सम्म हुने गरी सञ्चालनका लागि सबै तयारी पूरा भएपनि भाइरसको जोखिमका कारण उच्चस्तरीय समन्वय समितिको चैत ५ गते साँझको बैठकले परीक्षा स्थगनको निर्णय गरेको थियो । सो परीक्षाका लागि चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार नौ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो । बोर्डले गत बैशाख ८ गतेदेखि हुने कक्षा १२ र बैशाख २५ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा पनि बन्दाबन्दीका कारण स्थगन गरेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्